पूर्व मुमा बडामहारानीको निवासको बिजुली लाइन काटियो
काठमाडौं, ५ भदौ । नेपाल विद्युत प्राधिकरणले महेन्द्र मञ्जिलको विद्युत लाइन काटेको छ । नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामारानी रत्न बस्दै आएकी थिईन् ।
उनले विद्युत महसुल वापतको झण्डै ३७ लाख रुपैयाँ नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहकहरुको लाइन काट्न थालेको प्राधिकरणले आइतबार देशभरका १०० जनाको लाइन काटेको बताएको छ ।
गणतन्त्र स्थापना पछि पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाड्दा ८८ वर्षे रत्नले महेन्द्र मञ्जिल छाड्न नमानेपछि सरकारले उनलाई जीवन भर महेन्द्र मञ्जिलमा बस्न अनुमति दिएकाले रत्न महेन्द्र मञ्जिलमा बस्दै आएकी थिइन । तर विद्युत महसुल नतिरेका कारण लाइन काट्न बाध्य भएको प्राधिकरणले बताएको छ ।
नारायणहिटीलाई संग्रहालय बनाइएको छ । संग्रहालयले नियमित रुपमा विद्युत महसुल तिर्दै आएको छ , भने महेन्द्र मञ्जिलकोे महसुल तिरिएको छैन ।
उर्जा मन्त्री जनार्दन शर्माले महसुल नतिर्ने ठूला ग्राहकको लाइन ३ दिनभित्र काट्नको लागि ४ दिनअगाडी निर्देशन दिएका थिए । त्यो निर्देशनपछि प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ ।
Dainiknepal.com
No comments: