रु १० लाखमा निर्माण भएको खोरजत्रो घर भूकम्पपिडितको लागि !
काठमाडौं ५ भदौ | भूकम्पपछि राहत, उद्धार, पुनर्लाभ र पुनस्र्थापनाका लागि सहयोग गर्न गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले खोरजत्रो घर बनाएर बजेट सिध्याउने गरेको छ । भूकम्पपीडितको नाममा क्रिस्चियन च्यारिटीबाट जुटाएको रकममध्ये एक करोड रुपैयाँभन्दा धेरै बजेट खोरजत्रा घर बनाएर सिध्याएको हो ।
क्याथोलिक रिलिफ सर्भिस स्रोतका अनुसार गोरखा नगरपालिका ४ र १२, बुङ्कोट गाविस र ताप्ले गाविसमा गरी आठ ठाउँमा यस्ता घर निर्माण भएका छन् । ‘यस्तो एउटा घर बनाउन सीआरएसले १० लाखको ठेक्का दिएको थियो’, स्रोतले भन्यो, ‘जीटीटीसीले ठेक्का पारी एक महिना लगाएर आठ ठाउँमा यस्ता घर बनाएको छ ।’
अनुगमन गर्न जिल्लास्थित सीआरएसको कार्यालय र काठमाडौंस्थित मुख्य कार्यालयबाट पनि पटकपटक अनुगमन टोली आउने गरेको थियो । ‘एउटा सानो काम गर्छन् अनि अनुगमन भनेर गाडी लिएर कुदाकुद हुन्छ’ स्रोत भन्छ, ‘विदेशी गोरा आयो भने त झन् हेलिकोप्टर चार्टर गराएरै अनुगमन गराउनु पर्छ ।’
सानो काम गरेर रिपोर्टको खेती गर्ने गरेको उनले बताए । ‘बिपन्न, दलित, सीमान्तकृतलाई हामीले यस्तो गत्त्यौं, उस्तो गत्त्यौं भनेर भलीभाँतीको प्रतिवेदन बनाएर स्वदेश, विदेशमा पठाएर पैसा झार्छन्’, स्रोतले भन्यो, ‘आजको दिनसम्म यसरी नै बजेट सकिएको छ संघसंस्थाको ।’
१० लाख रुपैयाँ खर्च गरेर एउटा घर बनाइदिएको भए गाउँका गरिबले ओत लाग्न पाउने स्थानीय लालमाया बस्नेतले बताइन् । ‘त्यति पैसा खर्च गरेर एउटा बस्न मिल्ने घर बनाइदिएको भए एकजना गरिबले यो बर्खामा टाउको लुकाउने ठाउँ पाउथ्यो’, उनले भनिन्, ‘एक महिना लगाएर यस्तो घर बनाए, ह्वार्रर्र आए, हेरे गए । के काम ? ‘
गाउँका १८ जनाले एक महिना लगाएर यस्ता घर बनाएको अर्का स्थानीय केशरलाल शाहीले बताए । ‘बिहान १० बजे आयो, दिनभरि एउटा काठ टुकटुक गत्त्यो । अर्कोले एउटा ढुंगा टुकटुक गत्त्यो । दुई बज्न पाको छैन गयो’, उनले भने, ‘यस्ता घर के काम, हेर्नलाई मात्रै ।’
घर बनाउने काम कहिल्यै नगर्नेलाई काम गर्न लगाएकोमा गाउँलेले आलोचना गरे । ‘कमसेकम घर बनाएर हिँड्ने गरेका मान्छेलाई लगाएको भए त पछि पनि यस्तै काम गर्थे’, शाहीले भने, ‘कहिल्यै काम नगरेका र पछि पनि यस्तो काम कहिल्यै नगर्ने १४, १५ वर्षका केटाहरूलाई लगाएर घर बनाए ।’ यी घर हेरेर गाउँमा कसैले घर नबनाएको उनको भनाइ छ । ‘गाउँमा मार्चुसाहिँलाले घर बनाएको घर पनि यस्तो छैन, अर्कोले माथि बनाएको घर पनि यस्तो छैन । यस्तो घर देखाएर के काम ? ‘ उनले भने ।
यस विषयमा जानकारी लिन खोज्दा सीआरएसकी प्रमुख स्निग्धा चक्रवर्तीले जानकारी दिन इन्कार गर्दै आफूले सबै कार्यक्रमको प्रगति विवरण सरकारलाई पेस गरेकाले सरकारसँग बुझ्न आग्रह गरिन् ।
कार्यक्रमको अनुमति दिने र अनुगमन गर्ने जिम्मेवारी पाएका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले भने सीआरएसको कुनै विवरण आफूले नपाएको बताए ।
No comments: