भारतका प्रधानमन्त्री मोदीको अफिसबाट नेपालका व्यापारीलाई धम्की (कल डिटेलसहित)
काठमाडौं १३ भदौ | हिजो आइतबार बिहान ९ बजे नेपालका एक व्यापारीको मोबाइलमा भारतीय नम्बरबाट फोन आयो । फोनको एप ‘ट्रु कलरले’ त्यो नम्बर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय देखायो ।
उताबाट बोल्नेले पनि प्रधानमन्त्री कार्यालयबाटै फोन गरेको बताए । उनले रवाफिलो स्वरमा काठमाडौं दरबारमार्गको विवादित जग्गा तुरुन्त मिलाउन निर्देशन दिए । वार्ता शुद्ध हिन्दी भाषामा भएको थियो । उताबाट दुई दिनभित्र दरबारमार्गको जग्गा कुनै अर्को व्यापारीको नाममा नामसारी गरिदिन दबाब दिइयो । यद्यपि उनले नाम भने तोकेनन् ।
करिब ३ मिनेटपछि वार्ता टुंगियो । दोस्रो पटक फेरि ९ः२२ मा फोन आयो । यसपटक पनि त्यही निर्देशन आयो । यो कुराकानी करिब २ मिनेटसम्म चल्यो ।
ती व्यापारीका अनुसार भारतीय प्रधानमन्त्री कार्यालयबाट यसअघि पनि यही विषयलाई लिएर फोन आएको थियो । यही विषयमा पहिले पनि आफूलाई धम्की आएको र एकपटक नेपालको सुरक्षा निकाय नै लगाएर ४–५ घण्टा हिरासतमा राखेको उनले भारतीय अधिकारीलाई सुनाए ।
फोनवार्तापछि बाह्रखरीसँग कुरा गर्दै ती व्यापारीले भने, “दोस्रोपटकको फोनमा म अलि रिसाएर बोलें । फोन गरेर धम्काएकै भरमा करोडौंको सम्पत्ति कसरी दिन सक्छु ? भनें । अझ एक वर्षअघि पनि तिमीहरूले मलाई पुलिस लगाएर अपहरण गरेका थियौ भनें । भारतीय प्रधानमन्त्री कार्यालयको फोन पक्कै पनि रेकर्ड हुन्छ भन्ने सोचेर मैले पहिलेको अन्यायबारे जानेरै उल्लेख गरेको हुँ । त्यसपछि ती अधिकारीले केही नबोली फोन राखिदिए ।”
No comments: