साइकलमा डेटिङ, रिक्सामा विवाह
- नेपाल संवाददाता
‘बिहे गरेपछि बूढीलाई केमा घुमाउँछस् ?’ किशोरकालमा बाबुआमाले सोधेछन् । ‘उसलाई पनि एउटा साइकल किनिदिन्छु अनि सँगै साइकलमै घुमौँला ।’ ख्यालख्यालमै शैलेन्द्र डंगोलले भनेछन् ।
नभन्दै त्यस्तै भयो । शैलेन्द्रको साइकल प्रेम २९ मंसिरमा सुमीरा श्रेष्ठसँगको विवाहमा समेत प्रकट भयो । आफू रिक्सा चढेर बेहुली लिन गए भने जन्ती सबै साइकल चढे ।
काठमाडौँमा साइकलको प्रयोगलाई प्रवद्र्धन गरिरहेको साइकल सिटी नेटवर्कका उपाध्यक्ष हुन् शैलेन्द्र । शैलेन्द्र दैनिक कामकाजका लागि साइकललाई नै सवारीका रूपमा प्रयोग गर्छन् । उनकी पत्नी सुमीरा पनि साइकलप्रेमी हुन् । १० वर्ष प्रेम सम्बन्धमा रहँदा उनीहरू कयौँपटक साइकलमै डेटिङ गए ।
उनको विवाहमा साइकलमा जन्ती गएको प्रसंगले केही दिन सामाजिक सञ्जालमा राम्रै स्थान पाए । उनको फेसबुक वालमा बधाई दिनेको पनि ओइरो नै लागेको छ । इन्धन अभावका बीच भएको यस्तो नौलो प्रकारको विवाह एक हिसाबमा स्वाभाविकै होला । अझ उनको साइकल प्रेम र साइकल प्रवद्र्धन दुवै अनुकरणीय छन् । कान्तिपुर समाचारबाट
No comments: