Top Ad unit 728 × 90

a
Ad Inside Post

ईपीएसकाे फर्म भर्न यसपाली पनि लाईन बस्नुपर्ने

काठमाडौं: सरकारले यस वर्ष पनि ईपीएस भाषा परीक्षा अनलाइन प्रणालीबाट गर्न नसक्ने भएको छ । गत वर्षदेखि नै अनलाइनबाट परीक्षा गराउने तयारी गरिए पनि यो काम अहिलेसम्म पूरा हुन सकेको छैन । यो वर्ष जसरी पनि अनलाइनबाटै परीक्षा दिने योजना बनाइए पनि एक्कासी परीक्षा तालिका अगाडि ल्याउँदा कार्यान्वयन गर्न नसकिने अवस्था आएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
विगत वर्षमा जस्तै यसपटक पनि भदौ–असोजमा परीक्षा सञ्चालन गर्ने योजना अनुसार अनलाइनको तयारी प्रक्रिया अघि बढाइएकामा रोजगारदाता मुलुक दक्षिण कोरियाले परीक्षा असारमै गर्नुपर्ने अडान लिएकाले यसपटक परम्परागत तरिकाबाटै परीक्षा लिइनुपर्ने अवस्था आएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
अनलाइन सिस्टम तयार पार्न टेन्डर आह्वान गर्ने काम सकिएको छ । आगामी साता निर्माता कम्पनी छनोट गरिने तयारी गरिएको छ । प्रारम्भिक चरणमा चारवटा कम्पनी छानिएका छन् । सिस्टम तयार पार्न कम्तिमा ९० दिन लाग्ने भएकाले यसपटकको परीक्षमा सम्भव नभएको ईपीएस कोरिया शाखाको भनाइ छ । कोरियाली भाषा परीक्षा वैज्ञानिक, पारदर्शी र सहज बनाउन अनलाइन प्रणालीको अवधारणा ल्याइएको हो ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले भदौ–असोजमा परीक्षा सञ्चालन गर्ने योजना अनुसार अनलाइन प्रणालीको तयारी थालिएकामा कोरियाले छिटो परीक्षा लिन आग्रह गरेपछि यसपटक अनलाइन पद्धति कार्यान्वयन गर्न अप्ठेरो भएको बताए । ‘अनलाइनको सिस्टम विकास गर्न प्रक्रिया भने अगाडि बढिसकेको छ', उनले भने ।
यो वर्ष जसरी पनि अनलाइनबाटै परीक्षा दिने योजना बनाइए पनि एक्कासी परीक्षा तालिका अगाडि ल्याउँदा कार्यान्वयन गर्न नसकिने अवस्था आएको हो ।
अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि देशका जुनसुकै स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ भने परीक्षा पनि उपत्यकाबाहेक बाहिरका धेरै स्थानबाट सञ्चालन गराउने योनजा बनाइएको छ । अहिले पोखरा र काठमाडौं उपत्यकाबाटमात्र परीक्षा लिने व्यवस्था छ ।
ईपीएस परीक्षाका लागि वैशाख १५ देखि १८ सम्म आवेदन फारम बुझाउने मिति तोकिएको छ । भाषा परीक्षा भने असार १५ देखि १८ सम्ममा हुनेछ । राजधानी र बाहिर दुवैतिरबाट आवेदन फारम बुझाउन पाइने व्यवस्था मिलाइएको छ । उपत्यकाबाहिर डडेलधुरा, पोखरा, बुटवल, धरान, जनकपुरबाट आवेदन फारम बुझाउन पाइनेछ ।
कोरिया रोजगारीको आकर्षक गन्तव्य मुलुक हो । यहाँ हाल ३५ हजारभन्दा बढी नेपालीले काम गरिरहेका छन् । उत्पादनमूलक र कृषिमा नेपालीले काम पाएका छन् । कृषिमा भन्दा उत्पादनमा जाने कामदारको संख्या बढी छ । काम गर्न पनि तुलनात्मकरूपमा उत्पादन क्षेत्रमै सजिलो भएको गएकाको भनाइ छ । आकर्षक कमाई हुने भएकाले त्यहाँ जान चाहने युवाको संख्या बढ्दो छ ।
नेपालमा जागिर खाएका, सानातिनो व्यवसाय सञ्चालन गरिरहेका तथा उच्चतहको शैक्षिक योग्यता भएका युवायुवतीसमेत कोरिया जान इच्छुक देखिएका छन् । कोरियमा मासिक न्यूनतम एक लाख १२ हजार रुपैयाँ कमाइ हुन्छ । अतिरिक्त काम गर्नेले मासिक दुई लाखदेखि तीन लाख रुपैयाँसम्म पनि कमाउन सक्ने गएकाको भनाइ छ ।
नेपालले सन् २००८ देखि कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन थालेको हो । कोरियाले नेपालसहित विभिन्न १५ देशबाट कामदार लिने गरेको छ । यसमा दुवै देशका सरकारी तवरबाट कामदार आदानप्रदान गरिन्छ । म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन् ।

ईपीएसकाे फर्म भर्न यसपाली पनि लाईन बस्नुपर्ने Reviewed by a on 3:09 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.