फलामको मूल्य एकतिहाइले घट्न सक्ने
क्यानबेरा: फलामको मूल्य सन् २०१६ मा उकालो लागेकामा हाल आएर एकतिहाइले ओरालो लाग्न सक्ने देखिएको छ । गत वर्ष यसको मूल्यमा दोब्बरले वृद्धि भएको थियो ।
हाल एक मेट्रिक टन फलामको मूल्य ८० अमेरिकी डलर हाराहारी छ । चीनको मागमा वृद्धिका कारण फलामको मूल्य उकालो लागेको थियो । “फलामको मूल्यवृद्धिमा आधारभूत तत्व र बढाइचढाइ गरी गरिएको कारोबारको प्रभाव रहेको छ । तर, हाल आएर भने फलामको मूल्य अझै ओरालो लाग्ने देखिएको छ,” अस्ट्रेलियाको उद्योग विभागको प्रतिवेदनमा भनिएको छ ।
सन् २०१६ भरिको अवधिमा चिनियाँ बन्दरगाहको मौज्दात बढे पनि मूल्य उकालो लागेको विभागले जनाएको छ । डिसेम्बरमा चीनको बन्दरगाहको मूल्य १० करोड टन पुगेको थियो । यो मूल्य २ वर्षकै उच्च हो ।
यो वर्ष फलामको मूल्य प्रतिटन ५१.६० डलर हाराहारी रहने र सन् २०१८ मा ४६.७० डलर रहने विभागले जनाएको छ । अस्ट्रलियाको फलाम निर्यात आर्थिक वर्ष २०१६–१७ मा ८३ करोड २२ लाख छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले कम हो ।
No comments: