रियो ओलम्पिकमाः नाचेर मन जिते भारोत्तोलकले
एजेन्सीः जारी रियो ओलम्पिक खेलकुदअन्तर्गत भारोत्तोलनको एक सय पाँच केजीभन्दा माथिको तौल समूहको प्रतिस्पर्धामा सानो देश किरिबातीका खेलाडी डेभिड काटोएटउले दर्शकको निकै साथ पाए ।
उनलाई दर्शकले यति रुचाए कि आयोजक राष्ट्र ब्राजिलको खेलाडीलाई भन्दा बढी हुटिङ उनले पाएका थिए । त्यसको एउटै कारण थियो, डेभिडको फरक व्यवहार ।
उनी जतिपटक भार उठाउन स्टेजमा उत्रिन्थे, त्यति नै पटक नाचेर दर्शकलाई मनोरञ्जन गराउँथे । उनी भार उठाउनुअघि र फर्कने बेला एकपटक नाचेर दर्शकलाई मनोरञ्जन दिन्थे । त्यसैले प्रतिस्पर्धा हेर्न उपस्थित दर्शकले अन्य प्रतिस्पर्धी खेलाडीका लागि भन्दा डेभिडका लागि बढी ताली बजाए । प्रतिस्पर्धाका क्रममा नाचेर दर्शकलाई मनोरञ्जन गराउनु डेभिडको पुरानै स्वभाव हो ।
दुई वर्षअघि स्कटल्यान्डको ग्लासगोमा सम्पन्न कमन्थवेल्थ खेलकुदअन्तर्गत यही स्पर्धामा स्वर्ण पदक जितेका डेभिडले त्यहाँ पनि नाचेरै दर्शकको मन जितेका थिए । त्यति बेलाको आफ्नो व्यवहारबाट भारोत्तोलनप्रेमी दर्शकमाझ निकै लोकप्रिय बनेका डेभिड यसपटक पनि रियो ओलम्पिक सुरु हुनुअघिबाटै चर्चामा थिए । रियो ओलम्पिकमा भारोत्तोलनको प्रतिस्पर्धा सुरु हुनुअघि नै उनी फेसबुक र ट्विटरमा छाइसकेका थिए ।
रियोमा उनी विश्वकै उत्कृष्ट खेलाडीसँगको प्रतिस्पर्धामा अघिल्लो चरणमै रोकिएका थिए । तर, यसपटक पनि उनले दर्शकको मन भने जितेरै छाडे । डेभिडले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा यस्तो व्यवहार गर्नुको पनि विशेष कारण रहेछ, उनीसँग । उनको देश किरिबाती निकै सानो छ । किरिबातीको नाम सुन्ने पनि विश्वमा निकै कम छन् । किरिबाती सानोमात्रै छैन, बर्सेनि समुद्रमा डुब्दै आफ्नो क्षेत्रफल पनि घटाउँदैछ ।
उनको देशका जनता बारम्बार सामुद्रिक बाढीको सिकार बन्ने गरेका छन् । गत वर्ष डेभिड आफैंले पनि सामुद्रिक बाढीकै कारण आफ्नो घर गुमाएका थिए । ग्लासगोमा सम्पन्न कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेबापत राज्यले उनलाई ११ हजार अमेरिकी डलर रकम पुरस्कार दिएको थियो । सोही रकमले उनले आफ्नो अभिभावकका लागि घर बनाएका थिए । तर, सो घर त्यही सामुद्रिक बाढीले ध्वस्त बनाइदियो । त्यसयता उनी घरविहीन छन् ।
भूगर्भविद्हरूले केन्द्रीय प्यासिफिक राष्ट्र किरिबाती चाँडै नै समुद्रभित्र विलीन हुने बताएका छन् । त्यसैले डेभिडले आफ्नो देशलाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन पनि यस्तो व्यवहार गरेका हुन् । ‘प्रायः लाई किरिबाती कहाँ छ भन्नेबारे थाहासम्म छैन’, डेभिड भन्छन्, ‘म विश्वभरिका मान्छेले किरिबातीबारे सुनून् भन्ने चाहन्छु । त्यसका लागि म भारोत्तोलन खेलाडी बनेको हुँ र त्यसकै लागि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा नाच्ने पनि गर्छु ।’
उनले गत वर्ष आफू र आफ्नो देशको अवस्थाबारे जानकारी दिन खुला पत्र लेखेको स्मरणसमेत गरे । ‘हामीसँग हामी आफंैलाई बचाउने स्रोत छैन । हाम्रो देश किरिबातीसँग त्यस्तो स्रोत छैन’, डेभिड प्रश्न गर्छन्, ‘जीवन बचाउने स्रोत नै नभएको किरिबातीमा अन्य सुविधा के होला ? मैले खेल्न सुरु गर्दा देशमै जिम हल थिएन । अहिले पनि छैन ।’ उनले आफूले खुला सामुद्रिक तटमा अभ्यास गर्ने गरेको समेत उनले सुनाए
No comments: