Top Ad unit 728 × 90

a
Ad Inside Post

स्वस्थानी व्रतकथा, भाग – ८ (सतीदेवीको शव बोकी महादेवको पृथ्वीभ्रमण)


    ☌
स्वस्थानी व्रतकथा, भाग – ८ (सतीदेवीको शव बोकी महादेवको पृथ्वीभ्रमण)
श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।
कुमारजी आज्ञा गर्नुहुन्छ – हे ! अगस्त्य मुनि, विष्णु अन्तर्ध्यान हुनुभई हराएपछि त्यहाँ बाँकी रहेका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य र नागहरु हाहाकार गर्दै ‘अब पक्का पनि दक्ष प्रजापतिको प्राण जाने भयो, नारायणजस्ताको सुदर्शन चक्र पनि मिथ्या भयो भने अब हाम्रो जित हुन सक्दैन, किनभने जुन चक्रको सामु महादेवलार्इ नै टिक्न कठीन पर्थ्यो, आज उनै सुदर्शन चक्रका मालिक पनि युद्धभूमिबाट डराई अन्तर्ध्यान हुनुभयो भने हाम्रो पराक्रमले ता के चाहिँ गर्न सकिएला र ? अब आआफ्नो प्राण बचाउनु बाहेक अरु उपाय छैन’ भन्दै दशै दिशातिर भाग्दै यी कुराहरु एकआसपासमा भन्न थाले ।
नारायणसहित देवता यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अष्टदिक्पाल समेत आआफ्नो प्राण बचाउन भागेको देखी कालको रुप झैं नै देखिएका वीरभद्रले रिसले यत्ति लामो जिभ्रो काढी, नागले झैं निःश्वास गरी सुस्केरा हाली, वर्षाकालको मेघ गर्जे झैं गर्जी जाई लागेर दक्षको टुप्पी समाती भूइँमा पछारी ‘हे पापी दक्ष ! तँजस्तो दुष्ट र पापी कोही छैन, किनभने तैंले महादेवको धेरै निन्दा गरिस्, अनि आफ्नी छोरी पनि मारिस्, सकल देवताहरु मेरा ज्वाइँ हुन्, त्यो देख्दामा पनि विरुप घिनलाग्दो बौलाहा महादेवलाई नडाके के हुन्छ ? भन्दै त्रिभूवनका पतिको निन्दा गरिथिस्, लौ अब यसबेला तेरा ज्वाइँहरु कहाँ गए ? आफ्नो रक्षाका निम्ति गुहार माग, अब तेरो प्राण र तेरा यज्ञको पूर्णहुति विनाशङ्करले नै होस्, तँलाई पनि यसै यज्ञमा नहोमिदिए हामीलाई सन्तोष हुनेछैन’ भनी दक्ष प्रजापतिको शिर छुट्याएर यज्ञकुण्डमा होमिदिए ।वीरभद्रद्वारा जब यसप्रकार दुष्टलाई दण्ड दिइएथ्यो, यो देखेर महाकाली, चतुःषष्ठी योगिनी, नन्दी, भृङ्गी, पार्थगण, विषमज्वर, भूत, प्रेत, पिशाच आदिले एकै स्वरमा ‘धन्य धन्य वीरभद्र ! धन्य धन्य शिवशक्ति ! शिवको निन्दा गर्ने जिभ्रो र मुख भएको दुष्टको टाउको नै नाश गरिदिनुभयो’ भनी जयजयकार गर्दा भए ।
तहाँ उप्रान्त दक्षपत्नी विरणीले आफ्ना पतिको शिर छुट्याई वीरभद्रले यज्ञकुण्डमा होमेको देखी हुरीबतासले केराको थाम भुइँमा ढले झैं आफू पनि भुइँमा लडी मूर्च्छा परिन् । धेरैबेरपछि होश आयो र नाना शोक एवं विलाप गर्न लागिन् । ‘हे नाथ ! हे स्वामी ! मलाई यो अवस्थामा पारी अनाथ तुल्याई तपाईं कहाँ जानुभयो ? हामीद्वारा गरिने अश्वमेध यज्ञमा जगदीश्वर महादेवको आवाहन नहुँदा यस्तो भएको हो । हे स्वामी ! वहाँलार्इ नडाक्नु तपाईंले नजानेकोले अनि अहङ्कार अज्ञानले छोपिएका मूर्ख बुद्धिले शिवजीको निन्दा गरेकोले तपाईंको आज यो गति भयो । हे स्वामी ! तपाईं प्राणविहीन हुनुभयो । मेरो पनि यो अवस्था भयो ।’ भनी नाना तरहका आलापविलाप गरी विरणीले महावीर वीरभद्रका सामु गई बिन्ती गरिन् । फेरि विरणीले वीरभद्रलाई विन्ती गर्दै भन्न लागिन् – ‘हे वीरभद्र ! हे ईश्वर ! मेरा पति अत्यन्तै अज्ञानी हुन् । अहङ्कारी पनि हुन् । त्यस्ता अज्ञानी मूर्खलाई नाश गरिदिँदा तपाईंको के बढाईं होला ? हे प्रभु ! मलाई विधवा नतुल्याउनुस् । मेरा स्वामी दक्ष प्रजापतिलाई जीवनदान दिई मेरो उद्धार गर्नुहोस् । हे वीर ! आफैले सृष्टि गर्नुभएकामा आफैले संहार गर्नु योग्य होइन । हे ईश्वर ! तपाईं कस्ता हुनुहुन्छ भने सृष्टि, स्थिति, संहारकर्ता महारुद्र र महादेव पनि तपाईं ! आदि, अनादि, ब्रह्मा, विष्णु र शिव पनि तपाईं नै हुनुहुन्छ । हे भक्तवत्सल ! मेरा पतिबाट भएका सम्पूर्ण अपराधलाई क्षमा गरी ब्युँझाइदिनुहोस् । हे शिव ! ममाथि दया होस् ।’
यस प्रकारले विरणीले गरेको करुणक्रन्दन र आर्तपुकारलाई देवताहरुले सुनी आकाशबाट पुष्पवृष्टि गरे र ‘हे वीरभद्र ! दक्ष प्रजापतिलाई ब्युँझाई ती विरणीको मन सन्तोष गराइदिनुहोस्’ भनी बिन्ती गरे । इन्द्रादि देवताको निवेदन र विरणीले अति शोक गरेको सुन्दा वीरभद्रको छाती करुणाले भरियो । उनले विरणीको मुखपट्टि हेरेर भने – ‘हे विरणी ! तिम्रो अवस्था देखेर म पनि दुःखी छु । अनि तिम्रो स्तुति सुनेर म प्रसन्न पनि भएँ । अब म तिमीलाई पतिको वर दिन्छु तर दक्षको शिर मैले यज्ञमा हवन गरिसकेकोले यज्ञमा बलिदान दिएको बोकाको टाउको जोडेर ब्युँझाइदिन्छु । उसले जगदीश्वरलाई पशु सरह भै निन्दा गरेकोले त्यस्ता मानवपशुलाई पशुकै टाउको जोडिदिनु योग्य छ ।’ वीरभद्रका यी कुरा सुनेर विरणीले अञ्जली बाँधेर ‘हवस्’ भनिन् र वीरभद्रले बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोडेर दक्ष प्रजापतिलाई ब्युँझाइदिए । आफ्नो पति बोको शिर भएर ब्युँझिएपछि विरणीले सन्तोष मानी बोका टाउको भएको (छागमुख) पतिसँग भएर महाकाली र वीरभद्रलाई साष्टाङ्ग दण्डवत् गरी आफ्ना घर आए ।
हे अगस्त्य मुनि ! तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, दानव, दैत्य तथा नागहरुसमेत दक्ष प्रजापतिका सेनाहरुको नाश र यज्ञ विध्वंशसमेत गरी भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गी, प्रमथगण आदि सम्पूर्ण गणहरु साथ लिई महाकाली र वीरभद्र त्यहाँबाट अन्तर्ध्यान भई कैलाशपर्वतमा पुगेर महादेवका चरणमा साष्टाङ्ग दण्डवत् प्रणाम गरी बिन्ती गर्न लागे – ‘हे जगदीश्वर ! हजुरबाट आज्ञा पाई दुर्मुख दक्ष प्रजापतिको यज्ञ विध्वंश गरी कोटिकोटि देवता, यक्ष, गन्धर्व, किन्नर, दानव, दैत्य र नाग आदि दक्ष प्रजापतिका अनेकौं सेनाहरु मारी दक्षको शिर छुट्याई उसैका यज्ञमा होमिदियौं । दक्षपत्नी विरणीले आफ्ना स्वामीको त्यो निष्प्राण शरीरलाई देखेर साह्रै विलाप गर्न लागेको देखी हामीलाई करुणा जाग्यो । स्वभाव अनुसारको अनुहार र बोली अनुसारको मुख सुहाउँदो गराउन बलि दिएको बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोडिदियौं र दक्षलाई जियायौं ।’ यी कुराहरु सुनी महादेवजीले सन्तोष भई भन्नुभयो – ‘हे महाकाली ! हे वीरभद्र ! म सन्तोष भएँ । तिमीहरु धन्य हौ ।’ यत्ति भनी महादेवले ती दुबैलाई आफूमा लीन गराउनुभयो ।
हे अगस्त्य मुनि ! तहाँ उप्रान्त महादेवले सतीदेवीलाई सम्झी दक्षप्रजापतिले यज्ञ गरेको ठाउँमा पुगी यज्ञकुण्डभित्र निष्प्राण रहेकी सतीदेवीलाई देखी बलिन्द्र धारा आँसु खसाली ‘हे प्रिये ! कैलाश शून्य गराई, मलाई छाडी, तिमी कहाँ गयौ ?” भनी यस्ता प्रकारका नाना थरीका विलाप गरी हावाले रुख ढले झैं भुइँमा ढली मूर्च्छा पर्नुभयो । केही छिनपछि होशमा आउनुभयो र फेरि अनेकौं विलाप गर्न लाग्नुभयो – ‘हे प्राण प्यारी ! हे सतीदेवी ! अब म एक्लो भएर बाँच्नु व्यर्थ छ । मलाई एकैछिन पनि नछोडी मेरै मुखतिर हेरी मैले सुनाएका कथा, पुराण र तिनका महिमाहरुमा भुलिरहन्थ्यौ । अबदेखि त्यस्ता कथा र महिमा मैले कसलाई सुनाउनु ? र कसले सुनिदेला ? हे सतीदेवी ! यो यज्ञ तिम्रै बाबाको हो । यो भूमि तिम्रै जन्मथलो हो । यो घर तिम्रै माइतीघर हो । तापनि बिहे गरेर घर पठाएकी छोरीले नडाकेसम्म मन जिती माइत जानु ठीक होइन । हे प्रिये ! यसरी तिम्रो अवश्य अपमान हुनेछ भन्ने ठानेर मैले नजाऊ भनेकै थिएँ । मैले भनेका वचन मानिनौ र तिम्रो यो अवस्था भयो । हे प्रिये ! अब मैले तिम्रो सधैं हसिँलो बोली कहाँ देख्न र सुन्न पाउँला ?’ भन्दै मुड्कीले छात्ती ठोकी मोतीका दाना झैं आँसुका ढिक्का बहाई फेरि विलौना गर्न लाग्नुभयो – ‘हे प्यारी ! मलाई मनपर्ने खानेकुरा विष, भाङ, धतुरो र गाँजा आदि मेरा स्वामीले खाने कुरा भनी हितभावले राम्रो जगेर्ना गरी राखिदिन्थ्यौ । अब त्यसरी कसले राखिदेला ? म कतै बाहिरतिर गएर आइपुग्नासाथ हत्तपत्त कमण्डलुमा जल लिएर हातपाउ धोइदिन बाहिर निस्कन्थ्यौ, भरेदेखि कसले त्यसो गरिदेला ? हे प्रिये ! म एक्लो भएँ । तिमीविना कसरी मेरो चित्त थामिएला ?’ इत्यादि वेदना व्यथा पोख्ने, कहिले सतीदेवीको मृत देहलाई अङ्कमाल गर्ने, कहिले हातमा र गालामा म्वाइ खाने, कहिले छातीमा हात राख्ने, कहिले केश सुम्सुम्यfउने, कहिले सतीदेवीको हात आफ्नो छातीमा राख्ने आदि अरु नाना तरहका शोकविलाप गर्न लाग्नुभयो ।
त्यसपछि सतीदेवीको प्राणरहित शरीरलाई पीठमा बोकी ‘हा सती ! हा सती !’ भनी बेहोस जस्तो भएर पृथ्वीमा जहाँतहाँ भ्रमण गर्न लाग्नुभयो । महादेवका पीठमा लिइएको हुँदा सतीदेवीको शरीर गल्नु र दुर्गन्ध आउनु केही पनि भएन । केवल निद्रामा नै रहेजस्ती भएर सतीदेवीको शरीर रह्यो ।
इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम अष्टमोऽध्यायः ।।
ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
Purbeli News बाट साभार

स्वस्थानी व्रतकथा, भाग – ८ (सतीदेवीको शव बोकी महादेवको पृथ्वीभ्रमण) Reviewed by a on 6:00 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.