Top Ad unit 728 × 90

a
Ad Inside Post

कसरी कोकिन तस्करीतिर लागिन् नर्स ? (नेपाल प्रहरीसमक्ष दिएको बयान)

काठमाडौं – मलेसियाकी मारिना विन्ती जमाउद्धिन पेशाले स्टाफ नर्स थिइन् । तर, एक वर्ष अघि उनी २२ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको लागुऔषध कोकिन सहित नेपालमा पक्राउ परिन् । विगतमा मलेसियाकै एक अस्पताल (उनको अपरधामा अस्पताल दोषी नरहेकाले प्रहरीको आग्रहमा अस्पतालको नाम गोप्य राखिएको) मा काम गर्ने उनी डिप्लोमा तहको नर्सिङपछि अस्पतालमा  काम थालिन्।
नेपालमा पक्राउ पर्नुअघि मरिनाले १० पटक ब्राजिलबाट कोकिन ओसारेको समेत स्वीकारेकी छिन् । २०७१ चैत १६ गते टुरिस्ट भिषामा १५ दिनका लागि काठमाडौंमा आएकी उनी त्यसको ठिक चार दिनपछि २०७१ चैत २० गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको चेकजाँचका क्रममा पक्राउ परेकी थिइन् । कतार एयरको फ्ल्याइट नम्बर ६५१ बाट दोहाहुँदै इटलीको रोम हिँडेकी उनलाई विमानस्थलमा जाँचकोक्रममा ११ किलो कोकिनसहति प्रहरीले पक्राउ गरेको हो । निलो रंगको सुटकेसभित्र ल्यापटप जस्तो देखिने ५ वटा झोला भित्र फल्सबटम बनाएर लुकाएर राखेको अवस्थामा कोकिन फेला परेको थियो ।
बिरामीको उपचारमा लाग्नु पर्ने नर्स सेवामुलक पेशा छाडेर लागु औषध ओसार पसारमा कसरी संलग्न हुन पुगिन् ? नेपाल प्रहरी समक्ष उनले दिएको बयान यस्तो छ :
मलेसियाको एक अस्पतालमा म असिस्टेन्स नर्सका रुपमा काम गर्थेँ । परिवारमा श्रीमान्, छोरा र म गरी तीनजना छौँ । मलेसियाको क्वालालाम्पुरमा सन् २०१२ मा घुम्नेक्रममा मलेसियाकै नागरिक इलासँग भेट भएको थियो । पहिलो भेटमा चिनजान भएपछि हाम्रो भेट बढ्दै गएको थियो । हामी साथी भइसकेका थियौँ । हाम्रो आर्थिक अवस्था निकै कमजोर थियो । इलाले मेरो कमजोर आर्थिक अवस्था देखेर ‘सजिलै धेरै पैसा कमाउने काम गर्ने हो ?’ भन्ने प्रस्ताव राखेकी थिइन् । घुम्न पनि पाउने पैसा पनि आउने भन्दै उनले मलाई आफ्नो ब्वाईफ्रेन्ड टोनीसँग भेटाइन् ।
टोनी कोकिन ओसारपसार गर्ने समूहका सदस्य रहेछन् । इला उसको लागी काम गर्ने ब्यक्ति खोज्ने काम गर्ने रहिछन् । प्रारम्भमा उनीहरुको प्रस्ताव सुनेर मलाई निकै डर लाग्यो । तर, टोनीले बारम्बार मलाई हौस्याइरह्यो । भेटमा कसरी कहाँ जाने कसरी जोगिने भन्ने उपायहरु बताइरह्यो । टोनीको हौसला र उपायहरु सुनेपछि मलाई पनि यो काम गर्न सकिन्छ झैँ लाग्यो र काम गर्न राजी भएँ ।
पहिलो कामका लागी टोनीले मलाई खाली झोला दिएर मलेसियाबाट दिल्ली पठायो । त्यहाँको एक होटलमा टोनीको एक साथी आएर उस्तै खालको कोकिन भएको अर्को झोला दियो । त्यो झोला लिएर ‘दोहा’हुँदै रोम जानुपर्ने थियो । एयरपोर्टमा थाहा पाउला कि भनेर डर लागेको थियो । तर थाहा पाएनन् । रोमको विमानस्थलमा पनि खासै चेक नहुने रहेछ । म सहजै विमानस्थलबाट बाहिरिएँ र होटलमा गएर बसे । म बसेकै होटलमा नाइजेरियन नागरिक आएर झोला लियो र मलाई १ हजार युरो दियो । पहिलानै फर्कने टिकट समेत भएकाले इटलीबाट सहजै मलेसिया फर्किएँ । मलेसिया आएपछि टोनीले खुसी हुँदै ५ हजार अमेरिकी डलर बराबरको मलेसियन पैसा दियो । त्यसको केही समयपछि टोनी मलेसियामा पक्राउ पर्यो र जेल गयो ।
त्यसपछि म पनि त्यो काम छाडेर बसेँ । केही समयपछि मेरो नम्बरमा नचिनेको नम्बरबाट फोन आयो । फोन जेरी भन्नेले गरेको थियो । उसले टोनीले नम्बर दिएको भनेपछि जेरी पनि कोकिनको काम गर्ने ब्यक्ति रहेछ भन्ने थाहा भयो । उसले फोन गरेर बारम्बार काम गर्न भनेपछि म फेरि उक्त काम गर्न राजी भएँ र उसलाई भेट्न दिल्ली गएँ । जेरी नाइजेरियाबाट दिल्लीमा आएर कर्नाटक प्यालेस भन्ने स्थानमा बसेको रहेछ । दिल्लीबाट कोकिन लिएर इटली र नेदरल्यान्ड लैजाने काम दियो । उसले भने अनुसारैै दुईपटक इटलीको रोम र दुई पटकनै नेदरल्यान्डको आम्सटर्डडमसम्म कोकिन लिएर गए । रोममा डेनिल नाम गरेको नाइजेरियन आउँथ्यो । नेदरल्यान्डमा एवे नामको नाइजेरियन नै थियो तर नाम थाहा भएन ।
दिल्लीमा पनि जेरीका सहयोगी नाइजेरियन नै थिए । म मलेसियाबाट दिल्ली आएपछि प्याक भएको सामान दिन्थें । म त्यो लिएर जान्थें । पहिला पहिला डर लाग्थ्यो । तर, सामान बोकेर जाँदा पक्राउ नपरेपछि बानी पर्यो । घुमघाम पनि हुने एक खेपमा ५ हजार डलर पनि पाउँदा मेरो घरको आर्थिक अवस्था पनि राम्रो भइरहेको थियो ।
४ पटक दिल्लीबाट रोम र नेदरल्यान्ड गएपछि जेरीले फोन गरेर दिल्लीसम्म कोकिन ल्याउने मान्छेले काम छाडेको भन्दै त्यो काम पनि गर्न मलाई प्रस्ताव गर्यो । ६ हजार डलर दिने भएकाले म राजी भएर ब्राजिलको साबोपौबोमा गएँ । त्यहाँ पनि जेरीको नाइजेरियन नै साथी रहेछन् । उसले दिएको झोला लिएर दोहाहुँदै दिल्ली आएपछि विमानस्थलबाट निस्किए लगत्तै त्यहाँ रहेको जेरीको मान्छेले झोला लैजान्थे । ३÷४ दिनपछि उनले मलाई अर्को झोला दिन्थें म पहिलाझंै त्यो लिएर इटली र नेदरल्यान्ड जान्थें ।
ब्राजिल, दोहा, दिल्ली र दिल्ली, दोहा, रोम तीनपटक र इटलीको रोमबाट नेदरल्यान्ड २ पटक गरी ५ पटक कोकिन ओसारे । दिल्ली आएर लगेको समेत गरी १० खेप भयो ।
नेपाल आएको पहिलो पटकमै पक्राउ
नेपालको रुट पहिलो पटक प्रयोग गरेको हुँ । एक पटकमा ५ किलोसम्म कोकिन बोक्थे । नेपालको रुटमा भने ११ किलो रहेछ । प्राय दिल्लीको रुट प्रयोग गर्नेमा नेपालको रुट बताएपछि मैले किन भनेर सोधेका थिए । उसले पटक पटक दिल्ली गएकाले अध्यागमनले शंका गर्न सक्ने भएकाले नेपालको रुट बनाएको भन्यो । नेपालमा पनि भारतमा जस्तै सजिलो हुने बताएका थिए । त्यही अनुसार म नेपाल आएको थिएँ ।
नेपालबाट कतार एयरको फ्ल्याइट नम्बर ६५१ बाट दोहाहुँदै इटलीको रोम जानुपर्ने थियो । विमानस्थलमा जाँचकोक्रममा निलो रंगको सुटकेसभित्र ल्यापटप जस्तो देखिने ५ वटा झोला भित्र फल्सबटम बनाएर ११ किलो कोकिन लुकाइएको थियो । त्यो कोकिन ब्राजिलबाट ल्याइएको थयो । कोकिनको काम गर्ने जेरीले कोकिन ब्राजिलबाट इटलीको रोमसम्म पुर्याउन भनेपछि निजको कामका लागी ब्राजिलको साबोपालो गई त्यहाँ रहेका जेरीका मान्छेले ल्यापटप जस्तो वस्तु रहेको झोला दिएका थिए । जेरीको निर्देशन अनुसार इटलीको रोममा पुगेर सो झोला डेनिल नामको ब्यक्तिलाई दिनु थियो ।
मैले मेरो छोरा र श्रीमान् समेत लिएर ब्राजिल गएको थिए । मलेसियाको जेट कनेक्सन ट्राभल्सबाट ३ जनाको लागि टिकट भएपछि १५ मार्च २०१५ मा ब्राजिलको सालोपाउलोका लागी गएका थियौँ । हामी त्यहाँ बसेको बेलामा जेरीको मान्छे आएर मलाई भेटेका थिए । ती ब्यक्ति नाइजेरियन हुन् । उनले यस अगाडि पनि मलाई कोकिन दिएका थिए । २८ मार्चमा त्यो ब्यक्तिले फोन गरेर एक स्टेशनमा बोलायो । नजिकैको कफिसपमा लगेर उसले ल्यापटप राख्ने झोला दियो जहाँ कोकिन थियो ।
कोठामा फर्केर सामान सुटकेसमा राखेर त्यही दिन दोहा हुँदै नेपाल आउन प्लेन चढ्यौँ । दोहामा पुगेपछि श्रीमानले छोराको स्कुल खुलीसकेकाले पढाई विग्रन्छ भन्दै नेपालको साटो क्वालालाम्पुर जाने कुरा गरे । त्यसपछि हामीले नेपाल आउने टिकट संशोधन गरेर थप ३ सय डलर तिरेर दुबै जनाको टिकट मलेसियाको बनायौँ र मेरो नेपालकै । उनीहरु मलेसिया गए म नेपाल आएँ ।
नेपाल आएकै दिन बिमानस्थलमा नेपाली सिम
३० मार्चमा नेपालमा उत्रिएर विमानस्थलमै एनसेलको सिम लिएँ । जेरीले उतैबाट मेरो लागी लाजीम्पाटमा अर्पाटमेन्टमा कोठा बुक गरेको थिए । बाहिर आएर ट्याक्सी लिएर लाजीम्पाटको एक अर्पाटमेन्ट जाउँ भने । तर ट्याक्सी चालकले पनि फेला पार्न सकेनन् । जेरीले मलाई अर्पाटमेन्टको नम्बर दिएका थिए । त्यसमा फोन गर्दा मालिक आफैंले उठाएँ ।
अर्पाटमेन्टमा ४ दिनसम्म बसेपछि ३ अप्रिलमा योजना अनुसार इटलीको रोममा जान कतार एयरको रातको साढे ९ बजेको फ्लाइटका लागी ७ वजे एयरपोर्ट पुगेको थिएँ । एयरपोर्टमा लगेज जाँच गर्नेक्रममा प्रहरीले ल्यापटप राख्ने झोलामा सोधपुछ गर्यो । विगतमा कतै नसमातिएको म यहाँ पनि समातिन्न भन्नेमा ढुक्क थिएँ । तर यहाँको प्रहरीले बढी नै सोधपुछ गर्ने र ल्यापटप राख्ने झोलमा शंका गर्न थाले । त्यसपछि म पनि थोरै डराएँ । प्रहरीले ल्यापटप राख्ने झोला काटेर हेरे र लुकाइएको कोकिन निकाल्यो । त्यसपछि म पक्राउ परेँ । त्यो इटलीमा लगेर डेनिललाई दिनु थियो । मसँग उसको नम्बर मात्रै थियो ।

कसरी कोकिन तस्करीतिर लागिन् नर्स ? (नेपाल प्रहरीसमक्ष दिएको बयान) Reviewed by a on 6:18 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.