म अन्तै मर्ने भएँ तिमी र छोरालाई अन्तिमपटक हेर्ने रहर अपूरो भो
’म अर्काको गाउँमा मर्ने भएँ । तिमी र छोरालाई अन्तिमपटक हेर्ने रहर अपूरो होलाजस्तो छ । यो जन्ममा मात्रै हैन, अर्को जन्ममा पनि तिम्रै हुन चाहन्छु । म मरेर गए पनि छोराको राम्रो हेरचाह गर्नू ।उसलाई धेरै पढाउनू...।’
२०६१ सालको कुरा हो, नेपालगन्जकी १७ वर्षीया जयन्ती केसीका श्रीमान्ले लेखेको चिठी थियो त्यो। जुन चिठी श्रीमान्को हत्या भइसकेपछि मात्रै उनको हात परेको थियो।केसीका अनुसार शुक्रबार घर आउँछु भनेर बुधबार अन्तिमपटक फोनमा कुरा गरेका थिए उनीहरूले। तर, कुनै शुक्रबार फर्किन नसक्ने गरी संसारबाट बिदा भए। फोनमा कुरा गर्दा ’शृंगार सामग्री’को पसल सुरु गरेकी केसीलाई पसलका लागि सामान हाल्दिन्छु भनेका थिए। किनकि तीज नजिकिँदै थियो।
न सामान थपिए न त शुक्रबार उनी आए। केसीले शनिबार राति डरलाग्दो सपना देखेपछि आधा घन्टा हिँडेर फोन गर्न गएकी थिइन् ।
बाटैमा एकजना नचिनेको मान्छेले उनको श्रीमान्को नाम लिएर उनी बितिसकेको जानकारी दिँदा उनी छाँगाबाट खसेजस्तो भएकी थिइन्।
कलिलै उमेरमा प्रेमविवाह गरेकी केसीको श्रीमान्लाई विवाह गरेको तीन वर्षभन्दा बाँच्न पाएनन् । त्यति बेलामात्रै २३ वर्ष पुगेका थिए उनी । नेपाली सेनामा कार्यरत उनी माओवादीसँगको दोहोरो भिडन्तमा मारिएका थिए । जुन घटना २०६१ साल साउन २२ गते घटेको थियो।
९ कक्षामा पढ्दै गर्दा विवाह गरेकी केसीको श्रीमान् बितिसकेपछि नौ महिनाको छोरासँग संघर्षका दिनहरू सुरु भए।श्रीमान्को किरिया बसिन्जेल परिवारको साथ पाएकी उनलाई चोखिएलगत्तै नेपाल सरकारले दिने सहयोगका कारण परिवारकै सदस्यबाट आँखाको तारो बन्न पुगिन्। सानै उमेर भएकाले अर्कैसँग पोइल जाला भन्ने तर्क राख्दै आएका उनको परिवारले कुनै पनि हालतमा श्रीमान्को मृत्युपछि आउने सहयोग उनलाई दिनुहुन्न भन्ने कुतर्क गरे।
केसीलाई श्रीमान् बितेपछि सुरुसुरुमा सेना देख्नै नहुने, आँसु झरिहाल्ने समस्याले ग्रस्त बनायो। कोही मान्छेको अगाडि बोल्नै नसक्ने ।
तर उनको आत्मबल बढाउन एकजना सेनाले भूमिका खेलेको बताइन् । पल्टनमा काम परिरहन्थ्यो, जाँदाजाँदा उहाँले बोल्नुपर्छ, अब केही सीप सिकेर आत्मनिर्भर बन्न सिक्नुपर्छ भनेपछि बिस्तारै आपूmलाई परिवर्तन गरेको उनले बताइन्। त्यसपछि सिलाइबुनाइको तालिम लिने निर्णय गरे पनि परिवारले स्वीकृति दिएन।
अगाडि बढ्न केही गर्नुपर्छ भन्ने लागेपछि उनी ’एकल महिला सञ्जाल’को सम्पर्कमा पुगिन्। त्यसपछि उनमा आत्मबल बढेर आयो आफूजस्तै एकल महिलाका बीचमा सचेतना फैलाउँदै गाउँगाउँसम्म पुग्न थालिन्। ’अहिले म बोल्नसक्ने भएकी छु।गाउँघरमा अन्यायमा परेका महिलाका लागि वकालत गर्दै आएकी छु’, केसी भन्छिन्’, ’उनीहरूको न्यायका लागि काम गर्दै आएकी छु।
साँच्चै मलाई आफूजस्तै एकल महिलालाई सहयोग गरेर साँझ घर फर्कंदा आनन्द लाग्छ। पैसामात्रै ठूलो कुरो होइन। अहीले सबैले चिन्न थालेका छन्।’ अहिले उनी ’एकल महिला सञ्जाल’को जिल्ला सचिव पनि हुन्। उनको अनुभवमा धेरै एकल महिला घरभित्रै हिंसामा परेका छन्।
तिरस्कारको पीडा झन् कहालीलाग्दो - शान्ति महर्जन - द्वन्द्वपीडित अर्की महिला शान्ति महर्जनको पीडा पनि उस्तै छ। ’तेइस वर्षको उमेरमा सिन्दूर पुछिनुको पीडा सायद अरूले बुझेका हुँदैनन्, जति मैले बुझेको छु’, उनी भन्छिन्। नेपाली सेनाअन्तर्गगत विकासनिर्माणका कार्यक्रममा आबद्ध रहँदै आएका उनका श्रीमान्लाई चौबीस वर्षको उमेरमा माओवादीले मारिदिएका थिए। उनी कालीकोटमा कार्यरत रहँदा मारिएका हुन्।
श्रीमान्सँग अन्तिमपटक छुट्टिएको सम्झना मस्तिस्कमा ताजै छ। ’संकटकाल लागेको थियो। अकस्मात् श्रीमान्ले दिउँसो अफिसबाट फोन गरेर कालीकोट जानुपर्ने भयो भन्नुभयो । मैले नजाँदा हुँदैन भनेँ । तर उहाँले विकासका लागि काम गर्ने मान्छेलाई केही समस्या हुन्न भनेर विश्वस्त बनाउनुभयो।
श्रीमान्को कुरामा मलाई पनि विश्वास लाग्यो। ९ गते उहाँ हिँड्नुभयो । विडम्बना ! २४ गते उहाँलाई मारेको समाचार आयो। एउटा कोठीको भरमा उहाँको लास चिन्नु गाह्रो भएको थियो मलाई। श्रीमान्को हत्याको पीडा त छँदैछ, त्यसपछि घरका सदस्यबाट तिरस्कृत हुनु परेको पीडा झन् कहालीलाग्दो छ।’
एकातिर विवाह भएको चार वर्षमा श्रीमान् गुमाउनुको पीडा, अर्कातिर परिवार र समाजको अनावश्यक लाञ्छना । ’छोरी तीन वर्षकी थिइन्। उनको उज्ज्वल भविष्यका लागि जस्तोसुकै परिस्थिति सामना गर्नुपर्ने थियो मैले’, भावुक मुद्रामा उनले भनिन्, ’आफूमा भएको पीडा बिर्साउन बहाना खोजिरहेको थिएँ।
त्यसपछि म एकल महिला सञ्जालको तालिममा सहभागी भएँ। माइतीको सहयोग पाएकै कारण काममा लाग्ने हौसला पाएँ । अहिले एकल महिलाका लागि मानवअधिकारको वकालत एवं गृह श्रमिकहरूका लागि काम गर्दैछु।’
काठमाडौंको मच्छेगाउँस्थित चन्द्रागिरि नगरपालिकामा एघारवटा समूह बनाएर काम गर्दै आएकी उनी एकल महिलामाझ लोकप्रिय बनिसकेकी छन् । मेहनत र आत्मविश्वासका कारण उनी आत्मनिर्भर पनि बनिसकेकी छन् । एक्लो हुँदा आफ्नो लागि बोलिदिने कोही नहुनुको पीडा ज्यादै तीतो हुने उनको अनुभव छ ।
त्यो तीतो पीडाबाट शिक्षा पाएकी उनी एकल दिदीबहिनीलाई सहयोगका लागि काम गर्ने निर्णय आफूले लिएको बताउँछिन्।
श्रीमान् बितेपछि बाटोतिर हिँड्दा पनि ’श्रीमान् खाई यसले’ भन्दै कुरा काट्नेहरू नै अहिले शान्तिको प्रशंसा गर्न थालेका छन् । शान्ति आफूमात्रै होइन, उनले बनाएको विभिन्न समूहमा आबद्ध महिला पनि आत्मनिर्भर बनिसकेका छन्। उनको समूहमा तालिमका माध्यमबाट, बचत कार्यक्रम, सहुलियत ऋण दिने कार्यक्रम आदिबाट महिला लाभान्वित भएको उनको भनाइ छ।
एसएलसीसम्म पढ्न भ्याएकी उनी भन्छिन्, ’म काठमाडौंमा हुर्किएकी एउटी महिला हुँ। म जति पढेको महिलाले त यस्तो हिंसा सहनु पर्यो भने गाउँतिरका दिदीबहिनीको अवस्था कस्तो होला? हिंसामा परेका महिला दिदीबहिनीलाई सकेसम्म राम्रो बाटो देखाउने लक्ष्य लिएकी छु । यस क्रममा मभन्दा बढी हिंसा भोगेका महिला पनि धेरै भेटेकी छु।’
३६ वर्ष पुगेकी महर्जनले रंगीन पहिरन लगाउन पनि विद्रोह गरेको सुनाइन् । समाजमा अब परिवर्तनको खाँचो भएकाले पीडित नै सक्रिय रूपमा लाग्नुपर्ने उनको भनाइ छ । अबको गन्तव्य समाजसेवा गर्दै जाने र छोरीलाई आत्मनिर्भर बनाउने रहेको उनले स्पष्ट पारिन्।
द्वन्द्वको चपेटामा परेर एक्लो भए पनि आत्मनिर्भर बनेका केसी र महर्जन भन्छन्, ’सरकारले एकल महिला र उनीहरूको सन्तानको शिक्षा, स्वास्थ्य तथा रोजगारी सुनिश्चित गर्नुपर्छ। उनीहरूलाई राज्यले उचित स्थान दिनुपर्छ । अन्यथा एकल महिला र उनीहरूका सन्तान राज्यका लागि बोझ बन्छन् । र, त्यसको आक्रोशले भविष्यमा अन्य समस्या निम्त्याउनसक्छ । समयमै उनीहरूको उचित व्यवस्थापन गर्न राज्यले पहल गर्नुपर्छ।’
म अन्तै मर्ने भएँ तिमी र छोरालाई अन्तिमपटक हेर्ने रहर अपूरो भो
Reviewed by Unknown
on
2:06 PM
Rating:
No comments: