Top Ad unit 728 × 90

a
Ad Inside Post

सत्ताका खेलाडी देउवामाथि नजरः होला सरकार परिवर्तन ? [टिप्पणी]

काठमाडौं-सत्ताखेलका माहिर खेलाडी मानिने पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएलगत्तै सिंगो राजनीति तरंगित भयो ।

तरंग ल्याउने विषय हो– सरकार परिवर्तन । 

देउवा सभापतिमा निर्वाचित भएको घोषणा हुनेबित्तिकै उनी निकट नेताहरुले तत्काल सरकार परिवर्तन हुने र त्यसको नेतृत्व देउवाले लिने प्रतिक्रिया दिए । त्यति मात्र होइन, वर्तमान सरकारकै घटक दलका नेतासमेत कांग्रेसका नेतासँग यही विषयमा कुराकानी गर्न दौडधुप गर्न थालेको समेत सार्वजनिक भयो ।

साँच्चै सरकार परिवर्तन गर्ने बेला भएको हो त ? के गर्लान् अब यी सत्ताका खेलाडीले ?

एमाले उपमहासचिव घनश्याम भुसाल सभापति देउवालाई व्यवहारवादी नेता मान्छन् । 'व्यवहारवादी राजनीति भनेको तत्काल जे गर्दा फाइदा हुन्छ, त्यही गर्ने हो, व्यवहारवाद आफैंमा नराम्रो होइन,' उपमहासचिव भुसालले भने, 'स्थापित मूल्य र मान्यताका लागि भने यो डरलाग्दो पक्ष हो ।'

देउवा व्यवहारवादी नेता रहेको जनाउँदै भुसालले यस्ता व्यक्तिले सरकार मात्र होइन, जुनसुकै बेला एजेन्डासमेत फेर्न सक्ने तर्क गरे ।

देउवामाथि सत्तामै टिकिरहन संसदीय व्यवस्थाभित्र विकृति भित्र्याएको र व्यक्तिगत शक्तिका लागि प्रजातन्त्र नै दरबारमा बुझाएको जस्ता 'संगीन' आरोप लाग्दै आएको छ । नवनिर्वाचित सभापति देउवा शक्तिशाली हुँदा देशको राजनीति अस्थिर हुने गरेको आरोप लाग्ने गरेको छ ।

देश संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरिरहँदा देउवा संसदको सबैभन्दा ठूलो दलका नेता बनेका हुन् । लामो समय पार्टीभित्र प्रतिपक्षी नेताका रुपमा रहेका देउवाले कार्यवाहक सभापति रामचन्द्र पौडेललाई भारी मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएका हुन् ।

एकीकृत माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेल कांग्रेसको पूरै परिणाम आएपछि मात्र सभापति देउवाले चाल्ने कदममा सरकारको भविष्य निर्धारण हुने बताउँछन् । 'कस्तो टिम आउँछ, देउवा पूर्ण बहुमतमा आउन सक्नुहुन्छ कि हुन्न भन्ने विषयले पनि उहाँले निर्धारण गर्ने रणनीति र निर्णयको विषय निर्धारण हुनेछ,' पोखरेलले नागरिकसँग भने, 'शेरबहादुर देउवा निजी फाइदाका लागि बढी जोर गरेर गठबन्धन बनाउने र कदम चाल्न सक्ने व्यक्ति हुन् ।'

अध्यक्षात्मक प्रणालीमा सञ्चालन हुने नेपाली कांग्रेसभित्र सामूहिकभन्दा व्यक्तिगत निर्णय हाबी हुने गरेको विगत छ । त्यसो त सभापतिले उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनयन गर्ने सक्ने पार्टी विधान छ ।

भूकम्पपछिको पुनर्निर्माण, मधेस आन्दोलनको तार्किक निष्कर्ष, संविधान कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा अहिलेको अवस्थामा प्रमुख ठूला दलबीच सहकार्यको आवश्यकता औंल्याउने गरिएको छ ।

'शान्ति प्रक्रिया पूरा गर्ने राजनीतिक दलले अहिलेको समस्या समाधान गर्न सहकार्य आवश्यक छ,' पोखरेलले भने, 'संविधान कार्यान्वयनमा मिलेर जानुपर्ने आवश्यकता छ ।'

देउवा सरकारमा रहँदा पार्टीबीच हुने छलफलमा कुनै विषयमा कडा र कुनैमा अपेक्षाभन्दा बढी लचिलो गरी प्रस्तुत हुने गरेको नेताहरु बताउँछन् । त्यसैले देउवा प्रमुख मुद्दामा कसरी प्रस्तुत हुन्छन्, भविष्यले बताउनेछ ।

'अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेको हो, त्यसैले प्राकृतिक गठबन्धन निर्माणका लागि यो सरकार परिवर्तन गर्न आवश्यक छ,' देउवाको विश्वासपात्र मानिने नेता बालकृष्ण खाँडले भने, 'उहाँ (शेरबहादुर देउवा) ले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास हुनेछ ।'

देउवा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै देउवा निकट अर्का नेता रमेश लेखकले पनि सरकार परिवर्तनको प्रसंग उठाएका थिए । यो सरकारले वर्तमान संकट समाधान गर्न नसक्ने भन्दै उनले त्यसलाई परिवर्तन गर्नु प्राथमिक विषय बन्ने बताएका थिए ।

गठबन्धनभित्रैका दलले समेत कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने दाबी गर्दै आएका थिए । वर्तमान सत्तागठबन्धनका सूत्रधार मानिने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत यसअघि नै कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने बताएका थिए ।

पाँच महिनाअघि प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीले भने बुधबार झापामा आयोजित एक कार्यक्रममा सरकार नेतृत्वमा फेरि कांग्रेस जाने बेला नभएको बताए । कांग्रेस बरु यही सरकारमा सहभागी हुनुपर्ने उनको जोड थियो ।

नवनिर्वाचित सभापति देउवाले भने दुई ठूला दल एउटै सरकारमा हुँदा 'चेक एन्ड ब्यालेन्स' नहुने भन्दै यो प्रस्तावलाई यसअघि नै नकारिसकेका छन् । तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका देउवाले अहिले सरकार परिवर्तनको खेलमा नलाग्ने बताए पनि आम रुपमा भने उनी चुप लागेर सत्ताबाहिरै रहन्छन् भन्ने विश्वास देखिँदैन ।



सत्ताका खेलाडी देउवामाथि नजरः होला सरकार परिवर्तन ? [टिप्पणी] Reviewed by Unknown on 7:37 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.