नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाइ गर्ने गुण्डा नाइके काजी शेर्पा प्रहरी फन्दामा !
काठमाडौं । दुई वर्षयता राजधानीमा ‘चरी’ भन्ने दिनेश अधिकारी र ‘घैंटे’ नामले चिनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि अन्य गुन्डा नाइके केही समय गुमनाम भएका थिए । तर, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाइ गर्दै आएका काजी शेर्पा प्रहरी फन्दामा परेका छन् ।
राजधानीमा कहलिएका गुण्डा नाइके काजी शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
व्यापारीलाई धम्क्याउँदै पैसा असुल्दै गरेको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले न्यूज२४ लाई बताए । शेर्पा विरुद्द ४ वटा उजुरी दर्ता भएको उनले बताए ।
शेर्पाले कुनै पसलमा महंगा सामान किन्दा पनि उनले उल्टै व्यापारीलाई धम्क्याएर पैसा माग्ने गरेको बुझिएको छ । सोही उजुरीको आधारमा छानविनको लागि उनलाई पक्राउ गरिएको खनालले बताए ।
शेर्पाविरुद्व ठेक्कापट्टाको काम गर्दा मजदुरले साइडमा खाना खान मगाएका रासनको पैसा समेत नतिरेको उजुरी पनि महाशाखामा परेको खनालले बताए ।
करोडौंको काम गर्ने शेर्पाले तीन/चार लाख नतिरेको उजुरी परेपछि महाशाखाका अधिकारीले उनलाई फोन गरेर उक्त पैसा चुक्ता गर्न अनुरोध गरेका थिए । तर, शेर्पाले अटेर गरेपछि पक्राउ गरिएको खनालले बताए ।
को हुन् काजी शेर्पा ?
ठमेलका डन भनेर चिनिने दीपक मनाङे भन्ने राजीव गुरुङसँग ठमेल किचेन डान्सबार चलाएका उनीहरुबीच पछि कुरा नमिलेपछि अलग्गिएका शेर्पा ठमेलबाटै लखेटिएका थिए ।
लुटपाटको धन्दाबाट कमाएको पैसाले ठमेलको आफ्नो व्यवसायबाट हात धुन परेपछि उनी अर्का डन तथा हाल तरुणदलका केन्द्रिय सदस्य भीम गुरुङसँग हात मिलाउन पुगे ।
भीमको ग्याङमा पुुगेका शेर्पाले मनाङेसँग बदला लिन कुमार घैंटे, समिरमान बस्नेत जम्मा गरेर अर्को अपराधिक ग्याङ खडा गरेर त्यसको नाईके बने ।
शेर्पाको नेतृव्वमा मनाङे समूह र शेर्पा समूहबीच पटकपटक दोहोरो भीडन्त पनि भयो । दोहोरो भीडन्तमा शेर्पाले चलाएको पेस्तोलबाट सामाखुसीमा काभ्रेली समूहका विष्णु लामाको पेटमा गोली पनि लागेको थियो ।
केही समयपछि उनले अर्को नयाँ धन्दामा हात हाले बालुवा खानीमा । उक्त धन्दाले सफलता पनि पायो । त्यही पैसाले शेर्पाले पछिल्लो समय ठेक्कापट्टा र सुरक्षा निकायमा रासनदेखि हतियारसम्म सप्लाई गर्दै आएका छन् । उनले जन्माएको धन्दा अहिले देश भर फस्टाएको छ ।
डलर देखाएर लुट्ने धन्दाका जन्मदाताको रुपमा शेर्पालाई लिने गरिन्छ । अहिले पनि प्रहरी र सेनाका रासन र हतियारका ठेकदार बनिसकेका छन् शेर्पा ।
No comments: