Top Ad unit 728 × 90

a
Ad Inside Post

पशुपतिनाथका चारैतर्फ कलात्मक ढोका

भदौ ९। काठमाडौंः पशुपतिनाथ मन्दिरको चारैतर्फ कलात्मक ढोका बन्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दातासँगको सहकार्यमा पूर्वमा उमाकुण्डमा, पश्चिममा हाल भएको प्रवेशद्वार छेउछाउ, उत्तरमा जयबागेश्वरीतर्फ र दक्षिणमा पिंगलास्थानमा कलात्मक ढोका बनाउन लागेको हो ।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले पशुपतिनाथ मन्दिर प्रवेश गर्ने चारै दिशामा प्रवेशद्वारका रूपमा कलात्मक र सुविधासम्पन्न विशेष ढोका निर्माण गरिने जानकारी दिए । उनले कलात्मक र सुविधा सम्पन्न ढोकाले मन्दिरको आकर्षण थप्ने जानकारी दिए ।
उनले भने, ‘शिवलिंगको पूर्वमा तत्पुरुष, पश्चिममा सद्योजात, उत्तरमा वामदेव र दक्षिणमा अघोर भगवान् विराजमान भएकाले भगवान्का तिनै रूप देखिने गरी ढोका बनाइनेछ ।’ उनका अनुसार यसका लागि दक्षिण ढोका निर्माण गर्न एसबीआई बैंकसँग सम्झौता भइसकेको छ भने बाँकी तीन ढोका बनाउन दातासँग कुराकानी भइरहेको छ ।
मन्दिरको दक्षिणतर्फ पिंगलास्थानमा निर्माण हुने ढोका सुविधा सम्पन्न ढंगको हुनेछ । कोषले नेपाल एसबीआई बैंकमार्फत करिब तीन करोड रुपैयाँ खर्चिएर उक्त ढोका निर्माण गर्ने गरी सम्झौता गरिसकेको छ ।
कोषका सदस्यसचिव डा. गोविन्द टन्डनका अनुसार बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अनुमानित लागत दुई करोड ७५ लाख रुपैयाँमा सवारी प्रवेश नियन्त्रण प्रणाली, टिकट काउन्टर, जुत्ताचप्पल कक्ष, सुरक्षा गार्ड कक्ष, फूलप्रसाद वितरण कक्ष, बैंकिङ कक्ष (इबैंकिङ टर्मिनल, एटीएम आदि) निर्माण गर्नेछ । ढोका निर्माणका लागि कोषका अध्यक्ष टन्डन र बैंकका प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागीबीच १५ बुँदे सम्झौता भइसकेको छ ।
बैंकले परियोजना निर्माणसँग सम्बन्धित अनुभवप्राप्त इन्जिनियरिङ तथा आर्किटेक्चरल फर्म वा कम्पनीमार्फत परियोजनासँग सम्बन्धित संरचनाको निर्माण गर्नेछ । जसका लागि आवश्यक नक्सा, डिजाइन, स्पेसिफिकेसन तथा बिल अफ क्वान्टिटीजस्ता निर्माण कार्य काम थाल्नुअघि बैंकले कोषमा पेस गर्नेछ । टन्डनले भने, ‘बैंकले ठेकेदार फर्म वा कम्पनी छनोट गर्दा परियोजनाको सम्पूर्ण निर्माण कार्य ठेकेदार छनोट भएको मितिले अधिकतम तीन वर्षभित्र काम सक्नेछ ।’
दक्षिण ढोकाको नक्सा र डिजाइन पुरातत्व विभागलगायत अन्य सरकारी निकायबाट कोषमार्फत स्वीकृत हुनेछ । समयमा निर्माण सम्पन्न गर्न र निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर आदि व्यवस्थित गर्न कोष र बैंकका तर्फबाट तीनतीनजनाको व्यवस्थापन समिति गठन हुनेछ ।
हालसम्म मन्दिरमा यस्ता कलात्मक ढोका बनेकै थिएनन् । कोषको प्रारम्भिक अनुमान अनुसार चारै दिशामा सुविधा सम्पन्न र कलात्मक ढोका निर्माण गर्न करिब १२ करोड रुपैयाँ लाग्नेछ ।आजको अन्नपूर्ण पोस्टमा समाचार छ।

पशुपतिनाथका चारैतर्फ कलात्मक ढोका Reviewed by a on 4:09 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.