Top Ad unit 728 × 90

a
Ad Inside Post

सिरानीमा दुुई लाख राखेर सुत्छन् खोटाङका जनता

भदौ पहिलो साता खोटाङ यात्रा तय भयो। बिहान ५ बजेदेखि इटहरीबाट सुरु भएको यात्राले बलुका ८ बजे दिक्तेलमा विश्राम पायो। सकसपूर्ण यात्राका पटकथा भनिसाध्य छैनन्। दुःखको चुचुरो टेकेर दैनिकी चलाएका खोटाङका जनताको कुरो सडकमै गएर अड्किन्थ्यो। उनीहरुको दैनिकी हामीलाई कथाझैँ लाग्थे। दुःखसँग पौठेजोरी खेलेर जीवन गुजारेका स्थानीयले कुरा सुनाउँदै गर्दा लाग्यो, उनीहरुले केही क्षण दुःखको माला फुकाएका हुन्।
साउनको अन्तिम साता खोटाङ बुइपा गाविसका ३५ वर्षीय दीपक राई ज्वरोले थलिए। उनको असामान्य स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर गाउँका अगुवाले उनको उपचार काठमाडौंमा गर्न सुझाए।
सडक सञ्जालले जिल्लाका ८ बाहेक अरु गाविस छोए पनि सिटामोलका लागि आकाश हेर्नैपर्ने बाध्यता खोटाङेका लागि यथावत् छ। सदरमुकाम दिक्तेलबाट करिब १३ किलोमिटरको दुरीमा रहेको बुइपामा भरपर्दो स्वास्थ्य संस्था नभएपछि दीपकलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लाने तयारी भयो। उतै रहेका उनका आफन्तले झन्डै २ लाख रुपैयाँ जम्मा गरे। उनलाई काठमाडौं लाने सबै तयारी परिवारले पूरा गर्यो।
बिरामी दीपकलाई लिन हेलिकप्टर उड्यो। तर, मौसम प्रतिकूल रहेको जानकारी आएपछि हेलिकप्टर फर्कियो। पटक-पटकको प्रयास असफल बनेपछि दीपकले अस्पताल देख्नै नपाई प्राण त्यागे।
काठमाडौंबाट २ सय ५५ किलोमिटरको दुरीमा पर्ने दिक्तेल बजार खुर्कोट–घुर्मी मध्यपहाडी राजमार्गमा पर्छ। उक्त दुरीको सडकयात्रा करिब ७ घण्टामा तय गर्न सकिन्छ। तर सुनकोसी र दुधकोसी पार गरेर पुग्नुपर्ने खोटाङ जिल्लाका जनताले एउटा सिटामोलको अभावमा ज्यान गुमाउनुपरेको यथार्थ छर्लङ्गै छ।
औषधि नपाएर, हेलिकप्टर चार्टर गर्दा समेत मौसमका कारण ल्याण्ड हुन नपाएर कच्ची बाटाकै भरमा बिरामी अस्पतालसम्म पुर्याउँदा बाटोमै ज्यान गएकाको हिसाब गरिसाध्य नभएको स्थानीय बताउँछन्। दीपकको घटनाको साक्षी समुन्द जोशीले भने, ‘समयमै हेलिकप्टर आएको भए दीपकको ज्यान बच्थ्यो।’
खोटाङका लागि दीपक नौलो उदाहरण भने होइनन्। यहाँ वर्षेनी आधा दर्जन गर्भवतीले अस्पतालको मुखै देख्न नपाई प्राण त्याग्छन्। अथाह सम्भावनाको खानी खोटाङले राजधानीसँग जोडिने सिधा सडक सञ्जालको माग गरेको छ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा दिक्तेल गाईघाट सडकको शिलान्यास गरेका थिए। सडक शिलान्यास गरेको २२ वर्षसम्म सडक नबन्नुले जिल्लाका नेताको कमजोरी ठान्छन् यहाँका जनता।
त्यसो त जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसहितको टोलीले सडक विभागमा धर्ना नदिएका होइनन्। बरु उनीहरुले प्रहरीको लाठी खाए। दिक्तेलका राजन सइजुले भन्छन्, ‘केन्द्रमा राज्यसँग विकास माग्न गएको लाठी खाएर फर्किनुपर्यो।’
विकासको पूर्वाधारको रुपमा रहेको सडकको अवस्था नै नाजुक भएका कारण जिल्ला भित्रिने हरेक सामानको भाउ आकाशिएको छ। बाटो जीर्ण भए तापनि जोखिम मोलेर ढुवानी गराउने व्यापारी आफूले नाफा होइन सेवा भावले व्यापार गरेको बताउँछन्। उनीहरुले तराई तथा राजधानीबाट ल्याउने सामानलाई दुधकोसी तार्न पुल नहुँदा भरियाको भरमा झोलुङ्गे पुलबाट वारपार गर्नुपर्ने बताए। जसकारण सामानको ढुवानी खर्च प्रतिकेजी २ देखि ५ रुपैयाँसम्म बढ्न जान्छ। यदि दुधकोसीमा पुलमात्रै भएको भए खोटाङका जनताले सस्तो मूल्यमा उपभोग्य वस्तु पाउने थिए। खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु जिल्लाका ८ गाविसबाहेक सबै गाउँमा कृषि सडक पुगे पनि स्तरोन्नति नहुँदा कृषकले यथोचित लाभ लिन नसकेको बताउँछन्।
कृषिमा अथाह सम्भावना बोकेको जिल्ला भए पनि जिल्ला भित्र उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्याउन सडक बाधक बनेपछि नास्पाती, आलु, अदुवा लगायतका वस्तु बारीमै कुहाउनुको विकल्प नभएको लयालुले बताए। उनले जिल्ला समृद्ध बन्न सडक आधारभूमि भएकाले त्यसको विकास र स्तरोन्नतिका लागि सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए।
जिल्लालाई सडक सञ्जालले छोएको २५ वर्ष नाघिसकेको छ। त्योभन्दा पछि सडकको ट्रयाक खोलिएका जिल्लामा अहिले स्तरीय बाटो छ। छिमेकका जिल्ला ओखलढुंगा र सोलुखुम्बुमा स्तरीय बाटो भएको तर आफ्नो जिल्लाको हालत भने लाजै मर्नु भएको दिक्तेलका स्थानीय छत्र सइजुले बताए। उनले आफू ओखलढुंगा पुग्दाको क्षण स्मरण गरे, ‘व्यावसायको सिलसिलामा हामी छिमेकी जिल्ला पुगेका थियौं। स–साना नानीले पनि हाम्रो गाडीको हिलोतर्फ संकेत गर्दै तपार्इँहरु खोटाङबाट आउनुभएको हो? भन्दै खिसी गरे। साँच्चै भन्ने हो भने हामी पनि भर्खर बाउसे गरेर फर्केका कृषकजस्तै भएका थियौं।’
अरुबेला जसोतसो दैनिकी चले पनि बिरामी पर्दा खोटाङेलाई आपत पर्छ। हजार रुपैयाँको उपचारको बाटो खर्चकै लागि लाखौँ खर्चिनुपर्ने बाध्यता छ। वृद्ध र गर्भवती बढी जोखिममा पर्छन्। उनीहरुलाई तत्काल हेलिकप्टर चार्टर गर्नुपर्ने हुन्छ। मौसम अनुकूल भए त ठिकै हो। पहाडी भेगका जनताका लागि हेलिकप्टर चढेर अस्पतालसम्म पुग्न पनि चिठ्ठा परेजस्तो हुन्छ।
२ लाख रुपैयाँ खर्च गरेर काठमाडौंमा सुत्केरी गराउन पुगेकी महिलालाई राज्यले १ हजार प्रोत्साहन भत्ता दिन्छ। छत्र सइजुले भने, ‘उस्तै गरिबले त धेरै सोच-विचार गरेर बच्चा जन्माउनु पर्ने हुन्छ। विपन्न वर्गका लागि बिराम काल नै बनेर आउने भन्दै सैंजुले गहिरो दुख पोखे, ‘राति आरामले सुते पनि बिहान उठ्दा बिरामी परिने हो कि भन्ने डर हुन्छ। केही पत्तो हुन्न। बाटोको अवस्था नाजुक छ। त्यसैले खोटाङका जनताले सिरानीमा २ लाख रुपैयाँ राखेर सुत्नैपर्छ।’
खोटाङका जनताको एउटै आवाज छ - नेताको पहुँच राज्यसम्म पुगेन। त्यसो त ब्युरोक्रेसीमा पनि खोटाङका जनताको पहुँच नपुगेको भने होइन। जिल्लाका ८ जना एकैपटक मन्त्रालयको सचिव हुँदासम्म पनि आफ्नो जन्मभूमिप्रति कसैले सिन्को नभाँचेको समुन्द्र जोशीले बताए।
‘जिल्लामा पैसावाल हावी भएकाले पनि पेट दुख्दा हेलिमा अस्पताल जान्छन्,’ जोशीले भने, ‘अनि मर्ने त जिल्लाका निमुखा जनता न हौं।’
त्यसो त जिल्लामा बजेटै नआएको भन्ने होइन। तर, भिजन नभएका नेताका कारण जिल्लामा सोचेअनुरुप विकास नभएको जनताको आरोप छ। जिल्लाबाट पढ्न राजधानी आएकी एलिना सैंजुले राज्यले जनतालाई हेर्ने दृष्टिकोणमै विभेद रहेको बताइन्। २१ औँ शताब्दीमा पनि मेरो जिल्लामा गाडी पुग्न सक्दैन भनेर साथीहरुलाई भन्दा उनीहरु हाँस्छन्।
‘के तिम्रो गाउँ कर्णाली कालिकोट हो? भनेर सोध्छन् साथीहरुले,’ एलिनाले भनिन्।
यस्तै दुखेसो छ दिक्तेलकी प्रतिना राजभण्डारीको पनि। काठमाडौंमा स्नातक तह अध्ययन गर्दै गरेकी राजभण्डारीले आफू खोटाङ्गबाट आएको भन्न पनि लाज हुने बताइन्। ‘हामी काठमाडौंदेखि जिल्लामा सिधाबाटो ७ घण्टामा पार गर्न सक्छौं। तर गाडी नचल्दा हप्तौं कुरेर फ्लाइट समात्नुपर्छ,’ उनले भनिन्।
अर्का युवा सन्तोष जोशीले आफ्नो समुदायको महत्वपूर्ण चाड गाईजात्रामा जन्मभूमि जान नपाएको गुनासो गरे। ‘वर्षायाममा सडक हुँदै जिल्ला पुग्न गाह्रो हुन्छ। फ्लाइटमा जाने भनेर निकै दिन पर्खियो। अन्तमा मौसमले धोका दियो,’ जोशीले भने।
स्थानीय युवा प्रकाश श्रेष्ठले राजनीतिले नै खोटाङजस्तो उर्वर जिल्ला धराशयी भएको व्यंग्य कसे। एमालेका तत्कालीन प्रभावशाली नेता असोक राईप्रति खोटाङका जनताको ठूलो भरोसा रहेछ। तर, उदयपुर र खोटाङ्गबाट चुनाव उठे पनि उदयपुरको विकासमै बजेट रित्याएका राईले खोटाङ्गका जनताको सपनामा लात बजारेको स्थानीयको दुखेसो छ। स्थानीय मनोज बजिमईले भने, ‘खोटाङबाट मन्त्री बन्दासमेत उदयपुरको विकासमा योजना हाल्ने मन्त्रीको चाला देख्दा दुःख लाग्यो।’
राईले खोटाङको विकासमा कुनै योजना प्राथमिकतामा राखेनन्।
जिल्लामा तीन एयरपोर्ट छन्। सदरमुकाम दिक्तेल सडक खण्डबाट करिब २२ किलोमिटरको दुरीमा रहेको लामिडाँडा एयरपोर्टले नियमित उडान भर्छ। त्यस्तै भर्खरै पिच गरिएको खानिडाँडा एयरपोर्ट त सरमुकामबाट ८ किलोमिटरको दुरीमा मात्रै छ। तर आंशिक उडान हुने हुँदा त्यसको भर जिल्लावासीका लागि कम छ। त्यस्तै हिउँदमा मात्र सञ्चालनमा हुने खोटाङ बजारको एयरपोर्टले भने सो भेगका जनतालाई आंशिक सेवा दिन्छ।
तर, वर्षको ५ महिना मात्रै निर्धक्क उडान भर्न सहज हुने पहाडी भेगको हवाईयात्रा वर्षायाममा जोखिमपूर्ण हुन्छ। आवश्यकताको मजवुरीले ज्यान जोखिममा पारेर गन्तव्यमा पुग्नुको विकल्प देख्दैनन् खोटाङका जनता।
जिल्लालाई जोड्ने दुई नदी सुनकोसी र दुधकोसी बाधक बनेका छन्। गत साल सुनकोसीमा १८ वर्षपछि पुल निर्माण भए पनि दुधकोसीमा पुल बन्न थालेको ६ वर्ष बितिसक्दा पनि कामले पूर्णता पाउन सकेको छैन। त्यसो त भोजपुरबाट जिल्लाको मध्यभाग हुँदै जाने मध्यपहाडी राजमार्गले जिल्लाको भविष्य जोडेको छ। तर, जिल्ला जोड्ने सडककै हालत धान रोप्ने खेत जस्तो भएका कारण मध्यपहाडी राजमार्गसँग स्थानीयले कुनै साइनो लगाउन सकेका छैनन्।
मध्यपहाडी राजमार्गले छुने दुधकोसीको पुल चाँडै बन्नेछ भन्ने उनीहरुलाई विश्वास थियो। तर, ट्रयाक बनिसक्दा पनि दुधकोसीमा पुल नबन्नुले उनीहरुको आशा निरासामा परिणत भएको हो। ओखलढुंगा र खोटाङ जिल्लालाई जोड्ने जयरामस्थित दुधकोसीको पुल दुई वर्षमा निर्माण गरिसक्न २०६६ सालमा कालिका कन्स्ट्रक्सन र गोल्छा अर्गनाइजेनको हुलास कन्स्ट्रक्सनले संयुक्तरुपमा १० करोडमा ठेक्का लिएका थिए। तर ठेक्का लिएको ६ वर्ष बितिसक्दा समेत निर्माण नसक्नुले निर्माण कम्पनीको चरम लापरबाही देखिन्छ। सम्बन्धित निकायले समेत समयमा काम नसक्ने कम्पनीलाई कारबाही गर्नुको सट्टा वर्षैपिच्छे म्याद थपिदिनुले मिलेमतोमै आर्थिक घोटाला भएको हुनसक्ने स्थानीयका आशंका छ।
माथिल्लो सगरमाथा अञ्चलका खोटाङ, ओखलढुंगा र सोलुखुुम्बु जिल्ला हेर्ने सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हर्कपुरले दुधकोसीको पुल र तीन जिल्लाका सडकको निर्माण तथा स्तरोन्नतिलाई नजिकबाट नियालेको बताएको छ। कार्यालयका प्रमुख डीप बाराहीले खोटाङको भविष्यसँग जोडिएको दुधकोसीको पुल सम्पन्न गर्न निर्माण कम्पनीलाई अन्तिम म्याद दिएको बताए। उनका अनुसार निर्माण कम्पनीले अन्तिममा थपेको समय यही आउँदो फागुनमा सकिँदै छ।
उच्च प्राविधिको पुल भएकाले चीनबाट झिकाइएका दक्ष प्राविधिकले काम सुरु गरिसकेका र अब कामको रफ्तार बढ्ने कम्पनीको भनाइ छ। यही वर्षमै खोटाङका जनता राजधानीसँग सिधा सम्पर्कमा जाडिने कम्पनीको दाबी छ।
अहिले जिल्ला जोड्न दुधकोशीमा अस्थायी पुल (वेली बृज) लगाउने गरिएको छ। तर, त्यो पनि मंसिरको अन्तिम साता लगाएर वर्षा सुरु नहुँदै जेठको पहिलो सातामै निकालिने हुँदा जिल्लासँग सडक सम्पर्क विच्छेद हुन्छ।
पाँच महिनाका लागि लगाइएको उक्त पुलको खर्च झण्डै ५० लाख हुन जान्छ। वेलीबृज लगाउन र खोल्न सडक विभागले ठेक्का आह्वान गर्छ।
वर्षौंदेखि पिच सडकमा टेकेर राजधानी पुग्ने खोटाङका जनाताको सपना कहिले साकार होला त्यो भन्न गाह्रो छ। अन्य ठाउँमा आश्वासन बाँड्न केन्द्रदेखि गाउँसम्म नेता पुग्छन्, तर यहाँका नेता नै पुग्न गाह्रो छ।
हिउँदमा धुलो र वर्षामा हिलो छिछोलेर उक्त ठाउँमा नेता पुग्नु त बिरलै हो। एकपटक जिल्लामा एमाले नेता योगेश भट्टराई पुगेका स्मरण गर्छन् स्थानीय युवा ध्रुव श्रेष्ठ। उनले सम्झिँदै भने, ‘भट्टराईले जिल्लालाई धुलोरहित चाहिँ बनाउनुपर्छ भनेका थिए।’
नेताको भनाइमा खासै विश्वास नभएको जिल्लाबासीले वास्ता गरेनन्। अलि हाई प्रोफाइलका नेता आउँदा हेलिकप्टरमा आउने र उनीहरुलाई गाउँका जनताको दुःख र सडकको अवस्था थाहा नहुने श्रेष्ठ बताउँछन्।
जिल्लामा सडक नहुनुको पीडा दैनिक व्यवहारसँग मात्र जोडिएको छैन। व्यक्तिको भावनामाथि नै प्रहार हुने घटना भएको जिल्लावासीको तीतो अनुभव छ।
स्थानीय युवा छत्र सैंजुले आफ्नै घटना बताए। २०५८ साल तिर आफ्नो बिहेका लागि केटी माग्न जाँदा उनलाई सोधियो, ‘तपाईंका त दुई वटा घर रहेछन्, अनि बिहेपछि विराटनगर बस्नुहुन्छ कि दिक्तेलमा?’
विराटनगरमा घर भए पनि खोटाङमै जन्मेहुर्केका र व्यवसायको गरेका छत्रले जन्मभूमिमै बस्ने संकेत गरे। यसो भनेपछि उनलाई केटीका बुवाले भनेछन्, ‘माफ गर्नुहोला। सामान्य ज्वरो आउँदासमेत उपचार पाउन कठिन हुने ठाउँमा म छोरी दिन सक्दिन।’
आज १५ वर्ष बितिसक्दा पनि छत्रको मनमा तीर बनेर गढेको प्रश्न यही छ।
वर्षौं बिते पनि, जिल्लाबाट नेतृत्व लिएका दर्जन बढी नेता बने पनि, सबैले एउटै आवाजमा जिल्लाको सडक पिच गर्छौं भने पनि अवस्था उस्तै छ।
खोटाङबासीले जयराम घाटस्थित दुधकोसीको पुल बनाउन जोडदार माग गरेका छन्। नेताका आश्वासनले थाकेका जिल्लाबासीले आजकल आफू राज्यविहीन भएको अनुभूति गर्न थालेका छन्।

सिरानीमा दुुई लाख राखेर सुत्छन् खोटाङका जनता Reviewed by a on 8:26 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.