विपद पनि अवसर र विकास बन्न सक्छ
भनिन्छ खुशीको महत्व दुःख भोगेकाले बुझ्छन्, पानीको महत्व खडेरीमा खड्किन्छ र केही बन्नु पहिले बिग्रन जरुरी हुन्छ । झट्ट सुन्दा फगत सिद्धान्त लाग्ने यी कुराको तात्पर्य माघ २ गतेदेखि ११ गतेसम्म राजधानी टोक्यो लगाएत जापानका केही ठाउँको भ्रमणपछि मलाई अझै बढी महत्वपूर्ण लाग्यो । जापान सरकारको निमन्त्रणामा कलेजबाट १९ जनाको समूह माघ २ गते जापान भ्रमणमा निस्कियौँ । हामीमध्ये धेरैका लागि यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण थियो । त्यसैले पनि उत्सुकता बढी हुनु स्वभाविकै हो ।
जापान र नेपाल दुबै प्रकोपको खतरा भएका देश हुन् । जापानलाई त अझै सबैभन्दा धेरै भूकम्प जाने देशका रुपमा पनि चिनिन्छ । भूकम्प मात्र हैन टापु नै टापुको देश भएकाले जापानमा सुनामीको खतरा पनि उत्तिकै छ र पटकपटक यसको सिकार पनि हुने गरेको छ ।
सन् २०११ मार्च ११ तारिखमा जापानमा ९ म्याग्निच्युडको भुकम्प गएको थियो र जसले ३८ मिटर सम्मको सुनामी निम्त्याएको थियो । जापान सरकारका अनुसार झण्डै तीन सय नौ बिलियन अमेरिकी डलर बराबरको क्षति गरेको त्यो भूकम्प र सुनामी जापानको अहिलेसम्मकै ठूलो प्राकृतिक प्रकोप हो । सुन्दा भयानक लागेपनि यति ठूलो क्षतिबाट जापान उठीसकेको छ । अहिले त्यो सुनामीग्रस्त कोस्टल क्षेत्रलाई आवास निषेध क्षेत्र घोषणा गरिएको छ । यी प्रकोपबाट विस्थापितका लागि सामुदायिक आवास निर्माण गरिएको छ जहाँ समय समयमा एक अर्कासँग घुलमिल हुने अवसर मिलोस् भनेर साँस्कृतिक कार्यक्रम आयोजना पनि गरिन्छ ।
जापान सरकारले विपद्ग्रस्त क्षेत्रमा विपद पश्चात तत्काल अस्थायी आवास निर्माण गरेको थियो जहाँ प्रभावित निःशूल्क बस्न पाउँथे । विस्तारै स्थायी सामुदायीक भवन निर्माण गरियो जहाँ प्रभावित थोरै भाडादर तिरेर बस्न सक्थे । यति मात्र होइन, जमिन भएका र आफ्नो निजि निवास बनाउन चाहनेलाई बढीमा २० हजार अमेरिकी डलरसम्म रकम उपलब्ध गराउने प्रावधान पनि गरिएको थियो ।
सुनामी र भूकम्पबाट भत्केका धरोहरको भग्नावशेष थुपारेर म्यागी प्रिफेक्चरको एक स्थानमा एउटा पहाड निर्माण गरिएको छ, जहाँ वृक्षारोपण गरेरसुन्दर पार्क बनाउने तयारी हुँदैछ । यसबाट भग्नावशेष व्यवस्थापनको गतिलो पाठ सिक्न सकिन्छ । सुनियोजित निती र त्यसको चुस्त दुरुस्त कार्यान्वयनका कारण जापान अहिले फेरि आफूलाई सुरक्षित सहरको रुपमा चिनाउनदै सन् २०२०मा ओलम्पिक आयोजनाको तयारीमा जुटेको रहेछ ।
यति मात्र होईन, भविष्यमा आउन सक्ने भुकम्प र त्यसले गर्ने क्षतिको लेखाजोखा गरी के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा पनि जापान सरकार तयार देखिन्छ । यसबाट उनीहरुको दुरदर्शिता र सावधानीको स्तर अनुमान गर्न सकिन्छ । भविष्यमा आउनसक्ने प्रकोपको क्षति कम गर्न जापान अहिले प्रकोप प्रतिरोधात्मक भवन निर्माणमा जोड दिदै जनचेतनाको काममा पनि अग्रसर छ ।
विश्वकै विकसीत देशमध्येको एक जापानले प्रविधिमा जति नै फड्को मारेपनि आफ्नो कला र सँस्कृति जगेर्नामा कुनै कमि आउन दिएको छैन । आफू झुकेर जापानले अहिले विश्वलाई नै आफूतिर झुकाईरहेको छ, हामी भने कहिलेसम्म फोस्रो नारा लगाईरहने ? जापान सिष्टमले चलेको छ, हाम्रोमा मान्छेले सिस्टम चलाउँछन्, हामी यस्तै व्यवहारले चुकिरहेका छौँ भन्ने कुरा मैले जापान र त्यहाँको अवस्था देखेपछि थाहा पाएँ ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले थिलथिलो भएको नेपालले जापानबाट सिक्नुपर्ने धेरै कुरा रहेछन् । हाम्रो क्षमता र भुगोल अनुसार अझै सुन्दर र सुरक्षित संरचना बनाएर हामी पनि विश्वमाझ एक नमुना देश बन्न सक्छौँ । टहरामा कठ्याङ्ग्रीएर जीवन गुजारिरहेकाहरुको लागि सरकारले सामुदायिक भवन निर्माण गर्न सकेमा केहि हदसम्म पिडितले राहत पाउने थिए । अब बन्ने आवासका लागि बिल्डिङ कोड बनाएर प्रकोप प्रतिरोधी व्यवस्थित समुदाय निर्माण गर्न सकिने थियो । हामीसँग भएका नीति तथा योजनाहरुलाई ढिलासुस्ती नगरी कार्यान्वयन गर्ने हो भने अबको केही वर्षमै हामी सुन्दर र सुरक्षित नेपाल बनाउन सक्षम हुने थियौँ र त्यसपछि युवा वर्गलाई उद्योग तथा व्यवासयमा उत्प्रेरित गरि स्वदेशमै रोजगारीको अवसर दिलाउन सकिने थियो ।
विपद व्यवस्थापन अर्थात क्राइसिस म्यानेजमेन्ट विषयको विद्यार्थीका रुपमा यो जापान भ्रमणले मलाई विकासका लागि प्रविधि भन्दापनि इच्छाशक्ति, सहकार्य र सुनियोजित योजना हुन आवश्यक रहेछ अनि यसका लागि माथिल्लो तहबाटै प्रभावकारी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने रहेछ भन्ने सिकाएको छ ।
जापान नेपाल धेरै गुणा सानो भएरपनि यति धेरै प्राकृतिक श्रोत र सम्भावना भएको नेपाल विश्वकै विकसित र ब्यवस्थित देश बन्न धेरै समय पक्कै पनि लाग्दैन । विकास भनेको अग्ला भवन र चिल्लो सडक मात्र होइन, भातृत्व र सँस्कृतिको जगेर्ना पनि हो । जापानले प्रविधिको विकाससँगै कला र सँस्कृतिलाई पनि उत्तिकै महत्वका साथ बचाएर राखेको रहेछ । हाम्रोमा भने हाम्रो भन्ने नै केही नरहने हो की भन्ने डर भइसक्यो ।
प्रकोप प्रकोप मात्र नभएर सुन्दर संरचना निर्माणको अवसर पनि हो । जसको एउटा उदाहरण जापान हो । अब हामीले पनि गएको वर्षको भूकम्पलाई सुन्दर र सुरक्षित संरचना निर्माणको अवसरका रुपमा लिएर त्यही अनुरुप सुनियोजित ढंगले सुरक्षित बस्ती निर्माणमा अग्रसर हुन जरुरी छ ।
विपद पनि अवसर र विकास बन्न सक्छ
Reviewed by a
on
8:17 PM
Rating:
No comments: