Top Ad unit 728 × 90

a
Ad Inside Post

मन्त्रीसँग रोए काभ्रे दुर्घटनाका मृतक परिवार

भदौ १३। बनेपा: साउन ३१ गते २७ जनाको ज्यान जाने गरी काभ्रेको बिर्तादेउराली गाविसमा भएको बस दुर्घटनामा परेका मृतकका परिवार मन्त्रीसामु भक्कानिएर रोएका छन् । १३ औं दिनको पुण्य तिथिमा परिवारप्रति संवेदना प्रकट गर्न मृतका घरमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसमक्ष पीडा सुनाउँदै पीडितहरू भक्कानिएका थिए ।
आफ्ना पीडा र गुनासा पोख्न टन्टलापुर घाममा घन्टौंसम्म मन्त्री कुरिरहेका दुई दजर्न मृतकका परिवारले गहभरि आँसु बगाउँदै भने, 'मन्त्रीज्यू हाम्रोजस्तो दुःख र पीडा अब अरूलाई नपरोस् । यातायात र बाटोको कारण कसैको अकालमा ज्यान नजाओस् ।' मृतकका पवरिवारले मन्त्री, सासंद र स्थानीय दलका नेताहरूसमक्ष भने, 'खराब बाटो र यातायात व्यवसायीको दादागिरीले हाम्रो खुसी लुटियो । हामी अनाथ, टुहुरा र अविभावकविहीन हुनुको प्रमुख कारण बाटोको खराबी र यातायातको दादागिरी हो ।'
कात्तिकेदेउराली गाविस ७ कि बबिता बर्देवाले भनिन्, 'मन्त्रीज्यू दुर्घटनमा मैले बाबु मात्र होइन परिवारको भविष्यसमेत गुमाएको छु । म र मेरा साना ३ जना भाइबहीनी पढ्दै छौं । दुईजना आमा हुनुहुन्छ, कसरी बाच्ने हामी ? अब हाम्रो भविष्य के होला ? यसको जिम्मा कसले लिने सरकारले कि यातायात व्यवसायीले ? घरपरिवार र हाम्रो लालनपालन गर्ने बुबा बित्नुभयो । परिवारको बिचल्ली भयो । यातायात समितिको लापरबाहीले आज हाम्रो परिवारको भविष्य अन्योलमा पर्यो ।'
मन्त्री लेखकले भने, 'तपाईंहरू अब चिन्ता नगर्नुहोस् । बाटो बनाउन म पहल गर्छु । यातायात व्यवस्थापन र रुट परमिटका लागि स्थानीय राजनीतीक दल र सीडीओलाई अधिकार दिएको छु । अब चाँडै नै समस्याको समधान हुन्छ ।'
कोसीपारिका बिर्तादेउराली, कात्तिकेदउराली, मादनकुँडारी र गोठपानी गासिका दुई दर्जन मृतकका परिवार र आफन्तले मन्त्रीलाई सिन्डिकेट खारेज, सडकको मर्मत सुधार, थोत्रा बस बन्द र आवश्यकताअनुसार बस थप्दै यातायात व्यवसायीको एकलौटी दादागिरी तत्काल अन्त्य गर्न माग गरेका थिए ।
दुर्घटनाबाट मृत्यु हुनेहरूको सम्झनामा कोसीपारीको कात्तिकेदेउरालीमा भएको शोकसभामा भौतिक योजना तथा यातायात मन्त्री लेखक, नेपाली कांग्रेसका काभ्रे सभापति मधुप्रसाद आचार्य, एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवा, माओवादी केन्द्र काभ्रेका अध्यक्ष दिनानाथ गौतम र काभ्रे क्षेत्र नम्बर १ का सांसद तीर्थ लामाले कोसीपारि क्षेत्रको यातायात समस्या तत्काल समधान गर्ने बताएका थिए ।
ऋण गरेर काजकिरिया
काभ्रेको बिर्तादेउराली गाविसमा बस दुर्घटनामा परी ज्यान गुमाएका २७ जनाका आफन्त र परिवारले समयमै उचित क्षतिपूर्ति नपाउँदा ऋण गरेर किरिया खर्च टारेको बताएका छन् । दुर्घटनामा बाबु औलतसिंह र आमा माइली गुमाएका मादनकुडारी २ का नोपु तामाङले भने, '१३ औं दिनको काम ऋण खोजेर गरें । अहिलेसम्म कुनै राहत पाएको छैन । क्षतिपूर्ति दिने भनेका छन् तर कहिलेसम्म दिन हो थाहा छैन । हामीजस्तो नपढेका र विकट ठाउमा बसेकालाई कागजी प्रक्रिया केही थाहा छैन । प्रशासनिक काम र कागजपत्र लिएर कति हिँड्नु ? '
रुट परमिट अब प्रजिअबाट
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अञ्चल र विभागबाट दिँदै आएको रुट परमिट अब सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट दिने व्यवस्था मिलाएको बताएका छन् । 'अब सम्बन्धित जिल्लाका सीडीओले बाटोको अवस्था, यातायातको आवश्यता र रुटको पहिचान गरी रुट परमिट दिन सक्ने अधिकार प्रत्यायोजन गरेका छौं ।' उनले भने, 'अब अञ्चल यातायात कार्यलय, विभाग, मन्त्रालय धाउनु पर्दैन । सम्पूर्ण झमेलाको अन्त्य गरेका छौं ।' रुट परमिट नभएका कारण दुई साताअधिदेखि ग्रामीण भेगमा यातायात बन्द छ ।
जिल्लामा ४१ वटा ग्रामीण कच्ची सडकका लागि रुट परमिटका लागि सिफारिस गरिएको प्रमुख जिल्ल अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए । यातायात व्यवस्थाप विभागले कच्ची ग्रामीण सडकामा रुट परमिट नभएको भन्दै दुई सातादेखि यातायात बन्द गर्दा दुर्गम र विकट ग्रामीण भेगका यात्रु समस्यामा परेका छन् । जिल्लाका कुल १७ सय ३७ किलोमिटर सडकमध्ये २ सय १५ किलोमिटर मात्र कालोपत्र गरिएको छ भने १५ सयभन्दा बढी धुले सडक रहेका छन् ।आजको अन्नपूर्ण पोस्टमा समाचार छ।

मन्त्रीसँग रोए काभ्रे दुर्घटनाका मृतक परिवार Reviewed by a on 8:55 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.