यी हुन् युरोकपमा प्रभाव पार्न सक्ने खेलाडी
स्पेनिस टोलीका महत्वपूर्ण सदस्य हुन्, मिडफिल्डर आन्द्रेस इनिएस्टा। उनी प्ले मेकरमा रूपमा बढी परिचित छन्। स्पेनले पछिल्लो समय हात पारेका अधिकांश सफलतामा इनिएस्टा टोलीका महत्वपूर्ण सदस्य थिए।
सन् २००६ मा सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु' गरेका इनिएस्टाले एक सय सातवटा अन्तर्राष्ट्रिय खेल खेलेर १३ गोल गरेका छन्। उनी यू-१५, यू-१६, यू-१७, यू-१९, यू-२० र यू-२१ राष्ट्रिय टोली हुँदै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका हुन्।
क्लब फुटबलमा पनि उनको विशेष स्थान छ। बार्सिलोनाका पछिल्ला हरेक सफलतामा पनि इनिएस्टाले महत्वपूर्ण हिस्सा रहँदै आएका छन्। उनी हाल बार्सिलोनाका कप्तान पनि हुन्।
बार्सिलोनाको एकेडेमीका उत्पादनसमेत रहेका इनिएस्टामाथि स्पेनिस टोलीले अहिले ठूलो अपेक्षा राखेको छ। उनी स्पेनिस मिडफिल्डको खम्बा हुन्। सन् २०१० को विश्वकप फाइनलमा इनिएस्टा प्लेयर अफ दि म्याच घोषित भएका थिए।
रोमेलु लुकाकू ( स्ट्राइकर, बेल्जियम)
बेल्जियमका युवा स्ट्राइकर रोमेलु लुकाकूले क्लब फुटबलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। हाल इङ्लिस क्लब एभर्टनमा रहेका लुकाकूले यो सिजन उक्त क्लबका लागि ४६ खेल खेलर २५ गोल गरेका थिए।
सिनियर राष्ट्रिय टोलीका लागि उनले हालसम्म ४४ खेल खेल्दै १२ गोल गरेका छन्। बेल्जियमले पछिल्लो समय प्राप्त सफलतामा लुकालूको प्रदर्शन बेजोड रहने गरेको छ। उनले सन् २०१० मा सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यु' गरेका हुन्।
लुकाकूले यो वर्ष राष्ट्रिय टोलीबाट चार खेल खेलेर चार गोल गरेका छन्। सन् २०१४ मा गार्जियनले लुकाकूलाई युरोपका प्रतिभावान् युवा खेलाडीको सूचीमा राखेको थियो। उनले चेल्सीबाट पनि खेलिसकेका छन्।
यू-१५, यू-१८ र यू-२१ राष्ट्रिय टोली हुँदै उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका हुन्। १६ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्न थालेका २३ वर्षीय लुकाकू सन् २००९ मा बेल्जियमको घरेलु लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए।
No comments: