Top Ad unit 728 × 90

a
Ad Inside Post

शुक्रबारबाट नयाँ संवत्सर, विश्वलाई राम्रो फल मिल्ने

चैत्र २५, २०७२- चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ । सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

'चैत्र शुक्ल प्रतिपदा वत्सरारम्भ' भनी शास्त्रमा लेखिएको छ, ६० वटा संवत्सर प्रत्येक वर्ष बदलिरहन्छन्, नव वर्षको शुभारम्भका दिन स्नान गरी तेल लगाएर निमको पात सेवन गर्नाले वर्षभर आरोग्यता प्राप्त हुने विश्वास छ,' उनले भने । विसं २०७२ को अन्तसम्म कीलक नामको संवत्सर परेकाले नेपालमा भूकम्प, भारतको अघोषित नाकाबन्दी, बाढीपहिरोजस्ता नकारात्मक घटना भएकाले सौम्य नामको संवत्सर सुरु भएपछि राम्रो फल प्राप्त हुने समितिको भनाइ छ ।


वैदिक शास्त्रीय ग्रन्थमा संवत्सरको फल उल्लेख गर्दा कीलकको नकारात्मक र सौम्यको सकारात्मक फल बताइएको छ । चैत्र शुक्ल प्रतिपदादेखि चैत्र कृष्ण औँसीसम्म गरिने धार्मिक कर्ममा सङ्कल्प गर्दा यस वर्ष सौम्य नामको संवत्सर उच्चारण गरिन्छ । संवत्सर परिवर्तन हुने चैत्र शुक्ल प्रतिपदाका दिन शक संवत्सर पनि परिवर्तन हुन्छ । जसअनुसार शुक्रबारबाट शक संवत् १९३८ लाग्नेछ । जसलाई समितिले स्वीकृति दिएका पञ्चाङ्गमा श्रीशाके भनी लेखिएको हुन्छ ।


चैत्र शुक्ल प्रतिपदाका दिन जे बार पर्छ विसंको नयाँ वर्षभर ग्रहगोचरीय मन्त्रिपरिषद्अनुसार त्यही राजा हुने शास्त्रीय व्यवस्था रहेको पनि अध्यक्ष प्राडा गौतमले बताए । 'यसैअनुसार नववर्ष विसं २०७३ को राजा शुक्र भएको हो, वैशाख १ गते जे बार पर्छ वर्षभर त्यही मन्त्री हुने विधानअनुसार २०७३ सालमा बुध मन्त्री भएको हो, यसलाई पात्रोमा राजा शुक्र र मन्त्री बुध भनी लेखिएको छ,' उनले भने ।


नववर्ष विसं २०७३ मा शुक्र र बुधको संयोग परेकाले पनि राम्रो फल मिल्ने समितिको विश्वास छ । यी ग्रह आपसमा मित्र ग्रह हुन् । यसकारणले पनि विश्वमा धेरै नराम्रा घटना नहुने समितिको विश्वास छ ।
विसं २०७२ मा शनि राजा र मङ्गल मन्त्री थिए । यी दुवै आपसमा शत्रु ग्रह हुन् । यसैले पृथ्वीमा नराम्रा घटना भएका हुन् । यो फल नेपाललाई मात्र नभई विश्वकै लागि हुनेछ । ग्रह गोचरले नै विश्वलाई सञ्चालन गर्ने शास्त्रीय मान्यता छ ।

शुक्रबारबाट नयाँ संवत्सर, विश्वलाई राम्रो फल मिल्ने Reviewed by a on 8:19 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.