सर्वसाधारणलाई फेरी सास्ती , भोली उपत्यका बन्दको आह्वान
सुजन पन्त
काठमाडौं । उपत्यकामा भइरहेको सडक विस्तार अभियानको विरोधमा बुधबार बन्द आह्वान गरिएको छ । बाटो फराकिलो बनाउने नाममा आफूहरुलाई उठिबास गराउन लागेको भन्दै २३ वटा उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समितिले संयुक्त रुपमा उपत्यका बन्द आह्वान गरेका हुन् ।
सडक विस्तार गरिँदा आफ्नो घरहरुमा क्षतिपुगेको भन्दै विभिन्न सडक विस्तारपीडित संघर्ष समितिहरुले सडक विस्तारको विरोध गर्दै आएका छन् । सडक विस्तार विरुद्ध गरिएको बन्दलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले पनि साथ दिने जनाएको छ ।
मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै बाटो विस्तार अभियानलाई जनविरोधी गतिविधि भएको बताएका छन् ।
उपत्यका विकाश प्राधिकरणले बाटो फराकिलो बनाउने नाममा नगरपालिकाबाट नक्सा पास गरी सडकका दायाँ बायाँ बनाइएका रैथाने जनताका घर टहरा बिना मुआब्जा र क्षतिपूर्ति उठीबास गराउने काम गरेको उनीहरुको आरोप छ ।
हाल कलंकी–थानकोट–नागढुंगा, त्रिपुरेश्वर–कालिमाटी–कलंकी, सामाखुसी–धापासी–टोखा, गल्कोपाखा–चक्रपथ, जोरपाटी–थली, थली–साँघु, जोरपाटी–सुन्दरीजल, ठैब, हरिसिद्धि, वादेगाउँ, तौखेल (गोदावरी), चोभार–फर्पिङ, कीर्तिपुर, भक्तपुर, बुंगमति, सुनाकोथी, गोंगबुँ (प्रगतिनगर–बिपि मार्ग), बालाजु, सितापाइला–रामकोट, सूर्यविनायक, चापागाउँ, ठेचो र टोखामा गरी २४ वटा स्थानीय संघर्ष समितिहरु बनेका छन् ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालादेखि शुरु भएको सडक विस्तार अभियानलाई अहिलेको सरकारले पनि ब्यापकता दिएको छ ।
यस अघि विप्लव नेतत्वको नेकपा माओवादीले ७ गते उपत्यका बन्दको घोषणा गरेको थियो । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि खारेजको माग गर्दै घोषण गरेको उपत्यका बन्दले सर्वसाधारणले सास्ती भोगेको थिए ।
No comments: