विज्ञप्तिको तरंग नसेलाउँदै पूर्वराजा सुटुक्क उडे थाइल्याण्ड
काठमाडौं– ६ दिन अगाडि विज्ञप्ति जारी गरेर नेपालको राजनीति तताएका पूर्वराजा ज्ञानेन्द्र शाह आज अचानक थाइल्याण्डको राजधानी बैंकक उडेका छन् । बुधबार दिउँसो थाइ एयरवेजको विमानबाट ज्ञानेन्द्र एक्लै थाइल्याण्ड उडेको उनी निकट स्रोतले रातोपाटीलाई बतायो ।
पूर्वराजा ज्ञानेन्द्र बैंकक जानुपूर्व नै पत्नी कोमल, बुहारी हिमानी र नातिनातिना समेत गत मंसिर २९ गते नै बैंकक गइसकेका थिए । उनी उनीहरु चाहिँ नातिनातिनाहरुको बिदा मनाउने सिलसिलामा बैंकक गएको स्रोतको भनाई छ । गत पुस ७ को विज्ञप्तिले राजनीति तातिरहेको बेला आज अचानक ज्ञानेन्द्र थाइल्याण्ड उड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसअघि उनी साउन ३१ मा स्वास्थ्य उपचारका लागि भन्दै बैंकक गएका थिए भने पछिल्लो पटक सिंगापुर र त्यसपछि चीनको भ्रमण गरेका थिए । भ्रमणबाट फर्किएलगत्तै पूर्वराजा शाहले नेपालको राजनीति जटिल भएको भन्दै विज्ञप्ति निकालेका थिए ।
उनको विज्ञप्तिलाई लिएर मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।
शाहले निकालेको विज्ञप्तिमा देशभक्तिको भावना नढलेको भन्दै सबै नेपाली राष्ट्र बचाउन फेरि एक पटक लाग्नुपर्नेमा जोड दिइएको थियो । “राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ। हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं” उनले भनेका थिए, “समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन।”
दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको भन्दै उनले भनेका थिए “पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउंदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो ।”
यसैबीच पूर्वराजाको स्वागतमा लागि सुवर्णभूमि विमानस्थलमा नेपाली युवाहरु पुगेको त्यहाँ पुगेका एक नेपालीले टेलिफोनमा रातोपाटीलाई बताए ।
गुपचुप रुपमा थाइल्याण्ड गएका पूर्वराजा त्यहाँ एक साता बढी समय रहन सक्ने पूर्व युवराज्ञी हिमानी निकट स्रोतले जानकारी दियो ।
No comments: