गाँउमै सरकारी सेवा
पुरचौडीहाट (बैतडी)–'गाँउमै सरकार आए जस्तो भयो' हाट–६ की हिरा भण्डारीले भनिन्। जिल्लास्थित सरकारी अड्डामा बस्ने हाकिम गाँउमै आएर नागरिकता बाँडेको देख्दा आफनो गाँउ पनि शहर भएझैं उनलाई भान भयो।
एकीकृत घुम्ती शिविरमार्फत फागुन २२ गतेदेखि २६ गतेसम्म सरकारी सरकारी कार्यालयले दिने सेवा गाँउमै लिन पाउँदा भने स्थानीय हर्षित छन्। पुरचौडीहाट मात्रै होइन बैतडीका न्वादेउ, भटना, मल्लादेही,तल्लादेही,महादेवस्थान, भूमिराज, कोटिला, तल्लादेही, शिखरपुर, मठैराज गाविसका हजारौ स्थानीयवासी गाँउमै सरकारी सेवा लिन पाउदा त्यसै दंग देखिन्थे। 'जिल्लाका अडडा्मा जाने झन्झट भएन,' स्थानीय जनकराज भट्टले भने, 'हामी सेवाग्राहीलाई दुवै हातमा लड्डु जस्तो भयो।' समय र पैसा बचत भएको उनको भनाइ छ ।
गाँउमै सरकारी सेवा लिन आउने स्थानीयको भीड नियन्त्रण गर्न स्थानीय प्रशासनलाई हम्मे हम्मे परेको थियो। खासगरी सदरमुकाम जान समस्या भएका अपांग, एकल महिला, बृद्धहरुलाई घुम्ती शिविरले राहत मलिेको छ । विदाको दिनमा पनि सरकारी कामको सुविधा पाउँदा स्थानीय दंग छन्। जिल्लाका ८ वटा सरकारी कार्यालयले राति आठ बजेसम्म पनि सेवा दिँदै आएका छन। जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजनामा भएकोे एकीकृत शिविर डिलेश्वरी उच्च मावि हाटको मैदानमा संयुक्त रुपमा भएको थियो।
शिविरमा सेवाग्राहीले नागरिकता, मतदाता नामावली, स्वास्थ्य सेवा, कृषि, पशुसेवा, महिला बालबालिका, आयुर्वेद, नागरिक सहायता लगायतका सरकारी कामको सेवा पाएका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सरकारी सुविधा ग्रामीण क्षेत्रसम्म पुर्याउन पाउदा खुशी लागेको बताए ।
दुर्गमका जनतामाझ सहजरुपमा सरकारी सेवा घरदैलोमा पुर्याउन शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । उनले भने, 'जनताका दुःख पीडा गाँउमा आएर बुझ्न पाएको छु । स्थानीयबासीका पिरमार्का बुझ्दा आफूलाई काम गर्न हौसला बढाएको छ।'
घुम्ती शिविरमा अहिलेसम्म ९ सय ४ नेपाली नागरिकताको प्रमाणपत्र, ८ सय ६० फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, ८९ अपागं परिचय पत्र, ६ सय २३ आयुर्वेद स्वास्थ्य सेवा, ३ सय ५० जनाले कृषि, १ सय ८० पशुसेवा, १ सय १ जनाले सामुदायिक प्रहरी सेवा १ सय ३० स्वास्थ्य सेवा, बाली उपचार १२ र माटो परिक्षण ४५ जनाले सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले बताए ।
गाँउमै सरकारी सेवा
Reviewed by Unknown
on
12:56 PM
Rating:
No comments: