Top Ad unit 728 × 90

a
Ad Inside Post

जुम्लाको स्याउखेतीमा किसानलाई भ्याइ–नभ्याइ

भदौ ११, जुम्ला । दुःखका मुजाले प्रायः खुम्चिइरहने हुम्ली किसानका रसिला अनुहारमा अचेल खुसीका लहर दौडिरहेका देखिन्छन्। मिहिनेतले दिलाएको यो खुसी सम्हाल्दै उनीहरु अचेल स्याउ बगैचामा भेटिन्छन्। किनकि, यो स्याउ टिप्ने मौसम हो। जिल्लामा जीविकाको पहिलो आधार बन्दै गएको स्याउखेतीमा अभ्यस्त किसानलाई भ्याइ–नभ्याइ छ। बालकदेखि वृद्धसम्म स्याउ बगैंचामै धुरिएका छन्। कोही स्याउ टिप्दै छन्, कोही भण्डारणमा खटिँदै छन्। ग्रेडिङ गरेर प्याक गर्न उस्तै हतारो छ। समयमै ढुवानीका लागि लोड गर्ने उत्तिकै चटारो।
१४औं जिल्ला परिषद्ले जुम्लालाई 'अर्गानिक स्याउ खेती हुने जिल्ला' घोषणा गर्दै 'एक घर एक स्याउ' अवधारणा ल्याएपछि अहिले प्रायः घरमा स्याउबगैंचा छन्। रसायनरहित स्याउको माग बढ्दो छ, उत्पादन भएजति सहजै खपत हुन्छ, भण्डारण र ढुवानीको भने केही समस्या रहेको किसान सुनाउँछन्। चन्दननाथ नगरपालिका–१ का काशीराम भण्डारी बिहान उठ्नेबित्तिकै स्याउ बगैंचा पुग्छन्। बगैंचा रेखदेख गर्ने र उपयुक्त मूल्य पाए बेच्ने उनको दैनिकी बनेको छ।
तलिउमका बिर्ख रावल पनि अहिले स्याउ बगैंचामै भेटिन्छन्। स्याउ संकलन, भण्डारण र निर्यातमै उनको दिन बित्छ। उनको स्याउ ढुवानीका लागि बगैंचामै गाडी पुग्छन्। जिल्लामा स्याउको मौसम सुरु भएपछि भण्डारी र रावलजस्तै सयौं स्याउ किसान यसको व्यवस्थापनमा व्यस्त देखिन्छन्। स्याउप्रति किसान आकर्षित भए पनि आकर्षक मूल्य र सरोकारवालाको साथ नपाउँदा भने दुःखी छन्। 'किसानका प्रत्येक घरमा स्याउ भण्डारण गरिएको छ। बगैंचामै व्यापारी पुग्छन्। यो बेला निकै खुसी लाग्छ,' भण्डारीले भने।
जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। पहिले बजारसम्म ल्याएर प्रतिकिलो २० देखि २५ रुपैयाँमा बेच्न बाध्य किसान अहिले बोटमै ५० रुपैयाँमा बिक्री गर्न पाउँदा दंग छन्। जुम्ली स्याउको माग बढे पनि खडेरीका कारण कोपिलामै झरेर उत्पादन कम भएको छ यस वर्ष। अहिले स्याउ बेच्नकै लागि किसान बजार धाउनुपरेको छैन, व्यापारी नै बगैंचामा पुग्छन्। 'व्यापारी स्याउ किन्न दिनहुँ बगैंचामै आउँछन्। कोही प्रतिकेजी स्याउको ५० रुपैयाँका दरले रुपैयाँ छाडेर जान्छन् भने कसैले रुपैयाँ ल्याएर आउने भन्दै बुक गरेर फर्कन्छन्,' उनले भने।
बोटमै ५० रुपैयाँ मूल्य पाउँदासमेत स्याउ नबेचेको उनले बताए। कोल्डस्टोरमा राखेर बेमौसममा महँगोमा स्याउ बेच्ने उनको योजना छ। छिमेकी किसानको स्याउ बोटमै ५० रुपैयाँमा बिक्री भइरहेको उनले सुनाए। व्यापारी पूर्णप्रसाद आचार्यले किसानको बगैंचामै प्रतिकिलो ५० रुपैयाँमा स्याउ किनेको बताए। उनले भने, 'अहिले किसान स्याउको मूल्यप्रति निकै सन्तुष्ट देखिन्छन्। स्याउको उत्पादन कम हुँदा किसानले भनेको मूल्य पाएका हुन्।'
किसानका अनुसार जुम्लामा यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। सबै स्याउ बगंैचामा मोटरबाटो पुग्न नसक्दा भने बजारमा पुर्याउन समस्या भएको किसान बताउँछन्।किसान आफैंले स्याउको जाम, जेली, जुस, साइटर र चाना बनाएर पनि बिक्री गर्छन्। विगतका वर्षमा अर्गानिक स्याउको मूल्य निर्धारण समितिले गर्दै आएकोमा यो पटक किसान आफंैले तोकेका छन्।
जिल्ला कृषि विकास कार्यालयले किसानसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आएको निमित्त प्रमुख विष्णुबहादुर महतले बताए। विगत वर्ष स्याउ मूल्य निर्धारण समितिले प्रतिकिलो 'ए' ग्रेड स्याउको ३५, 'बी' ग्रेडको ३० र 'सी' ग्रेडको २५ रुपैयाँ निर्धारण गरेको थियो। यो वर्ष किसानको सुझाव अनुसार प्रतिकिलो 'ए' ग्रेड स्याउको ५५, 'बी' ग्रेडको ५० र 'सी' ग्रेडको ४० रुपैयाँ मूल्य तोकिएको छ।
केही किसानले बगैंचामै प्रतिकिलो ६० रुपैयाँमा पनि स्याउ बेचिरहेको जानकारी कृषि कार्यालयका निमित्त प्रमुख महतले दिए। लामो खडेरीका कारण गत सालको तुलनामा यस वर्ष २५ प्रतिशतले उत्पादनमा कमी आएको छ। यो वर्ष ३ हजार १ सय मेटि्रक टन स्याउ उत्पादन हुने कृषि कार्यालयले जनाएको छ। कार्यालयले भदौ पहिलो सातादेखि स्याउ टिप्न र ढुवानीका लागि किसानलाई सिफारिस दिन सुरु गरेको हो। अहिलेसम्म स्याउ बिक्रीका लागि १ सय ९४ जनालाई सिफारिस दिइएको छ। व्यापारी आचार्यले कृषि कार्यालयको सिफारिस लिएर ४ वटा गाडीमा स्याउ तराई झारिसकेका छन्। उनले गर्ज्यांकोट र कार्तिकस्वामीबाट स्याउ खरिद गरेका हुन्।
जिल्लामा गत वर्ष ४१ सय मेटि्रक टन स्याउ उत्पादन भएको थियो। यहाँ उत्पादित धेरैजसो स्याउ नेपालकै बजारमा खपत हुन्छ। जुम्लामा स्याउको सम्भावना निकै बढी भए पनि व्यवस्थापन र बजारीकरण हुन नसक्दा किसानलाई समस्या छ। श्रीढुस्काका स्याउ किसान तिलबहादुर रावल जुम्लालाई अर्गानिक जिल्ला घोषा गरिए पनि सबै किसानको स्याउ प्रांगारिक प्रमाणीकरण हुन नसकेको बताउँछन्। स्याउ मौसममा मात्रै कृषि कार्यालय किसानप्रति उत्तरदायी हुने र बाँकी समयमा वास्ता नगर्दा गुणस्तरीय स्याउ उत्पादन गर्न नसकिएको उनको गुनासो छ। जुम्लामा रोयल, गोल्ड, रेड, जनाथन जातका स्याउ उत्पादन हुन्छन्। पर्याप्त कोल्डस्टोर अभावमा लामो समयसम्म स्याउ सुरक्षित राख्न नसकिएको किसान बताउँछन्।
विदेशी कार्टुनमा जुम्ली स्याउ
जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन नपाउँदा किसानले विदेशी कार्टुनमा स्याउ निर्यात गरिरहेका छन्। जसका कारण उपभोक्तालाई जुम्ली स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो परेको किसान बताउँछन्। व्यापारी पनि विदेशी कार्टुनमा राखिएको जुम्ली स्याउ बिक्री गर्न समस्या हुने गरेको गुनासो गर्छन्।
'जुम्लाको स्याउ विदेशी कार्टुनमा' भन्दै कतिपयले विश्वास नगरेको व्यापारी पूर्णप्रसाद आचार्यको अनुभव छ। उनका अनुसार उपभोक्ताले पनि विदेशी कार्टुनमा राखिएपछि जुम्ली स्याउ हो कि होइन भनेर शंका गर्छन्। सुर्खेत नेपालगन्जबाट केरा, गोलभेंडा ल्याइने कार्टुन तथा नेपाल भित्रिएका चाइनिज स्याउ र भारतीय स्याउका कार्टुनमा जुम्लाको स्याउ राखेर बाहिर पठाइने गरेको छ।
कृषि कार्यालयले जुम्ली अर्गानिक स्याउको लोगो भएका र कृषि कार्यालयको नाम लेखिएका १६ हजार कार्टुन ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भने पनि त्यो वास्तविक स्याउ किसानसम्म पुग्न सकेको छैन। कृषि कार्यालयका कार्टुन कृषि सहकारी, कृषक समूह र जिल्ला सहकारी संघलाई उपलब्ध गराइएको छ। सहकारी र कृषि समूहमा पहँुच नभएका किसानले विदेशी कार्टुन खरिद गरेर स्याउ बाहिर पठाइरहेका छन्। किसान विदेशी प्रतिकार्टुन ५० रुपैयाँमा खरिद गर्नुपरेको बताउँछन्। हुनेखाने किसानलाई कृषिले कार्टुन वितरण गर्दा विपन्न किसान मर्कामा छन्। कार्टुन नपाएपछि चिनी र चामलका बोरामा राखेर पनि स्याउ निर्यात गर्नुपरेको गुनासो उनीहरुको छ। कृषि कार्यालयले अनुदानमा उपलब्ध गराउने कार्टुन पाउन नसकेको गुनासो गर्दै किसान बलबहादुर रानाले भने, 'टन्न बगैंचा भएका सर्वसाधारण किसानसम्म त्यो कार्टुन पुगेको छैन जसको बगैंचा छैन उसैका घरमा त्यो कार्टुन पुग्छ तर स्याउ भएका किसानसम्म पुग्दैन।'
विदेशी स्याउका कार्टुनमा राखेर जुम्ली अर्गानिक स्याउ निर्यात गर्नुपर्दा पहिचानमा समस्या हुन्छ। स्याउ किसान सुर्जा लक्ष्मी रावलले विदेशी स्याउका कार्टुनमा जुम्ली स्याउ राखेर पठाउँदा पहिचानमा समस्यमा हुने बताइन्। किसान र व्यापारीले जुम्ली स्याउको पहिचानअंकित कार्टुन बनाउन सकेका छैनन्। विदेशी कार्टुनमा जुम्लाको स्याउ राखेर ढुवानी गर्नुपरेको विषयमा कृषि कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । विदेशी कार्टुनमा स्वदेशी स्याउ राख्दा पहिचान गुम्ने खतरा देखिएको छ। किसान महेन्द्र मल्लको अनुभवमा विदेशी कार्टुनमा राखिएको स्याउ जुम्लाको नभएको भन्दै किन्नसमेत उपभोक्ता हिचकिचाउँछन्। अहिलेसम्म एक सय ९४ मेटि्रकटन स्याउ विदेशी कार्टुनमा निर्यात भइसकेको छ।
कृषि विकास कार्यालयका निमित्त प्रमुख विष्णुबहादुर महतका अनुसार कृषि समूहमा आबद्ध किसानलाई ५० र कृषि सहकारी संस्थामा आबद्ध किसानलाई दुई/दुई सयका दरले कार्टुन वितरण गरिएको छ। त्यस्तै जिल्ला सहकारी संघमा आवद्ध किसानलाई चार हजार जुम्ली स्याउका कार्टुन बाँडिएको छ। पर्याप्त कार्टुन नहुँदा विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात भइरहेको कार्यालयले स्वीकारेको छ। महतले भने, 'अनुदानमा खरिद हुने १६ हजार कार्टुनले सबै किसानलाई पुग्दैन।'

जुम्लाको स्याउखेतीमा किसानलाई भ्याइ–नभ्याइ Reviewed by a on 1:54 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.