पासबिनाका भारतीय गाडीको बिगबिगी
भैरहवा: रूपन्देही जिल्लामा हलुका भारतीय नम्बर प्लेटका सवारीसाधनको अवैध ढंगले बिगबिगी फैलिएको छ । छिमेकी राष्ट्र भारतसँग 'रोटी र बेटी' को सम्बन्धको बहाना बनाएर सवारी पास सुविधाको समेत दुरुपयोग गरी भन्सार राजस्व छलेर यस क्षेत्रमा मनपरी ढंगले भारतीय सवारीसाधन सञ्चालन भइरहेका छन् ।
पूर्वमन्त्री तथा सांसददेखि जिल्लाका प्रमुख दलका नेता तथा चोरीका सवारीसाधनको कारोबार गर्दै आएका व्यापारीले बर्सौंदेखि भारतीय सवारी उपयोग गरेबापत भन्सार राजस्व तिर्ने गरेका छैनन् ।
भारतका उत्तरप्रदेश, बिहार, महाराष्ट्र र हिमाञ्चल प्रदेशमा दर्ता उल्लेख भएका विभिन्न कम्पनीका भारतीय नम्बर प्लेटका बोलेरो, जिप, कार, भ्यान, ट्र्याक्टर र मोटरसाइकल अवैध रूपले रूपन्देही जिल्लामा बाक्लै प्रयोग भइरहेका छन् । हलुका भारतीय सवारीसाधन अवैध ढंगले नेपाल प्रवेश भई सञ्चालन हुँदा यस क्षेत्रको यातायात व्यवसाय संकटमा परेको गुनासो सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्य सारुमगरले गरे ।
नेपालमा मोटरसाइकल किन्ने पैसाले भारतमा कार किनेर चढ्न सकिने हुँदा सीमावर्ती क्षेत्रमा सवारीसाधन अवैध प्रवेश बढेको उनले बताए । उनले भने, 'भारतीय नम्बर प्लेटका गाडीले सस्तो भाडादरमा यात्रु ओसारपसार गरेका छन् । उनीहरूसँग हामीले प्रतिस्पर्धा गर्न नसक्दा यस क्षेत्रका व्यवसायी साह्रै संकटमा परेका छौं ।
रूपन्देही प्रहरी प्रशासनले पनि उनीमाथि खासै कारबाही गरेको छैन ।' विवाह तथा राजनीतिक दलहरूको सभासम्मेलनमा कार्यकर्ता तथा सर्वसाधारणलाई ओसार्न भारतीय नम्बरप्लेटका बसहरू रिजर्भ हुने गरेका छन् ।
केहीले नेपालमा विशेष पास बनाएर एक दिनको सुविधामा महिनौंसम्म भारतीय प्लेटका गाडी गुडाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले गत आर्थिक वर्ष भन्सार राजस्व चोरी पैठारी निकासीमा प्रयोग भएका ७४ वटा गाडीलाई कारबाहीका लागि भन्सारमा पठाएको र अवैध रूपमा नेपालमा सञ्चालन गरिएका करिब पाँच हजारवटा भारतीय नम्बर प्लेटका सवारीसाधनलाई जरिबाना गरी छोडेको प्रहरीले जनाएको छ । यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रूपन्देहीले अघिल्लो वर्ष ३४ वटा भारतीय नम्बर प्लेटका गाडी नियन्त्रणमा लिई कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, भन्सार राजस्व कार्यालय र प्रहरीले यसतर्फ विशेष अभियानका साथ अप्रेसन नचाल्दा भैरहवा मूल भन्सार र लुम्बिनी महेशपुर छोटी भन्सार नाकाको राजस्व संकलनमा समेत प्रभाव परेको छ । प्रहरीले हरेक वर्ष सञ्चालन गर्ने ट्राफिक सप्ताहमा भने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा पर्ने र गाडी नै लिलाम हुने डरले गाडी नगुडाई घरमा छोपेर लुकाउने गरेका छन् ।
अन्य समयमा मन्त्री, सांसद, नेता र कार्यकर्ताको नाता सम्बन्ध, विवाह, आकस्मिक घटना, बिरामी छोड्न र लिन हिँडेको जस्तो बहाना बनाएर त कसैले ट्राफिक प्रहरीलाई महिनाबारी घूस दिएर यस क्षेत्रमा निर्बाध रूपमा भारतीय नम्बर प्लेटका हलुका सवारीसाधन चलाउने प्रवृत्ति बढेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम राख्दै अवैध रूपमा सञ्चालन भएका सवारीसाधनलाई कारबाही गर्न निर्देशन दिएको बताए ।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भारतसँगको खुला सिमाना, सामाजिक, सांस्कृतिक र व्यावहारिक पक्षका कारण भारतीय नम्बर प्लेटका गाडी पूर्ण रूपमा रोक्न र नियन्त्रणमा लिई कारबाही गर्न नसकिएको गुनासो गरे ।
रूपन्देही जिल्लाको दक्षिण र पश्चिम दुवैतिर ६६ किलोमिटर भारतसँगको खुला सिमाना पर्छ । रूपन्देहीका धकधई मर्चबार, भैरहवा र लुम्बिनी क्षेत्रमा धेरै भारतीय नम्बर प्लेटका मोटरसाइकल छन् । यस क्षेत्रका नेता, कार्यकर्ता, शिक्षक, व्यापारी एवं समाजसेवी भनिएका धनाढ्यहरूले पनि आफ्नो घरमा भारतीय नम्बर प्लेटकै कार, ट्र्याक्टर र जिप राखेका छन् ।
रूपन्देहीमा १० हजारभन्दा बढी भारतीय नम्बर प्लेटका सवारीसाधन भएको अनुमान छ । 'प्रहरीले सीमा क्षेत्रका नागरिकको सुविधा र व्यावहारिक पक्षलाई हेरी सामाजिक सद्भावका निम्ति लचिलो हुनुपर्ने बाध्यता छ', रूपन्देही जिल्लाका प्रहरी प्रमुख गुरुङले भने, 'भन्सार सुविधा नलिई प्रवेश गरेका गाडीलाई कारबाही गर्ने गरेका छौं ।
भारतीय नम्बर प्लेटका गाडीहरूबाटै बढी आपराधिक घटना हुने गरेका पनि छन् तर त्यसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।'
No comments: