पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन जोडदार माग, प्रधानमन्त्रीलाई चौतर्फी दब -
काठमाडौं, २६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा भोलि पुस २७ गते विदा दिन सरकारसँग माग गरेका छन् ।मंगलबारको संसद बैठकको शून्य समयमा प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक पृथ्वीजयन्तीमा विदाको माग गरेपछि सत्ता बाहिरकाले मात्रै होइन सत्ता पक्षका नेताहरुले पनि ताली बजाए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रकाश ज्वालाले राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने आवाज उठाए ।
एमाले सांसद ज्वालाले राष्ट्र निर्मातालाई सम्झनु राज्यको कर्तव्य भएको भन्दै विदा दिएर सम्मान गर्नुपर्ने प्रस्ताव संसदमा अघि सार्दा सत्तापक्ष र प्रतिपक्षीका अधिकांश सांसदले समर्थन गरेर बेञ्चमा ढ्याप ढ्याप पारेका थिए ।
‘पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाली जनताले आधुनिक नेपालको एकीकरण गरेका हुन्’ उनले भने– ‘पृथ्वी राजामात्रै थिएनन् उनी राज्य निर्माता हुन्, त्यसैले सरकारले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्छ ।’ अन्य दलका नेताहरुले पनि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने माग जोडदारमा साथ गरे ।
आजै (मंगलबार) राप्रपाका भातृ संगठनले पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिइनुपर्ने भन्दै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएका छन् । त्यस्तै, राप्रपाले बुधबार भृकुटी मण्डपमा पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रपतिद्धारा विदाका लागि सरकारको ध्यानाकर्षण
सोमबार नै राष्ट्रपति विद्यादेबी भण्डारीले पनि अखण्ड नेपाल निर्माणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको प्रशंसा गर्दै सार्वजनिक विदाका लागि सरकारको ध्यानाकर्षण गराउने बताएकी थिइन् । राप्रपाका नेताहरुसंगको भेटमा उनले मुलुकको एकीकरण गरी विशाल नेपाल निर्माण गर्न पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले भुल्न नहुने भनाई राखेकी थिइन् । पृथ्वीनारायणले नेपालको एकिकरण नगरेको भए आफूपनि अहिले राष्ट्रपति हुन नसक्ने समेत उनले बताएकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पृथ्वीनारायणको प्रशंसा गरेका थिए । उनले पनि राष्ट्र नायक पृथ्वीनारायण शाहको योगदानलाई कसैले बिर्सन नहुने प्रतिक्रिया दिएका थिए ।
राप्रपा सांसदको पनि माग
संसदको सोमबारकै बैठकमा राप्रपा सांसद कुन्ती कुमारी शाहीले विदा दिन सरकारसँग माग गरेकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पूर्वमन्त्री रहेकी शाहीले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गर्दै संसदबाटै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
मन्त्रीबाटै प्रचण्डलाई दबाब
यसअघि मन्त्रिपरिषदको बैठकमा राप्रपाका मन्त्रीहरु र काँग्रेका शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव राखेका थिए । प्रस्तावमाथि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका थिए ।
यसरी हटाइएको थियो विदा
२०६२–६३ सालको जनआन्दोलन अघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । त्यसपछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको बिदा कटौती गरेको थियो ।तर, पछिल्लो समयमा फेरि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन चौतर्फी दबाब बढ्दै गएको छ । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो ।
No comments: