जहाँ कथा छैन, त्यसैलाई उत्कृष्ट कथा एवार्ड रे, कति हाँस्नु ?
वर्ष २०७३ मा कुनै सफल नेपालीको नाम खोज्ने हो भने दीपकराज गिरीको नाम पहिलो पंक्तिमा आउँछ । लोकप्रियताको कसीमा उनी ‘नम्बर एक’ कलाकारमै पर्छन् । उनको लगानीमा बनेको चलचित्र छक्का–पञ्जाले वर्षको मात्र होइन, दशककै सफल व्यवसायिक चलचित्रको उपाधि पाइसकेको छ ।
टेलिश्रृंखला ‘तीतो सत्य’ देखि नै राम्रो कथा–पटकथा र संवाद लेख्ने व्यक्तिका रूपमा पनि उनी सधैं माथि छन् । उनकै संगत पाएर पहिलो पटक ‘छक्का–पञ्जा’ बाट दीपाश्री निरौला सफल कलाकारपछि उत्कृष्ट महिला निर्देशकमा उक्लिएकी छिन् । पत्रकारिता र सामाजिक सञ्जालमा समेत सक्रिय दीपकराज गिरी यति हुँदाहुँदै पनि खुसी देखिँदैनन् ।
केही समययता उनले फेसबुकमा नेपाली चलचित्र एवार्डका विषयमा गरेका तीखा टिप्पणीले चर्चा पाइरहेका छन् । नेपाली चलचित्रमा वितरण गरिने एवार्डलाई उनले लगातार उछित्तो काडेको देखेपछि साप्ताहिकले यसपटक दीपकराज गिरीसँग उनकै असन्तुष्टिलाई आधार बनाएर लामो कुराकानी गरेको थियो ।
छक्का–पञ्जा वर्षकै हिट चलचित्रमा दरियो । तपाईंचाहिँ दु:खी किन ?
पहिले त म तपाईंको प्रश्न नै सच्याउँछु । ‘छक्का–पञ्जा’ वर्षको होइन, दशककै हिट चलचित्र हो । यसले बितेका एक दशकको सारा रेकर्ड तोडेको छ । नाफाको प्रतिशत, दर्शकले दिएको माया, मल्टिप्लेक्स, सिंगल थिएटर सबै हिसाबले यो ऐतिहासिक चलचित्र हो । यो चलचित्र ८ पटकसम्म हेर्नेको दर्शकसँग भेट्दा म आफैं छक्क परेको छु । १ सय २५ दिन भैसक्यो, अझै पनि केही सिनेमा घरमा यो चलचित्र चलिरहेको छ ।
नेपाली चलचित्रले धार परिवर्तन गरिरहेको छ । कलाकारहरूको इज्जत, आर्थिक स्तर एवं दर्शकसम्मको पहुँच अझ बढिरहेको छ, तर तपाईंचाहिँ किन दु:खी ?
पूर्णिमामा एउटा चन्द्रमा देखियो भन्दैमा आकाश सधैं उज्यालो हुँदैन । दीपा–दीपक, निश्चल बस्नेत, रामबाबु गुरुङ, दीपेन्द्र के खनाल, भुवन केसीजस्ता कलाकार–निर्देशकले बनाएको चलचित्र दुई दिनसम्म हाउसफुल हुन्छ भन्ने ग्यारेन्टी भयो । बाँकीको अवस्था के छ ? मेरो विचारमा चलचित्रको आकाश सधैं चम्किलो हुनुपर्छ । त्यसका लागि सबै कुरा ठीक हुनुपर्छ । चलचित्र एवार्डको हालत देख्नुभएको छ । सम्झदा पनि लाज लाग्छ । चलचित्र नबुझेकाहरू एवार्डको निर्णायक हुन्छन् अनि हामीले पुरस्कार समारोह नै बहिष्कार गर्नुपर्छ । त्यस्तो देख्दा–देख्दै कसरी खुसी हुन सकिन्छ ।
कतिपयले चलचित्रको सफलताले दीपक मात्तियोसमेत भन्न थालेका छन्, के भन्नुहुन्छ ?
म कलाकार मात्र होइन, पत्रकार पनि हुँ । रेडियोमा बोल्दा होस् कि सार्वजनिक समारोहमा मैले पहिलेदेखि नै यथार्थ कुरा बोल्दै आएको छु । सामाजिक सञ्जालमा प्रवेश गरेपछि यो अलि बाक्लो भएको हो । अहिले छक्का–पञ्जा हिट भएर यस्तो बोल्यो भन्ने अर्थ नलागोस् । गलत कुरालाई गलत नै भन्न सक्नुपर्छ ।
चलचित्र एवार्डलाई लगातार गाली गरिरहनुभएको छ, कारण के होला ?
यो वर्ष १० वटा जति एवार्ड सम्पन्न भए । ती एवार्ड वितरण गर्ने तरिका, तिनका निर्णायकहरूको स्तर, उनीहरूले दिएका निर्णय एवं कार्यक्रम गर्नुको स्वार्थ हेर्दा नबोली कसरी बस्न सकिन्छ ? तै चुप मै चुप गरेर नेपाली चलचित्रलाई बिग्रन दिनु ? कसैले त बोल्नै पर्छ । मैले सुरु गरेँ । त्यसमा अरू कलाकार तथा पत्रकारहरूले साथ दिन थाल्नुभयो ।
राष्ट्रिय चलचित्र एवार्ड भएको थियो, त्यसमै तपाईंको विरोध थियो, किन ?
वडा नम्बर ६ को गीत ‘सुर्के थैली खै ?’ अहिलेसम्म सबैभन्दा बढी मन पराइएको गीत थियो । यु ट्युबमा यसले एक करोड पल्ट हेरिएको रेकर्ड बनाएको छ । वडा नम्बर छले व्यवसाय पनि राम्रो गरेको हो । त्यसमाथि सरकारले बनाउनु पर्ने चलचित्र हामीले बनाएका थियौं । कारण यो राजनीतिका कारणले आएको समस्यामाथि बनेको चलचित्र थियो तर यो चलचित्र यस्ता फिल्म एवार्डमा नोमिनेसनमा समेत परेन । अनि विरोध नगर्नु त ?
तपार्इंंले मेरो चलचित्रलाई एवार्डमा समावेश नै नगर्नू भन्नुभयो रे नि त ?
एकजना निर्णायकले मलाई फोन गरेर ‘सुर्के थैलीलाई बेस्ट गीत दिने भयौं, के भन्नुहुन्छ’ भन्नुभयो । ए, दयामायाले पाउने हो एवार्ड ? सुन्दै लाजमर्दो । मैले नमस्ते गर्दै “हजुर जुन गीतलाई एक करोड दर्शकले वेस्ट एवार्ड दिइसके, तपाईंले दयामाया गर्नुपर्ने ?’ भनिदिएँ ।
सबै एवार्डले नछान्नुको केही कारण त होलानी ?
हरेक एवार्ड पहिलो एवार्डको फोटोकपी भए किन छुट्टा–छुट्टै तामझाम गर्नु ? कार्यक्रम नगरी, कालाकारलाई बोलाएर एवार्ड दिए भैहाल्यो नी । मेरो विचारमा हरेक व्यवस्थापनले एवार्ड वितरणमा फरक नियम बनाएका हुन्छन् । छान्ने तरिका फरक हुन्छ । हलिउड, बलिउड मात्र होइन, विश्वभरि नै चलचित्र एवार्डमा निर्णय गर्ने तरिका फरक–फरक छन् । कुनै एवार्डले कलापक्षलाई ध्यान दिन्छन्, कसैले व्यवसायलाई । कसैले लोकप्रियता र फरक शैलीलाई उठाउँछन् । हाम्रोमा त्यस्तो देखिएन ।
कुरा अलि बुझिएन ?
राष्ट्रिय चलचित्र एवार्डमा पशुपतिप्रसादले उत्कृष्ट चलचित्रको दर्जा पायो, त्यसपछि लगातार सबैजसो एवार्डमा त्यही चलचित्रलाई उत्कृष्ट चलचित्रको एवार्ड दिइयो तर निर्देशकले एवार्ड नपाउने, कथा–पटकथा, संवाद, अभिनय केहीले एवार्ड नपाउने तर उत्कृष्ट चलचित्रचाहिँ पशुपतिप्रसादले पाउने । यो एउटा उदाहरण मात्र हो । हामीलाई यस्ता कुरा मन नपरेका हुन् । कतिपय ठाउँमा त पशुपतिप्रसादका निर्देशकले पनि एवार्ड बहिष्कार गरेका छन् ।
तपाईंको दाबी छक्का–पञ्जा वर्षकै उत्कृष्ट चलचित्र हो भन्ने हो ?
मैले त्यसो भनेको छैन । छक्का–पञ्जा राम्रो नहुन सक्छ तर रमाइलो चलचित्र हो । कुनै एवार्डले राम्रो चलचित्रलाई पुरस्कृत गर्दा कुनै एवार्डले रमाइलो चलचित्रलाई एवार्ड दिँदा के बिग्रन्थ्यो ?
भनेपछि आफ्नो चलचित्रले एवार्ड पाएन भन्ने गुनासो रहेछ भन्ने बुझ्नुपर्यो ?
अरे यार उत्कृष्ट नहोला रे । हरेक जसो एवार्डमा उत्कृष्ट ५ मै नपर्ने चलचित्र पनि होइन नि । जुन चलचित्रले वर्षको हिट चलचित्रको उपाधि पायो, पैसा कमायो, दर्शकले रुचाए । त्यो चलचित्र नै उत्कृष्ट ५ मा नपर्नु बिडम्बना होइन ?
केही कमजोरी थिएन ?
थिए होलान्, तर सबैलाई थाहा छ, दीपकको चलचित्रको मुटु भनेको संवाद हो । हिजो रामबिलास धनियाँदेखि तीतो सत्यसम्म हाम्रा शब्द नेपाली जनमानसमा छाइरहे । हाम्रो लेखन उत्कृष्ट भैरह्यो । त्यो कुरा छ एकान ६ देखि वडा नम्बर ६ सम्म कायम थियो । अहिले छक्का–पञ्जाले पनि त्यही कुरा दोहोर्यायो । यति कुरा नबुझ्ने जुरी मेम्बर देख्दा तपाईंलाई कस्तो लाग्छ ?
कस्तो लाग्छ ?
यिनीहरू शिखण्डी हुन् । शिखण्डीहरूको प्रयोग त्यतिबेला गरिन्छ, जब कसैलाई हराउनु पर्ने हुन्छ । महाभारतमा भीष्मलाई हराउन शिखण्डीको प्रयोग गरियो, अहिले दीपकहरूलाई हराउन शिखण्डीको प्रयोग भएको हामीले महसुस गरेका छौं ।
सबै एवार्डमा त्यस्तो भयो ?
हो सबै एवार्डमा । जुरी मेम्बरको छनौट र ती संस्थाले वितरण गरेको शैलीबाटै त्यो महसुस हुन्छ । राष्ट्रिय कलाकार संघको एवार्ड, डि सिने एवार्ड, टेलिफिल्म एवार्ड, सिजी एवार्ड, सिक्किम एवार्ड, कामना एवार्ड, नेफ्टा एवार्ड सबै त्यही रोगले ग्रस्त छन् । उत्कृष्ट चलचित्र बन्न के–के राम्रो हुनुपर्छ भन्ने थाहा नपाएर, निर्देशकलाई दिनुपर्ने एवार्ड कलाकारलाई दिने र कलाकारलाई दिनुपर्ने एवार्ड चलचित्रलाई दिँदा हामीलाई हाँसो उठ्छ । कतिसम्म भने कामना एवार्ड बितरण गर्दा गर्दै हल नै खाली भएको थियो । न एवार्ड लिने मान्छे थिए न एवार्ड दिने मान्छे । अब सोच्नुहोस्, यी एवार्डहरू कति लोकप्रिय छन् ?
तपाईं आफ्ना गुरु दिनेश डिसीले संयोजन गर्नुभएको सिजी एवार्ड समारोहमा जानु भएन किन ?
बोलाएको भए पो जानु ? जबरजस्ती जानु ? अनि त्यो सिजी एवार्ड त वास्तवमा एवार्ड नै होइन । त्यसका विधाहरू सुन्दै हाँसउठ्दा थिए । उत्कृष्ट पोस्टरको उपाधि दिने भनेपछि मैले त्यसको आलोचना गरेँ । त्यसपछि हामीलाई बोलाइएन । हामीले त्यसलाई पोस्टर एवार्डको नाम दियौं । कुन पोस्टरलाई राम्रो भन्ने ? चलचित्रको विषयवस्तुअनुसार सबैले पोस्टर बनाउँछन् । त्यसलाई तपाईं कसरी जज गर्नुहुन्छ । मैले गुरुको विरोध गरेको होइन, एवार्डलाई सस्तो बनाएका कारणले विरोध गरेको हो ।
जुरीप्रति पनि तपाईं साह्रै नमज्जाले खनिनुभएको देखिन्छ, किन ?
त्यो त एवार्ड समाप्त भएपछि जुरीको अनुहार हेर्दा नै थाहा हुन्छ । जसलाई उनीहरूले उत्कृष्ट चलचित्र घोषणा गर्छन्, उसले एवार्ड लिइदिँदैन । जहाँ कथा हुँदैन, त्यो चलचित्रलाई उत्कृष्ट कथाको एवार्ड प्रदान गरिन्छ । भागबन्डा लगाउँदा मुर्कुटा जस्ता हुन्छन्, एवार्डहरू ।
एवार्ड नपाउँदा विरोध गर्न मिल्छ ?
मैले अरूको चलचित्रमा कसरी बोल्न सक्छु । सबैले आफ्नो चलचित्रलाई हेरेर कुरा गर्ने हो । उत्कृष्ट गीतमा सुर्के थैली खैलाई दिइएन, ठिकै छ । तर पारी त्यो डाँडामा घाम लाग्यो घमाइलोलाई किन दिइएन ? पशुपतिप्रसादमा चलचित्र उत्कृष्ट होइन, नायक खगेन्द्र लामिछाने उत्कृष्ट हुन् तर उनलाई एवार्ड दिइएन । किन ? किनभने उनी एवार्डमा विश्वास राख्दैनन् । यस्ता कुरा सबैले भनेका छन् । मेरो आवाज अलि चर्को सुनिएको मात्र हो ।
छक्का–पञ्जा हिट भयो । यो चलचित्रले पनि एवार्ड नपाउने हो कि भनेर विरोध सुरु गर्नुभएको हो कि ?
म एउटा कुरा स्पष्ट भन्छु– भोलि छक्का–पञ्जाले कुनै एवार्ड पाएन भने तपाईंले आश्चर्य नमाने हुन्छ । म मेन्टली तयार भएर बसेको छु । निर्णयक तिनै हुन्, समाज यही हो । पाए पनि यसले विरोध गर्छ, नपाए पनि विरोध गर्छ, यसलाई किन दिने भन्ने होला । यहाँ न्यायका आधारमा होइन, अनुहारका आधारमा निर्णय गरिन्छ । मैले छक्का–पञ्जाले एवार्ड नपाउला भनेर पटक्कै पीर गरेको छैन किनभने दर्शकले नै मलाई अकल्पनीय एवार्ड दिइसक्नु भएको छ ।
No comments: