मलेसियामा २० वर्षीय छोरालाई नेपालीले नै पेटमा छुरी रोपेर मार्यो -sarwajanik News
काठमाडौं, पुस १५ - पाल्पा झिरुबासका रेमानसिंह ढेगा मगरलाई कान्छो छोरा प्रेमलाई विदेश पठाउन पटक्कै मन थिएन ।
जेठो छोरा वैदेशिक रोजगारीमा संघर्ष गरिरहेको बेला भर्खर १८ वर्ष टेकेको कान्छोलाई विदेश पठाउनेबारे उनले सोचेका पनि थिएनन् । तर, उमेर पुगेर हातमा राहदानी पाउनासाथै छोराले विदेश गएर कमाउने रहर पाले ।
आखिरमा त्यही छोराको दुई वर्षपछि मृत्युको खबर सुन्नुपर्यो । ५० लागेको उमेरमा २० वर्षको रहरलाग्दो उमेरको छोरा गुमाउँदाको पीडा शब्दमा भन्न सक्दैनन् ।
विदेशमा मृत्यु हुनेका परिवारले पाउने क्षतिपूर्ति रकम लिन वैदेशिक रोजगार विभाग काठमाडौंमा धाइरहेका उनी छोरालाई बिदा गर्दाका ती दिन झलझली सम्झिन्छन्, ‘नजा भन्दाभन्दै लहैलहैमा लाग्दै कमाउँछु भनेर हिँड्यो । रोक्न पनि सकिएन । आखिरमा यो दिन देख्नुपर्यो ।’
उनले तीन महिनाअघि दशैंको बेला छोरा गुमाएका हुन् । तर, मन अझै थामिन सकेको छैन । आँखा भिजिरहन्छन् । छोरालाई किन त्यो बेला रोक्न सकिनछु भनेर थकथकी लागिरहन्छ ।
दशैंको दिन घरमा रमाइलो माहौलमा टीका लगाइदिँदै थिए । एकाएक त्यो माहौल शोकमा बदलियो । मलेसियाबाट फोन आयो अब कान्छो संसारमा रहेन । नेपालीले नै पेटमा छुरी रोपेर मार्यो ।’ खबर सुनाउने अरु कोही थिएनन्, उनका जेठा छोरा नै थिए । जो अहिले मलेसियामै छन् ।
पुत्रशोक खेपेका उनले त्यसपछि छोराको शव नेपाल ल्याउन थप हण्डर खेप्नुपर्यो । एक महिनाको प्रयासमा बल्ल शव आएपछि मनमा गाँठो पार्दै दाहसंसार गरेका थिए ।
काठको बाकसमा छोरा फर्किँदा रेमानलाई आफ्नो खुट्टा जमिनमै बिलाइजाला जस्तो महसुस भयो । उनले अक्मकाउँदै भने, ‘नसोचेकोे भयो । पैह्रो आएको जस्तै भयो ।’
साक्षर नभएका कारण उनलाई क्षतिपूर्ति रकमका लागि कागजात मिलाउन निकै सकस पर्यो । जेनतेन मिलाएर उनी चौथो पटक रोजगार विभाग आएका हुन् । पुसे जाडोमा उनको गोडामा जुत्ता छैनन् । शोकले रन्थनिएका उनलाई पातलो ज्याकेटले जाडो नथेगेको कुनै पत्तो छैन ।
चाहेर पनि पीडा लुकाउन गाह्रो छ । रसाएका आँखा पुछ्दै भन्छन्, ‘दुःख लुकाउन सकिन्न भन्थे । यो सहेर हिँड्न ज्यादै गाह्रो रहेछ ।’
उनी क्षतिपूर्ति रकम बुझ्न काठमाडौं धाएको चार पटक भयो । यो काममा उनलाई गाउँका कुशलसिंह ढेगा र खुमबहादुर ढेगाले साथ दिएका छन् । पाल्पाका सांसद राधाकृष्ण कँडेलले पनि सहयोग गरेका छन् ।
‘कागजात जुटाउने नाममा पटकपटक काठमाडौं आइसकेँ । तीन लाख रुपैयाँ पाइने रहेछ, आउजाउ गर्दा एक लाखभन्दा बढी खर्च भइसक्यो,’ रेमान भन्छन् ।
वैदेशिक रोजगारीमा जाने सपना सजाउनुअघि प्रेम घरकै काममा सघाउँथे । तर, विदेश जाने मोहमा परेपछि रेमानले छोरालाई ऋण लिएरै भए पनि मलेसिया उडाएका थिए ।
छोरा विदेश पठाउँदाको दुई लाख रुपैयाँसहित अहिले करिब पाँच लाख रुपैयाँ ऋण उनको टाउकोमा छ । जसको सयकडा तीन रुपैयाँ वार्षिक ३६ प्रतिशत ब्याज तिर्नुपर्छ । मलेसियामै रहेका जेठो छोराले पनि खासै कमाउन नसक्दा ऋणको बोझले रेमानलाई गलाएको छ ।
क्षतिपूर्ति रकम पाएमा कान्छालाई विदेश पठाउँदा लागेको ऋण फच्चे गर्न सकिन्थ्यो भन्ने उनको सोच छ । तर, कागजी प्रक्रिया पूरा नहुँदा र खर्च बढिरहँदा उनी चिन्तित पनि छन् ।
दुई छोरा र एक छोरीका पिता उनलाई एउटा छोरा गुमाउँदा एउटा हात भाँचिए जस्तै भएको छ । जेठो छोरा मलेसियामै बसेको चित्त बुझेको छैन । ‘जे जस्तो होस्, जेठो पनि आफ्नै गाउँ फर्किदिए हुन्थ्यो’ रेमानको चाहना छ, ‘दुःख सुख यहीँ गरेर खाँदा राम्रो हुन्थ्यो ।’
गाउँमा उनको पाखोबारी छ, जहाँ अम्लिसोको खेती राम्रै हुन्छ । तर, बारी धेरै नभएकोले गाह्रो छ । तर पनि सन्तानलाई आँखै अगाडि राखेर दुःख सुख बाँच्न पाए हुन्थ्यो भन्ने उनको धोको छ । उनी कामना गर्छन्, ‘हाम्रो परिवारमाथि जे बज्र पर्यो, अरुलाई नपरोस् ।’ शब्द तस्विर, अनलाइनखबरबाट
No comments: