कोकिन तस्करीको नयाँ रुट : केरुङ हुँदै ल्हासा

ब्राजिलको कोकिन युरोपियन मुलुकमा पुर्याउन सक्रिय नाइजेरियन समूहले नेपाल भित्रिएको कोकिन स्थल मार्ग हुँदै चीन पुर्याउने गरेको खुलेको छ । बुधबार नेपालमा कोकिन लिन आएकी चिनियाँ नागरिकको पक्राउपछि कोकिन तस्करीको नयाँ रुट खुलेको हो ।
नेपालमा उत्पादित गाँजा, चरेस, अमेरिकी डलर, वन्यजन्तुका अंग र जडिबुटी तिब्बत पुर्याउन नेपाल–चीनको स्थल मार्गको प्रयोग हुने गरेको थियो । चीनबाट स्थल मार्ग हुँदै तस्करीको सुन नेपाल भित्रिए पनि नेपाल भित्रिएको कोकिन स्थल मार्गबाट चीन पुग्ने गरेको पहिलोपटक खुलेको हो ।
भारतीय नाकाबन्दीसँगै नेपालले चीनसँग जोडिएको केरुङ नाकालाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रयास सुरु गरेको छ । लागूऔषध तस्करले समेत पछिल्लो समय सोही रुट प्रयोग गरेको खुलेको हो ।
नेपालमा रहेका नाइजेरियनसँग २ किलो ६ सय ग्राम कोकिन लिन आएकी चिनियाँ नागरिक किन दोङदोङको बयानबाट उनीहरूले काठमाडौंबाट स्थल मार्ग हुँदै भारत पुर्याउने रुटको साटो केरुङ हुँदै खासाको बाटो प्रयोग गरेको खुलेको हो ।
यस अगाडि पक्राउ परेका कोकिन कारोबारीहरूले ब्राजिल, दोहा हुँदै नेपाल भित्र्याएको कोकिन स्थल मार्गबाट भारत पुर्याएर त्यहाँबाट हवाई मार्ग हुँदै युरोपियन मुलुक लैजाने गरेको खुलेको थियो ।
लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बेलुका ठमेलको गेस्ट हाउसबाट पक्राउ गरेको दोङदोङ कोकिन लिएर स्थल मार्गबाट केरुङ हुँदै ल्हासा जाने योजनासाथ नेपाल आएको ब्युरोका डीआईजी जयबहादुर चन्दले जानकारी दिए ।
दोङदोङ कुनमिङबाट चाइना साउदर्न एयरलाइन्सबाट बुधबार बेलुका काठमाडौं आइपुगेकी थिइन् । काठमाडौंमा उत्रिएलगत्तै पूर्व योजनाअनुसार कोकिन लिन उनी ठमेलको एक गेस्ट हाउसमा पुगेपछि उनको पर्खाइमा रहेको ब्युरोको टोलीले २ किलो ६ सय ग्राम कोकिन र १३ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
दोङदोङ कुनमिङबाट चाइना साउदर्न एयरलाइन्सबाट बुधबार बेलुका काठमाडौं आइपुगेकी थिइन् । काठमाडौंमा उत्रिएलगत्तै पूर्व योजनाअनुसार कोकिन लिन उनी ठमेलको एक गेस्ट हाउसमा पुगेपछि उनको पर्खाइमा रहेको ब्युरोको टोलीले २ किलो ६ सय ग्राम कोकिन र १३ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
ब्युरोले बुधबार कोकिन तस्करीमा संलग्न रहेको आरोपमा भेनेजुएलाकी यामरिस कारमिन, नाइजेरियन मोहम्मद लामेनी डोबा, भारतीय तोहिद खान र नेपाली दिलबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।
सो सञ्जालमा चिनियाँ नागरिकसमेत रहेको ब्युरोमा सूचना आएको थियो । मंगलबारसम्ममा चिनियाँ नागरिक नेपाल आउनुपर्ने भनिए पनि बुधबार दिउँसोसम्म नआएपछि ब्युरोले पक्राउ परेका आरोपीलाई बुधबार सार्वजनिक गरेको थियो ।
आरोपीहरू सार्वजनिक गरेलगत्तै पक्राउमध्ये मोहम्मदको मोबाइलमा फोन आएपछि पुन: अप्रेसनमा खटिएको प्रहरीले ठमेलबाट २७ वर्षीया चिनियाँ नागरिक दोङदोङलाई पक्राउ गर्यो ।
अनुसन्धानमा संलग्न ब्युरोका डीएसपी प्रेम शाहीका अनुसार बयानमा उनले नाइजेरियामा रहेका केशली नामका नाइजेरियनले नेपाल गएर मोहम्मदसँग रहेको सामान केरुङ हुँदै ल्हासा ल्याउनु भनेर पठाएको प्रारम्भिक बयान दिएकी छन् ।
‘केशलीले फोनमार्फत प्लेनमा नेपाल गएर सामान लिएलगत्तै बस हुँदै केरुङबाट ल्हासा आउनु भनेका थिए,’ दोङदोङको बयान उदृत गर्दै शाहीले भने, ‘२४ तारिखमा आइपुग्नुपर्ने, मौसम बिग्रिएकाले २ दिन कुनमिङमै अडकिएँ ।’
उनले बयानमा केशलीलाई ३ वर्ष अगाडि ग्वानजाओमा चिनेको र आफू नेपाल पहिलो पटक आएको दाबी गरेकी छन् । नेपाल गएर सामान ल्याइदेऊ, त्योबापत केही पैसा दिउँला भनेकाले आफू नेपाल आएको तर, सामान के हो भन्ने थाहा नभएको उनले दाबी गरेकी छन् ।
‘दोङदोङलाई नाइजेरियामै रहेको सञ्जालले प्रयोग गरेर नेपाल हुँदै कोकिन चीन पुर्याउने प्रयास गरेको देखिन्छ,’ डीएसपी शाहीले भने, ‘प्रारम्भिक अनुसन्धानमा रुट चीनसम्म मात्रै खुले पनि उनीहरूको लक्ष्य युरोपियन मुलुक नै देखिन्छ ।’
पेरु र ब्राजिलमा बनेको कोकिन युरोपियन मुलुक पुर्याउन सक्रिय अन्तर्राष्ट्रिय लागूऔषध तस्कर समूहले भारतलाई ट्रान्जिट बनाउँदै आएका थिए । भारतमा कोकिन पक्राउ पर्ने क्रम बढेपछि उनीहरूले नेपाललाई पाँच वर्ष अगाडिबाट ट्रान्जिट रुटमा पारेका थिए । यो बीचमा प्रहरीले २१ किलो कोकिनसहित १४ जना पक्राउ गरिसकेको छ । दोङदोङ पक्राउ शृंखलाको नयाँ सदस्य हुन् ।
कोकिन तस्करीको नयाँ रुट : केरुङ हुँदै ल्हासा
Reviewed by a
on
8:09 AM
Rating:
No comments: