बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउँदै
राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, १७ पुस - कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरे क्षेत्रमा रहेको बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउने र नासिने क्रम बढ्दो रुपमा रहेको छ।
धार्मिक क्षेत्रको संरक्षण संवद्र्धनको कार्यलाई सन्तोषजनक रुपमा अगाडि नबढाइँदा पुरातात्विक महत्वका वस्तु हराउने क्रम बढेको हो। हालसम्म धार्मिक क्षेत्रबाट एक किलो बढी तौलको चाँदीको मजुरको मूर्ति, अष्टधातुको नागको मूर्ति, ठूला घन्टीहरु, बाघ हात्तीका कलात्मक मूर्ति हराइसकेको धार्मिक क्षेत्रका जीतबहादुर देउवाले बताउनुभयो।
प्राचीन मन्दिर परिसरमा रहेका मूर्ति र मन्दिरभित्रका मूर्तिसमेत हराएका छन् उहाँले भन्नुभयो, “हालसम्म कुनै पनि निकायले हराएका मूर्ति खोजी गर्ने र मर्मतको सङ्घारमा रहेका मूर्तिबारे चासो राखेका छैनन्।”
प्राचीन मन्दिरभित्रको भगवान् शिवको गर्भगृहमा रहेको धातुको मूर्तिलाई साधुले मन्दिरको ढोकामा लगाइएको ताला फुटालेर सडक छेउ राखेपछि धार्मिक क्षेत्रबारे मन्दिर समितिले चासो देखाउन सुरु गरेको छ।
मन्दिरको पुरातात्विक महत्वको मूर्ति सडक छेउ राखिएपछि मन्दिरका मूर्ति नासिँदै जान थालेको प्रति मन्दिरका भडरिया डम्बरबहादुर ऐरले चिन्ता प्रकट गर्नुभयो।
मन्दिरभित्रको मूर्ति बाहिर ल्याएर राख्ने विरुद्ध कारबाही हुनुपर्ने उहाँले बताउनुभयो। “मन्दिरका प्राचीन मूर्तिलाई तत्काल पुरानै ठाउँमा धार्मिक विधि विधानअनुरुप पुनःस्थापन नगरे जिल्ला प्रशासन कार्यालयमा यसबारे उजुरी गर्छौं”, उहाँले भन्नुभयो।
सिद्ध वैजनाथ बेदकोट संरक्षण समितिका अध्यक्ष जयबहादुर साहुले मन्दिरमा २२ पटक ताला लगाउँदा अर्को दिन जाँदा ताला फुटालेको अवस्थामा पाउने गरिएको बताउनुभयो । “ताला तोड्नेको पहिचान गरी कारबाही गर्छौं” – उहाँले भन्नुभयो । “समितिसँग आर्थिक अभाव हुँदा धार्मिक क्षेत्रको संरक्षण र पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण संवद्र्धनको कार्यमा कठिनाइ रहेको छ” – उहाँले भन्नुभयो।
वर्षौं पहिले धार्मिक क्षेत्रमा पुग्ने भक्तजनका लागि राखिएको फलामको पिङसमेत मन्दिर परिसर क्षेत्रमा तोडेर फालिएको अवस्थामा रहेको छ । परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरुले यस क्षेत्रमा आएर बेदधुनी जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ। यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिहरुको तपोभूमिका रुपमा समेत परिचित रहेको छ। रासस
Reviewed by a
on
2:10 AM
Rating:
No comments: