Top Ad unit 728 × 90

a
Ad Inside Post

तामाङहरू आफ्नो थर परिवर्तन गर्दै किन ‘ गुरूङ ’ बन्न बाध्य भए ?

समय-परिस्थिति, सामाजिक परिवेश र निजी स्वार्थ अथवा ईच्छावमोजिम आफ्नो जात फेर्ने मानिसले कुनै ठाउँ विशेषको सामाजिक संरचनामाथि अवश्यै प्रतिकूल असर पारेकै हुन्छ, साथै सम्बन्धित समुदायको मौलिकतामाथि पनि केही न केही फेरबदल ल्याउँछ नै । हाम्रो देशको परिप्रेक्ष्यमा यस्ता थुप्रै समुदायहरु छन्, जसले आफ्नो समुदायको पहिचानलाई बाध्यतावश भनौं अथवा इच्छावश फेरे र अर्कै समुदायको आवरणले आफ्नो विगतलाई ढाकेर नयाँ पहिचान ओढे ।


जातपातको चलन, वर्गीय विभाजन र सामाजिक रीतिरिवाजले राणा र शाहकालीन नेपालमा यस्तो परिस्थितिको जन्म भयो । यसले थुप्रै मानिसलाई आफ्नै समुदाय सित पनि लाज लाग्थ्यो । थुप्रै समुदायलाई आफ्नो पहिचान, आफ्नो मौलिक भाषा, आफ्नो रितीरिवाज र परम्परासित हिनताबोध गर्नुपर्ने अवस्था थियो । परिणामस्वरुप थुप्रै मानिसहररूले आफ्नो समुदाय फेरेर अर्को समुदाय बन्न पुगे । हाम्रो नेपाली समाजमा समुदाय फेर्ने चलनको बीजारोपण लिच्छवी शासनकालमा नै भइसकेको थियो ।


जब हरिसिंह देवले नेपाल खाल्डोमाथि विजय गरेर बाहुन धर्मलाई जोगाउन तथा पूजाआजा र धार्मिक स्थितिलाई स्थायित्व दिन नियम कानून बनाए । विस्तारै समाजमा वर्ग विभाजनको काम शुरू हुन थाल्यो र मानिसहरु चार वर्गमा (बाहुन, क्षेत्री, वैश्य र शू्द्र) विभाजित हुन पुगे ।

वर्ग विभाजनको प्रारम्भिक चरणमा वैश्य र शूद्रहरु बाहुन र क्षत्रीहरू भन्दा अलि तल्लो समुदायका भए । ता पनि सामाजिक पद्धतिमा उनीहरुको स्पष्ट स्थान र इज्जत थियो । तर समय बित्दै जाँदा र नयाँ परिस्थितिमा तल्लो स्तरका वैश्य र शूद्रहरूलाई बेग्लै दृष्टिकोणले हेर्न थालियो । जब वैश्य र शूद्रहरूलाई तल्लो समुदायको रूपमा हेर्न थालियो तब शुरू भयो तल्लो समुदायले आफ्नो समुदायको पहिचान लुकाउँदै उपल्लो समुदायमा जाने र उनिहरूकै समुदाय भन्ने चलन ।

भन्नु पर्दा मानिसहरुले आफ्नो समुदाय फेर्ने चलन ल्याउन थाले । हुन त समुदाय फेर्ने भन्नाले तल्लो समुदायले सामाजिक प्रतिष्ठाको लागि माथिल्लो समुदायमा हामफाल्ने एकल कारण मात्र थिएन । त्यसताका यस्ता थुप्रै कारणहरू सिर्जना भए, जसले थुप्रैलाई आफ्नो समुदायको पहिचान फेर्न र ढाँट्न बाध्य पारे । हाम्रो देश नेपालमा राणा शासनकालमा यस चलनले तीव्रता पाएको पाइन्छ ।

परिणामस्वरूप थुप्रै मूलावासीहरूले आफ्नो मौलिक भाषालाई छाड्दै गए, धर्म पनि परिवर्तन गर्न थाले र समुदाय पनि फेर्न हिच्किचाएनन् । यस प्रकार शुरू भयो समुदाय बदल्ने खेल । यसै क्रममा थुप्रै मगरहरू, थापा-क्षेत्रीको समूहमा सामेल हुन पुगे । थुप्रै तामाङहरू गुरूङ बनेर भारतीय र ब्रिटिस सेनामा भर्ती हुन बाध्य भए । कमी, दमाई, च्यामे, पोडेहरूको असली समुदाय लुकाएर ‘नेपाली’ लेख्ने चलन पनि यसैको परिणाम हो भन्न सकिन्छ ।


धेरैलाई सामाजिक प्रतिष्ठा हासिल गर्न तथा शासक वर्गको नजिक हुन आफ्नो वास्तविक समुदाय र थर लुकाउँदै माथिल्लो समुदायको बन्न केही गाह्रो अनुभव भएन । विशेषता शासक वर्गले शुरू गरेको एक देश, एक भाषा तथा एक धर्मको नीतिले मूलवासीहरूलाई हिन्दू बन्न प्रेरित गर्यो । यो काममा शासक वर्गले विभिन्न प्रभोलन दिएर फकाउनेदेखि लिएर बल प्रयोगसम्म गरे ।
राजा जयस्थिति मल्लले शुरू गरेको वर्ग व्यवस्था पछि आएर राजा सुरेन्द्र विक्रमको पालामा अझ व्यवस्थित हुन पुगेको थियो । विस १९१० मा राजा सुरेन्द्रविक्रमको पालामा श्री ३ जंगबहादुरको निर्देशनमा निर्माण गरी जारी गरिएको मुलुकी ऐनमा “पानी नचल्ने जाति” भनेर एउटा सूचि नै तयार पारे ।

यसप्रकार घोषित “पानी नचल्ने जाति” हरूसित बसोबासको ठाउँ फेर्दै आफ्नो समुदाय पनि फेर्ने चलनले तीव्रता पायो । जसको परिणाम भयो -थुप्रै मानिसहरु आफ्नो समुदाय फेर्दै अन्य समुदायमा मिसिन थाले । यस्तै जातीय घुसपैठहरूले गुरुङ समाजमा पनि गड्बडी उत्पन्न गरेको छ । गुरुङ बन्नेमा थुप्रै समुदाय छन् । यस तथ्यलाई प्रदीप थापामगरले आफ्नो किताब “को हुन जात फेर्नेहरु” मा यस प्रकार प्रष्ट पारेका छन् -”त्यसैगरी थुप्रै नेवार, तामाङ, दुरा, थकाली, कामी, दमाई र सार्कीहरु ब्रिटिस गोर्खा र भारतीय फौजमा थापा र गुरूङ लेखाएर भर्ती हुन पुगेको छ ।

” यस प्रकार गुरूङ लेखाएर भर्ती हुनेहरूमा थुप्रै गैरगुरूङहरु छन् । सोही किताबमा उल्लेख भएअनुसार नुवाकोट जिल्लाको बोमताङ गाविस सँगैको किमताङ गाविसका ५०० धुरीका तामाङहरूले भारतीय गोर्खा सैनिकमा भर्ती हुँदा गुरूङ नै लेखाउँदै आएका छन् । भन्छन् कि धादिङ जिल्लामा पनि गुरूङ लेखाउने तामाङहरू हजारौंको संख्यामा छन् । यस्तै वि.सं २०१२ सालतिर गोर्खाको उत्तरी भेकका मनग्गे तामाङहरू भकाभक् गुरूङ बनेका थिए । यी गुरूङहरु बाह्र साले गुरुङ भनेर चिनिन्छन् ।


विचारणीय के छ भने-किन यत्तिका तामाङहरू गुरूङ बन्न बाध्य भए ? रणबहादुर र गिर्वाण शाहका पालामा दुई पटक सैनिक विद्रोह गरेकाले तामाङहरूलाई सेनामा पीपा पदमा मात्र भर्ना गर्न थालियो । साथै अधिकतम तामाङहरू काठमाण्डौं खाल्डोको वरिपरिका जिल्लाहरूमा (नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपालचोक, मकवानपुर आदि) बसोबास गर्ने भएकाले शासकवर्गले उनलाई सधैं शंकाको दृष्टिले हेर्ने गर्थे । यिनलाई सेनामा सामेल गरेर हात हतियार दियो भने मौका पारेर राजधानीमाथि आक्रमण गरेर

राज्यसत्ता आफ्नो हातमा पार्न सक्छन् भन्ने शंकाले तामाङहरूलाई सैनिक सेवादेखि टाढा राख्ने नीति अवलम्बन गरियो । राणा शासनकालको अन्त्यसम्म तामाङ समुदायलाई सरकारी, जंगी र निजामती सेवाहरूमा प्रवेश दिंदैन थिए । साथै अन्य समुदायलाई जस्तो स्वदेशी सेनामा भर्ती जाने छुट पनि थिएन ।

हिन्दू शासक वर्गले तामाङहरूलाई अलिक टाढा राख्ने अर्को एउटा कारण पनि थियो । गुरूङ र मगरहरूले परापूर्वकालदेखि चल्दै आएको गाई गोरू खाने चलन हिन्दू शासकहरूको संगतमा कटौती गर्दै लगे र उनको नजिक हुन पुगे । तर तामाङहरूले यो चलनमा त्यत्ति बन्देज गरेका थिएनन् । परिणाम यो भयो कि उनीहरू शासकवर्गको मायाको पात्र बन्नबाट चुके ।

तामाङहरू आफ्नो थर परिवर्तन गर्दै किन ‘ गुरूङ ’ बन्न बाध्य भए ? Reviewed by a on 2:02 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.