Top Ad unit 728 × 90

a
Ad Inside Post

पेस्तोल र जाली नोटको जालो

 
भारतीय नागरिक वैजनाथ गुप्ताले मलेसियाबाट नेपालमा साना हतियार भित्र्याउने तयारी गरेको खुलेको छ । गुप्ता भारतीय जाली रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् । उनले मलेसियाबाट पाकिस्तानका रज्जाक मर्फानीसँग मिलेर साना हतियार भित्र्याउने तयारी गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

अन्तरदेशीय अपराधसम्बन्धी अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोको रेकर्डअनुसार रज्जाक मलेसियालाई आधार बनाएर जाली भारु र अवैध हतियारको कारोबारमा संलग्न संगठित समूहका सदस्य हुन् । पाकिस्तानी नागरिक अब्दुल वहावमार्फत त्यहाँ रहेका जाली भारु कारोबारका मुख्य कारोबारी हाजी तलादको सम्पर्कमा गुप्ता पुगेका थिए । यसपछि उनी रज्जाकको सम्पर्कमा पुगेका थिए । पाकिस्तानबाट उनले ३ खेप गरी १ करोड ६ लाख जाली भारु र १ खेपमा १९ हजार ५ सय अमेरिकी जाली डलर नेपाल भित्र्याएका थिए ।

प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त महाराजगन्जको संयुक्त अपरेसनमा गुप्ताको समूह पक्राउ परेको थियो । नेपाली महिलासँग विवाह गरी ४० वर्षदेखि सिरहाको मैसोथामा बस्दै आएका भारत विहारका ६२ वर्षीय गुप्ता अहिले ७ सहयोगीसहित महाराजगन्ज बृत्तको हिरासतमा छन् । उनको बयानअनुसार रज्जाकले मलेसियाबाट केही पेस्तोल नेपाल पठाइसकेका छन् । कोमार्फत कति संख्यामा पेस्तोल नेपाल पठाएको हो सो भने अझै खुलेको छैन ।

स्रोतका अनुसार रज्जाकले स्याम्पलका रूपमा केही पेस्तोल नेपाल पठाएको गुप्ताले प्रहरीमा बयान दिएका छन् । माग राम्रो रहेको भन्दै नेपालमा अवैध पेस्तोल ल्याउने रज्जाकको प्रस्ताव आफूले स्वीकार गरेको गुप्ताले बताएका छन् । अनुसन्धान स्रोतका अनुसार कुरियरमार्फत पेस्तोल भित्र्याउन रज्जाकले गुप्तालाई कम्पनी खोल्न भनेका थिए । उनले सप्तरीमा कोइलाको व्यापार गर्दै आएका थिए । आयात–निर्यात व्यापारको उद्देश्यसहित कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएलगत्तै उनी पक्राउ परेका हुन् ।

महाराजगन्ज बृत्तको हिरासतमा भेटिएका गुप्ताले नेपालमा पेस्तोल ल्याउने योजना रहेको कान्तिपुरलाई बताए । हतियार कारोबारका लागि रज्जाकले फोन गरी नेपालमे लोहेका भाउ भी अच्छा है भन्दै प्रस्ताव गरेको उनले सुनाए । आफूले नबुझेपछि पुन: सोध्दा तमन्चे भनेको र त्यो पेस्तोलको ‘कोड भाषा’ रहेको चाल पाएपछि ‘बजार अच्छा है भेजो’ भनेको उनले सुनाए ।

केन्द्रीय कारागारमा भेटिएका अब्दुल वहावसँग मिलेर जाली भारुको कारोबार सुरु गरेको र त्यसबीच रज्जाकसँग सम्पर्क भएको बताउँदै उनले भने, ‘अब्दुल पाकिस्तान गएर हाजीसँग कुरा गराएपछि जाली भारुको काम सुरु गरें, रज्जाकसँग चिनजान भएपछि हतियार ल्याएर बिक्री गर्ने योजना थियो ।’

उनका अनुसार रज्जाकले हतियार नेपाल भित्र्याउन सघाउने कुरियर आफ्नो सम्पर्कमा रहेको बताउँदै हतियार लुकाउन अन्य देशबाट सामान ल्याउन पाउने गरी कम्पनी दर्ता गर्न भनेका थिए । ‘खैरो हेरोइनमा १५ वर्ष जेल परेर बाहिर आएपछि आर्थिक अवस्था राम्रो भएन,’ उनले भने, ‘पेस्तोलको बजार राम्रै देखेपछि रज्जाकको प्रस्तावअनुसार कम्पनी दर्ताको प्रक्रिया सुरु गरेको थिएँ ।’
मलेसियाका नेपाली प्रयोगको आशंका
रज्जाकले कामको खोजीमा मलेसिया पुगेका केही नेपालीलाई प्रयोग गरेर जाली भारु नेपाल भित्र्याएको आशंकामा अनुसन्धान मलेसिया केन्द्रित गरेको देखियो । रज्जाकले जाली भारुको भरियाका रूपमा काम गर्न नेपालीलाई मलेसियामा मगाएको बयानमा गुप्ताले खुलाएपछि प्रहरीले मलेसिया केन्द्रित अनुसन्धान थालेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

रज्जाकले केही नेपालीलाई जाली भारु बोकाउन मलेसिया पठाउन भने पनि आफूले नपठाएको उनले दाबी गरे । आफूले केही परिचितलाई मलेसिया पठाए पनि उनीहरू रज्जाकको सहयोगीका रूपमा नभई कामदारका रूपमा गएको उनले कान्तिपुरसँग दाबी गरे । उनले मलेसियामा रहेका आफ्ना परिचितको नाम भने खुलाउन मानेनन् ।

गुप्ताको प्रारम्भिक बयानअनुसार राहदानी नभएकाले उनी पाकिस्तान गएनन् । नेपालबाटै हाजीसँग फोनमा भने कुरा भइरहन्थ्यो । हाजीले ३० हजार सक्कली भारु लिएर १ लाख नक्कली भारु नेपालमै डेलिभरी गरिदिने र सामान आएपछि सोबापतको पैसा सदन प्रधानको सहयोगमा दुबई पठाउने गरेका थिए ।

वहावले स्याम्पलका रूपमा केही नक्कली अमेरिकी डलर नेपाल ल्याएपछि सहयोगी तारिणीप्रसाद ठाकुरमार्फत ठमेलमा साटदा सहजै साटिएपछि थप रकम मगाएको उनले बयान दिएका छन् ।

ठाकुरले त्यत्तिको डलर भए ठमेलमा सहजै साट्न सकिने बताएपछि झाले हाजीलाई सोबारे जानकारी गराएका थिए । हाजीले पहिलो खेपमा १९ हजार पठाउन राजी भएका थिए ।

नेपाल भित्रिने जाली भारुको अनुसन्धानमा हाजी पटक–पटक पोलिएको नाम भए पनि उनको वास्तविकता अझै खुलेको छैन । झाका अनुसार उनले एकपटक कुराकानीमा आफू ५० वर्ष पुगिसकेको बताएका थिए । ३६ लाख जाली भारु र १९ हजार ५ सय जाली अमेरिकी डलर सुटकेसमा हालेर नेपाल आउँदा जेठ ८ मा पक्राउ परेकी पाकिस्तानी युवती समा नाजले हाजीको पूरा नाम तलाद मेमन रहेको बताए पनि पुष्टि हुन नसकेको अनुसन्धानमा संलग्न स्रोतले बतायो ।

‘अनुसन्धानमा हवाई मार्ग हुँदै नेपाल भित्रिएका अधिकांश जाली भारु अधिकांश हाजी समूहले पठाएको पुष्टि भए पनि उनको वास्तविक पहिचान भने अझै एकिन छैन,’ लामो समयदेखि जाली भारु कारोबारको अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘समाको बयानबाट उनको नाम तलाद मेमन भन्ने आएको छ, तर पुष्टि हुन बाँकी छ ।’
५० लाख जाली भारु खोई ?
प्रहरी अनुसन्धानमा पाकिस्तानी नागरिक समा पक्राउ पर्नुअघि २ पटक नेपाल आएको खुलेको छ । बयानमा उनी मार्च ६ मा ४० लाख र २६ मार्चमा ३० लाख बोकेर नेपाल आएको बताएकी छन् । प्रहरीले सो रकममध्ये करिब २० लाख मात्र बरामद गर्न सफल भएको छ । ५० लाख जाली भारु कहाँ छ सो भने खुलेको छैन । गुप्तासँग जाली भारु लिने केही व्यक्ति अझै पक्राउ परेका छैनन् ।
पेस्तोल र जाली नोटको जालो Reviewed by a on 4:10 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.