घर भरी बालबच्चा छन् तर खाने अन्न नै छैन ननसरीसँग !
अमरजित पुनमगर, रोल्पा १४ पुस, घरभरी साना साना बाल बच्चाको ठुलै बगाल छ । सानो एक तले घर करिब १ दर्जन बालबालिका पुरै घरभरी अटिनसक्नु छन् । कुनै कतै रोइरहेका छन् त कुनै कतै खेलिरहेका देखिन्छन् । दुई चार जना साना नानीहरु आमाको वरीपरी झुम्मी रहेका छन् । यो ननसरी परियारको घरमा देखिने दृश्य हो । ननसरी परियार अहिले उमेरले ३५ वर्ष भएकि छिन् । तर उनको घरै भरी बाल बच्चाले भरिएका छन् ।
बच्चाहरु एउटा चाउचाउको लागि लुछाचुडी गरिरहेका देखिन्छन् । सानै उमेरमा विवाह गरेकी ननसरीको अहिले १३ वटा बालबच्चा छन् । सानै उमेरमा विवाह गरेर सानै उमेरमा बच्चा जन्माएकी ननसरी परियारसँग अहिले १० वटा बच्चा जीवित छन् भने ३ वटाको मृत्यू भइसकेको छ । पूर्वी रोल्पाको फगामा गाविस वडा नं. ३ निवासी परियारले १५ वर्षको उमेरमै विवाह गरेर १७ वर्ष हुँदादेखि बच्चा जन्माउन सुरु गरेकी हुन् । उनले कति त वर्षै पिच्छे जन्माइन् भने कति २ वर्षको फरकमा । सानै उमेरमा बालविवाह गरेकी उनले न कुनै औपचारिक शिक्षा हासिल गरेकी छिन् त न उनीसँग कुनै सिप नै छ ।
श्रीमानकै भरमा गुजारा चलाईरहेकी उनी कहिले काही बिहे, भोज हुँदा उतै जाने र बाल बच्चा पनि त्यसरी नै पाल्दै आएको बताउने गरेकी छिन् । बाल बच्चा ठुला ठुला भए पनि अहिलेसम्म कसैले पनि स्कुल देख्न पाएका छैनन् । सानै उमेरमा बच्चा जन्माउनु हुन्न भन्ने मान्यतालाई चुनौति दिँदै उनले १३ वटासम्म बच्चा जन्माएकी छिन् ।
यसरी बच्चा जन्मिदा शारीरिक रुपमा कुनै खतरा भने नभएको उनी बताउँछिन् । चिकित्सकका अनुसार घरमै बच्चा जन्माउँदा खतरा हुने भनिएको भए पनि उनले जम्मा २ वटालाई मात्र स्वास्थ्य संस्थामा जन्म दिएकी हुन् । यसबारेमा आफूलाई जानकारी नभएर पनि घरमै सुत्केरी भएको उनी बताउँछिन् । गाउँघरमै स्वास्थ्य संस्था भए पनि चेतना अभावका कारण प्रायः महिला घरमै सुत्केरी हुने गर्दछन् । रोल्पाकै हार्जङ जन्मेर फगाममा कर्मथलो बनाएकी ननसरी परियारका ५ वटा छोरा छन् भने ८ वटी छोरी छन् । साँझ बिहान छाक टार्न नै मुस्किल हुने उनको घरमा छोराछोरीले प्रसस्तमात्रामा खान नपाउँदा प्रायः बच्चामा कुपोषण देखिने गरेको छ । तीन, चार वर्ष भएका बच्चा पनि अझै राम्रोसँग हिडडुल गर्न सक्दैनन् । उनीहरुलाई प्रसस्तमात्रामा पोषणयुक्त खानेकुरा खुवाउन आफूहरुसँग पैसा र अन्नपात पनि नभएको ननसरी बताउँछिन् । कसैकसैले कपडा सिलाएमा त्यसैबाट साँझ बिहान छाक टार्ने गरेकी ननसरी बच्चा बच्ची पाल्न नै मुस्किल भइरहेको बताउँछिन् । दलित टोलमा एक छानेघरमा बस्दै गरेका उनीहरुको खेती गर्नका लागि जग्गा समेत छैन । सुकुम्बासी जस्तै भएर बसिरहेका ननसरीका परिवारले कहिले काही ऐचोपैचो गरेर गुजरा चलाउने गरेका छन् ।
साना बालबच्चा धेरै भएकाले पनि उनीहरुलाई पुर्याउँदा पुर्याउँदै आफूहरु भोकभोकै समेत बस्ने गरेको बताउँछिन् । ‘घर भरी बच्चा बच्ची छन् उनीहरुलाई पुर्याउँदा पुर्याउँदै कहिले त हामीलाई नै पुग्दैन’ कहिले काही भोकै बसेको सम्झन्छिन् । सानै उमेरमा विवाह गरेर धेरै बच्चा जन्माएकोमा खिन्नता महसुस पनि गर्छिन् आजभोलि उनी ।
अशिक्षाका कारण पनि यसरी बच्चा जन्मेको उनी बताउँछिन् । परिवार नियोजनका साधन हुन्छ रे ! भन्ने पनि थाहा नपाएकी उनले अहिले भने यस बारेमा जानकारी भएको बताइन् । अन्जानमै धेरै बच्चा भएकाले लालन पालनमा मुस्किल भएकाले कसैले हेरिदिए जाति हुने उनको अपेक्षा छ ।
‘यस्ता बाल बच्चालाई संरक्षण गर्ने धेरै संस्थाहरु छन् रे ! उनीहरुले हेरिदिए पनि हुने’ उनले बताइन् । गरिबी र अशिक्षाका कारण अभावको जिन्दगी जिउँदै गरेका ननसरीको परिवारलाई संघ सस्थाले पनि हेरिदिए राम्रो हुने छिमेकीहरुले बताएका छन् । अहिलेसम्म आफूहरुले पनि केही मात्रामा सहयोग गरिरहेको भएपनि सधैँ यस्तो नहुने भएकाले यसबारेमा सबैले चासो दिन सके राम्रो हुने गाउलेहरुले बताए । स्वास्थ्यमा पहुँच नहुँदा रोल्पाका धेरै बालबालिका कुपोषणको शिकार बन्ने गरेका छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरु भएपनि यहाँको स्वास्थ्य अवस्था परिवर्तन हुन सकेको छैन ।
No comments: