कोपा अमेरिकाको पहिलो चरणबाटै बाहिरियो ब्राजिल
काठमाडौं: आफ्नो भूमिमा भएको विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको ब्राजिल अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताबाट पनि घर फर्केको छ।
सन् २०१४ मा भएको विश्वकपको सेमिफाइनल भीडन्तमा जर्मनीसँग ७-१ ले पराजित भएको ब्राजिल कोपा अमेरिकाको समूह चरणको अन्तिम खेलमा पेरुसँग १-० ले पराजित हुँदै घर फर्केको हो।
ब्राजिललाई घर फर्काउने क्रममा पेरुका लागि खेलको ७५ औं मिनेटमा राउल रुइडियाजले एन्डी पोलोको पासमा निर्णायक गोल गरे।
डिबक्सभित्रबाट राउलले हातले गोल गरेको भन्दै केही समय ब्राजिलका खेलाडिले आपत्ति जनाएका थिए। रिप्लेमा हेर्दा राउलले हेन्ड बललाई गोलमा परिणत गरिएको देखिए पनि त्यही गोल नै ब्राजिलको हारको कारण बन्यो।
कोपा अमेरिकाको समूह चरणको पहिलो खेलमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा हाइटीविरुद्ध गोल वर्षा गरेको थियो।रियो ओलम्पिकका नेमारसहित ६ जना भन्दाबढी आफ्ना स्टार खेलाडीलाई नउतारेको ब्राजिलले तेस्रो खेलमा कम्जोर प्रतिद्वन्द्वी पेरुसँग पराजित हुँदै घरको बाटो तताएको हो।
हाइटीविरुद्ध ७-१ को जित निकाल्ने क्रममा ह्याट्रिक गरेका फिलिपे कोटिन्हो आजको खेलमा चल्न सकेनन्।त्यसैगरी अग्रपंक्तिमा रहेका विलियन र ग्याब्रियलको खेल पनि बिर्सन लायक रह्यो।
प्रशिक्षक डुंगाले आफ्ना प्रमुख खेलाडीहरुलाई रियो ओलम्पिकको तयारीका लागि कोपा अमेरिकामा नखेलाएपछि ब्राजिलको खेल खस्किएको थियो।
रियोको तयारीमा रहेका नेमार हाल अमेरिकामै विदा मनाइरहेका छन्।ब्राजिललाई हराएपछि पेरु समूह बी बाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै क्वाटर फाइनलमा पुगेको छ।
त्यसैगरी ५ अंक जोडेको इक्वोडर दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।
No comments: