२ वर्ष सरकार चलाउन पाएको भए अरु दलका साइनबोर्ड मात्रै बच्थे : ओली
भक्तपुर, भदौ ५ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले थप दुई वर्ष सरकार सञ्चालन गर्न पाएको भए अरु दलको साइनबोर्ड मात्रै बाँकी रहने बताउनु भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी संघको आठौं केन्द्रीय अधिवेशनको उदघाटन कार्यक्रममा उहाँले आफ्नो दलहरुको अस्तित्व सकिने डरले आफू नेतृत्वको सरकार ढालिएको उहाँले आरोप लगाउनुभयो ।
‘अब दुईवर्ष मैले सरकार चलाउन पाएको भए अरु पार्टीको साइनबोर्ड मात्रै रहन्थ्यो’ ओलीले भन्नुभयो ‘जनताको पक्षमा काम गरेको देखेर देश एमालेमय बन्थ्यो, त्यही डरले आत्तिएकाहरुले पनि षडयन्त्र गरेर सरकार ढाल्न मद्दत गरे ।’
आफूले सरकारमा छँदा ल्याएको नीति तथा कार्यक्रम, जनमुखी एवं प्रभावकारी बजेट कार्यान्वयन हुँदा नेपालमा ठूलै परिवर्तन हुन्छ भनेर डराउने शक्तिले पनि सरकार ढाल्न मद्धत पुर्र्याएको उहाँको आरोप थियो ।
आफू नेतृत्व सरकारले राष्ट्रियतामा आँच आउने गरि देशको शीर निहुराउने काम नगरेका कारण सरकार ढलेको टिप्पणी गर्दै उहाँले षडयन्त्रकारीहरुसंग शीर उचो बनाएका कारण सरकार ढलेको बताउनु भयो ।
‘धेरै बलिया शक्तिशाली शक्तिले मलाई प्रधानमन्त्री हुनबाट रोक्दारोक्दै जनताको बलबाट म प्रधानमन्त्री भएँ’ उहाँले भन्नुभयो ‘तर पनि षडयन्त्र रोकिएन, बैशाख २२–२३ मा सरकार ढाल्न एक झड्का आक्रमण भएकै हो, त्यसलाई तर्काइयो, पछि त पत्तै नदिई अर्को झड्का दिईयो, ।’
उहाँले स्वदेशमा मात्रै नभई विदेशी षडयन्त्रकारीहरुले सरकार ढाल्न षडयन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यो देश बनाउने गरि काम नगरेको भए, देशको शीर निहुराउने काम गरेको भए, नचाहिने कुरामा सम्झौता गरेको भए, राष्ट्रियतामा आँच आउने कुरा गरेको भए, मेरो नेतृत्वको सरकार रहन्थ्यो, तर मैले त्गरिन त्यसैले सरकार ढाल्ने खेल भयो ।’
आफूले बनाएको कार्यक्रमबाट अबका २० वर्षसम्म सरकार हिड्नु पर्ने बाध्यता रहेको जिकिर गर्दै उहाँले पूर्वपश्चिम राजमार्ग, रेल, फास्ट ट्रयाक, हुलाकी राजमार्ग, सिंचाई लगायतका कार्यक्रममा बजेट छुट्याएकाले ती काम अबका सरकारले गर्नैपर्ने बताउनुभयो ।
karnali news
No comments: