कुपोषित बन्दै बारपाकका भूकम्पपीडित
बारपाक(गोरखा): भूकम्पले थिलोथिलो भएको बारपाकका गर्भवती, सुत्केरी तथा बालबालिका कुपोषणको समस्यामा छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय, युनिसेफ, सेभ दी चिल्ड्रेन र नेपाली प्राविधिक सहयोगी समूह (एनट्याग) ले गत हप्ता संयुक्त रूपमा गरेको सर्वेक्षणमा पाँच वर्षमुनिका बालबालिका तथा गर्भवती र छ महिनासम्मका सुत्केरीमा जटिल खालको कुपोषण देखिएको हो।
नौ वडाका दुई सय ४५ जना बालबालिकाको परीक्षण गर्दा ११ जनामा कडा खालको कुपोषण देखिएको छ। ४४ जना गर्भवती एवं सुत्केरीमा गरिएको परीक्षणबाट १४ जनामा शीघ्र कुपोषण देखिएको एनट्यागका राजन सिलवालले जानकारी दिए। कुपोषित सबैलाई बहिरंग उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएको सिलवालले जनाए।
‘स्वास्थ्य महिलाको नाडी २३० मिलिमिटरभन्दा बढी मोटो हुनुपर्नेमा १८०, १९० मिमिसम्म पनि रहेछ', उनले भने,'बालबालिकाको १३० एमएमभन्दा बढी हुनुपर्नेमा ८०, ९० एमएमको पनि भेटियो।' भूकम्प गएदेखि बारपाकलगायत जिल्लाका अरू गाविसका भूकम्पपीडित महिला तथा बालबालिकाको पोषणको अवस्था नाजुक रहेको छ।
गत फागुनमा पोषण सप्ताह मनाउने क्रममा गरिएको अध्ययनमा जिल्लाभर १८ जना बालबालिकामा कडा खालको शीघ्र कुपोषण भेटिएको थियो। तीन सय २४ जना बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको थियो।
अहिले ८७ जना बालबालिकामा कडा खालको शीघ्र कुपोषण (सुकेनास) भेटिएको छ। उनीहरूलाई जिल्लाका विभिन्न ११ ठाउँका बहिरंग उपचार केन्द्रमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
त्यस्तै एक सय ५७ जना बालबालिका मध्यम शीघ्र कुपोषित भेटिएका छन्। उनीहरूको पनि उपचार भइरहेको एनट्यागले जानकारी दियो। कडा खालको कुपोषणले ग्रस्त एक सय १३ जना गर्भवती सुत्केरीको पनि उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण सम्बन्धी स्रोतव्यक्ति नवराज खड्काले जनाए।
नेपाल सरकारको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम र युनिसेफको सहयोगमा एनट्यागले कुपोषणले पीडित महिला तथा बालबालिकालाई थप खाना र उपचार सेवा प्रदान गरेको छ।कडा कुपोषण भेटिएका बालक तथा महिलालाई विभिन्न ठाउँका उपचार केन्द्रमा पठाइएको बारपाक स्वास्थ्य चौकीका प्रमुख अनीलकुमार साहले बताए।
उनका अनुसार बारपाकका मात्रै १९ जना बालबालिका र १६९ जना सुत्केरी, गर्भवती महिलालाई उपचार केन्द्रमा पठाइएको हो।गर्भवती महिला कुपोषित भएमा कुपोषित आमाले बच्च जन्माउन नसक्ने, बामपुड्के बच्चा जन्मने, सुस्त मनस्थितिको तथा विभिन्न खाले अपांग भएर बच्चा जन्मने चिकित्सकको भनाइ छ।
त्यस्तै मरेको बच्चा जन्मने, जन्मेपछि पनि खेर जाने, बच्चालाई सुकेनास हुनेजस्ता जोखिम हुने गर्छ।सुकेनास तथा रक्त अल्पताले गोरखामा करिब ४६ प्रतिशत बालबालिका ग्रसित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण सम्पर्क व्यक्ति खड्काले जानकारी दिए।
भूकम्पपछि पोषिलो खानाको अभावका कारण नवजात शिशु तथा सुत्केरी र गर्भवती महिलामा कुपोषणको समस्या जटिल बन्दै गएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीको भनाइ छ।'भूकम्पले घर भत्कँदा घरमा भएका खानेकुरा नष्ट भए।
राहतमा आएका खानेकुरा जस्ता क्वालिटीका पनि आए' अधिकारीले भने,'भएका खानेकुरा पनि मिलाएर खान, खुवाउन नजाने कुपोषण हुनेगर्छ।' गर्भवती आमा कुपोषित हुँदा बच्चा र आमा दुवै कुपोषित हुने गरेको उनको भनाइ छ।'समयमै सुई नलगाउने, थप खाना नखुवाउने, झाडा पखालालगायतका बिरामीले पनि बच्चा र आमा कुपोषित हुन्छन्', उनले भने,'भूकम्पपछि यस्तो समस्या सिर्जना होला भनेर केन्द्रदेखि जिल्लासम्म स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम गरिरहेका छौं।'
कुपोषण भएकालाई प्रारम्भिक चरणमा फेला पारेमा उपचार गरेर पहिलेकै अवस्थामा ल्याउन सकिने उनले बताए। तर धेरै ढिला गरी फेला पारेमा उपचार पनि जटिल हुने उनको भनाइ छ। कुपोषणलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको उनले बताए।
कुपोषित महिला तथा बालबालिकाको खोजीकार्य प्रभावकारी हुन सकेमा समयमै उपचार गर्न सकिने एनट्यागका सिलवालको भनाइ छ।'दुई नगरपालिका र ६० वटै गाविसमा यस्तो समस्या भएका महिला तथा बालबालिकाको सघन खोजी भएको छैन', उनी भन्छन्,'कुपोषणका विषयमा धेरैको ध्यानाकर्षण भएको छ।
त्यसैले सरकारले यस्ता कुपोषित भेटेमा समयमै उपचार सेवा उपलब्ध गराउनेछ।' जिल्लाभर पाँचदेखि सात सय गर्भवती र सुत्केरी महिलालाई कुपोषण भएको र एक सय १३ गर्भवती महिलालाई भर्ना गरेरै उपचार गराइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
No comments: