दीपकराज गिरीको समर्थनमा सेलिब्रेटी, कसले के भने ?
काठमाडौं, माघ ५ – सबैभन्दा पहिले दीपकराज गिरीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिने कलाकार हुन् किरण केसी । उनले दीपकराज गिरीमाथि कृष्णलाई ज्यान मार्ने धम्की दिएको आरोप गलत भएको बताएका थिए । छक्का पञ्जा पाइरेसी गर्ने युवा कृष्ण सुवेदीले आत्महत्या गरेपछि दीपकराज गिरीका कारण उनले आत्महत्या गरेको कृष्णको परिवार र आफन्तले आरोप लगाएका छन् । दीपकराज गिरीले एक हप्तासम्म टर्चर दिएको र त्यो टर्चर सहन नसकेर कृष्णले आत्महत्या गरेको कृष्णका आफन्तको आरोप छ ।
दीपकलाई अहिले सामाजिक सञ्जाल फेसबुकबाट धेरैले गाली पनि गरिरहेका छन् । आफूलाई आएका गाली मध्ये ८० प्रतिशत नक्कली फेसबुक आइडीबाट आएको जानकारी दीपकले बार्सिलोनामा भएको एक कार्यक्रममा बताएका छन् । त्यस्तै दीपकले आफू दोषी साबित भएमा सजाय भोग्न पनि तयार रहेको बताएका छन् ।
दीपकलाई गाली गर्नेको संख्या जति छ, उनको समर्थन गर्नेको संख्या पनि उत्तिकै छ । अहिले नेपालका नामी सेलिब्रेटीहरुले दीपकराज गिरीको काम र व्यवहारलाई सम्झँदै उनले कसैलाई ज्यान लिने गरी धम्की दिन नसक्ने बताउँदै आफ्ना स्टेटमेन्टहरु सार्वजनिक गरिरहेका छन् ।
नायिका रेखा थापा, कलाकार निर्मल शर्मा, पत्रकार शान्तिप्रिय, निर्देशक ऋषि लामिछानेलगायतका कलाकारहरुले फेसबुकमार्फत दीपकराज गिरीको समर्थनमा स्टटेमेन्ट जारी गरेका छन् ।
रेखा थापा
नायिका रेखा थापाले दीपकराज गिरीको समर्थनमा एक स्टेटमेन्ट जारी गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन् – आफू रोएर पनि अरुलाई हँसाउने दीपक र दीपाले यस्तो गर्छन् भनेर म विश्वास गर्दिन । म उहाँहरुलाई एकदमै नजिकबाट चिन्छु । दीपक दाइ सिधा बोल्ने मान्छे हो । उहाँले बारम्बार आफूले पीडा सहनु हुन्छ तर अरुलाई अइया पनि हुन दिनुहुन्न । त्यस्तो मान्छेले कसैको ज्यान लिने गरी बचन लगायो भनेर म पत्याउँदिन ।
योगेश घिमिरे
निर्देशक योगेश घिमिरेले पनि सामाजिक सञ्जालमा दीपकराज गिरीको पक्षमा लेख्दै दीपकलाई तीतो सत्य आउनु भन्दा पहिलेदेखि नै चिनेको र पहिलेको दीपक र अहिलेको दीपकमा कुनै पनि किसिमको परिवर्तन नआएको भन्दै दीपक कलाकारका साथै एक समाज सेवक पनि भएको उल्लेख गरेका छन् ।
पहिलेका सिनेमा पाइरेसी गर्नेहरुलाई यत्तिकै छोड्नेले अहिले आएर कसैलाई ज्यान मार्ने धम्की दिन नसक्ने भन्दै यो घटनाको छानबिन हुनुपर्ने माग योगेशको छ ।
ऋषि लामिछाने
निर्देशक ऋषि लामिछानेले पनि योगेशले जस्तै पहिले पहिलेका सिनेमा पाइरेसी हुँदा पनि कुनै प्रतिक्रिया नलिएका दीपकराज गिरीले यस्तो गर्न नसक्ने उल्लेख गरेका छन् ।
उनले अहिले आफूहरु एकातिर छक्का पञ्जा पाइरेसी, अर्कातिर एक युवाको मृत्युसँगै अर्को पीडाको रुपमा अति नै संवेदनशिल आरोपले पीडित भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा स्टेटमेन्ट जारी गर्दै ऋषिले कृष्णको आत्महत्या हो या हत्या प्रहरीले छानविन गरिरहेको जानकारी पनि दिएका छन् ।
निर्मल शर्मा
कलाकार निर्मल शर्माले पनि दीपकको पक्षमा लेखेका छन् । उनले अनाथ बालबालिकाहरुलाई पढाउने, समाज सेवा भनेपछि अघि सर्ने दीपकराज गिरीले यस्तो काम गर्न नसक्ने विचार व्यक्त गरेका छन् ।
सिनेमाले कमाएको पैसा पनि बोनस बाँड्ने एक कलाकारले कहिल्यै पनि अरुलाई ठेस पुर्याउन सक्दैन र १६ बर्ष अघि चिनेको दीपक र अहिलेको दीपककमा कुनै पनि फरक नभएको भन्दै निर्मलले दीपकमाथि लागेको अरोप पत्याउनै नसकिने उल्लेख गरेका छन् ।
त्यस्तै कलाकार शिवहरी पौड्यालले भने निर्मल शर्माको पोस्ट हेरेर आफूले केही लेख्न पर्ने आवश्यकता नभएको भन्दै त्यहि पोस्ट सेयर गरेका छन् ।
मनोज गजुरेल
मनोज गजुरेलले कृष्ण सुवेदीको निधनमा दु ःख व्यक्त गर्दै लेखेका छन्, ‘दीपकराज गिरीले आफू दोषि साबित भएमा सजाय भोग्न तयार छु भनिसकेका छन् । त्यस कारण अब उनलाई बारम्बार आरोप लगाएर तनाव नदिँउ । अब पनि उनीमाथि अस्वभाविक आक्रमण गरिहनु न्याय संगत देखिँदैन ।’
शान्तिप्रिय
पत्रकार शान्तिप्रियले सामाजिक सञ्जालमा अहिले धमिलो पानीबाट माछामार्ने मार्ने काम भइरहेको र कुरै नबुझी कसैलाई आरोप लगाउनु कानुनी अपराध भएको उल्लेख गरेका छन् ।
कुनै अभिव्यक्ति दिनु पर्यो भने पटक पटक सोच्ने र एक पाइला सार्नु पर्यो भनेपनि हजार पटक सोच्ने मान्छेले धम्की दिन सक्दैन । त्यसैले धमिलो पानीमा माछा नमारौँ, शान्तिप्रियको स्टेटमेन्टमा उल्लेख छ ।
त्यस्तै अन्य सेलिब्रेटीहरुमा बल्छी धुर्बे, रमेश बाबु श्रेष्ठ, निर्माता निशान बजगाईँ लगायतले पनि दीपकको समर्थन गरेका छन् ।
Ujyaalo Online
Reviewed by a
on
6:31 AM
Rating:
No comments: