Top Ad unit 728 × 90

a
Ad Inside Post

खड्गप्रसादले खड्गो काटे

नेपालको इतिहासमा कसैले गर्न नसकेका थुप्रै कुरा गरिरहेका प्रम खड्गप्रसाद शर्मा ओलीलाई विरोधीले देखिसहेनन् । तर, ओली भनेका ओली नै हुन् । उनलाई हटाएरै छाड्ने भएका काङ्ग्रेसीहरु जिल्लिए ।
हुन पनि ओलीले के मात्रै गर्छु भनेका छैनन् । यसो पनि गर्छु भनेका छन् । उसो पनि गर्छु भनकै छन् । उनले एकै वर्षमा हजारौं झोलुङ्गे पुल बनाउँछु भनेका छन् । २ वर्षमा देश लोडसेडिङ मुक्त गर्दिन्छु भनेका छन् । त्यसका लागि भारतबाट थप बिजुली आयात गर्ने र चीनसँग वाणिज्य सन्धि गर्न पनि भ्याएका छन् । धारामा पानी नआए पनि ग्यास जस्तो हावा आउने भएकाले तिनै धाराबाट घरघरमा ग्यास पु¥याउने व्यवस्था गर्दै नै छन् । नाकचुच्चे रेल ल्याउने सपना देखा’का छन् ।
भूकम्प, नाकाबन्दी, आर्थिक मन्दीले आक्रान्त नेपाली जनता टीभीमा उनले बोलेको सुनेपछि हास्न पाइरहेका छन्, आनन्द लिन पाइरहेका छन् । उनका उम्दा किसिमका टुक्का, जोक, चुटकिला सुन्न पाएर नेपाली जनता हर्षविभोर हुन्छन् । कतिसम्म भने उनको पालामा टीभीमा आउने कतिपय हास्य कार्यक्रम नै विस्थापित भएका छन् । त्यसैले पत्रकारले जनताका दुःखका कुरा लेखे भनेर उनी बेलाबेलामा हप्काइरहन्छन् । दुःखमा पनि जोक गर्न सक्ने पनि ओलीको विशेष खुबी छ ।
विस २०४६ सालपछि इतिहासमै पहिलोपटक ओली प्रमको रुपमा भारत र चीनको भ्रमणमा जाँदा निजीक्षेत्रका कुनै पनि राष्ट्रिय दैनिक पत्रिका र टीभीका पत्रकारलाई साथमा लिएर गएनन् । बरु साप्ताहिक पत्रिकाका र उनका दलका केही कार्यकर्ता पत्रकार साथमा लिएर गए । किनकि, यी राष्ट्रिय र ठूला मिडियाका पत्रकार अलि सिरियस भइदिने, जे देख्यो त्यै लेखिदिने, टीभीमा देखाइदिने गर्छन् । सिरियस कुरा ओलीलाई मन पर्दैन । काङ्ग्रेसी षड्यन्त्रलाई पनि उनले संसद्मा दिएको भाषणमा हसाएरै हावा खुवाइदिए ।
ओलीले देशका कतिपय महत्त्वपूर्ण पदमा नामी बेनामी जोकरलाई समेत नियुक्ति दिएका छन् । यसको राम्रै प्रभाव निकट भविष्यमा देखिनेछ । यसले भोलिका दिनमा नेपालीले थप मनोरञ्जन प्राप्त गर्न पाउनेछन् भन्ने आशा गर्न सकिन्छ । ओलीले हालै नियुक्त गरेका प्रेस काउन्सिलका एक सदस्यको नियुक्तिको प्रकरणले पनि यो क्षेत्रसँग सम्बन्धित नेपालीले प्रशस्त मनोरञ्जन प्राप्त गर्ने सौभाग्य पाएका छन् ।
ओली बहादुर छन् । ओली सरकारका पालामा भारतले नाकाबन्दी लगाइदियो । नेपाली जनता भोकभोकै बसे । भूकम्पका कारण घरबारविहीनहरु पालमुनि नै बसिरहे । तर, ओली आत्तिएनन् । भारतसँग बहादुरीपूर्वक पङ्गा लिए । उनका पालामा नेपालमा व्यवसायीले ओलीलाई सहयोग गरेनन् । बरु उनलाई कालाबजारी, चोर, तस्कर, गुण्डा सबैले हरेक प्रकारले सहयोग जारी राखे । अहिले पनि त्यस्ता सहयोग ओलीप्रति जारी नै छ । तिनै कालाबजारीले ओलीलाई सहयोग गर्न नेपाली जनतालाई ग्यास र पेट्रोल सबै द्या’ छन् र पो अलिअलि भने पनि हाम्रो चूलो बलिरा’छ ।
यसरी ओलीले गर्नुसम्म गरेकै छन् । प्रचण्ड माओवादीदेखि प्रचण्ड राजावादीसम्मलाई सरकारमा अटाएकै छन् । टोलेगुण्डादेखि सुण्डमुण्ड सबैका भाग र माग पूरा गर्दिएकै छन् । सय वर्षमा नभएको काम एकै वर्षमा हुने कुरा पनि थिएन । तर, के गर्नु ? विरोधीले देखिसहेनन् र उनलाई हटाई छाड्ने भएका थिए । तै पनि असफल भए । अब यी सबै काम गर्न ओलीले भ्याउने भए । यसरी यत्रो करामत गरिरहेका ओलीलाई विरोधीले हठात, हटाउन खोज्नु सोर्‍है आना गलत थियो ।
नेपालका राजनीतिक दल वैगुनी नै हुन् । यत्रो गरेको मान्छेलाई युगयुगसम्म सरकार चलाउन सहयोग गर्नुपर्नेमा छिर्के हाल्ने कोशिस गरे । तर, वैगुनीहरु असफल हुन्छन् नै, भए ।
हुन त नेपालमा सरकारको ‘९ महीने नियम’ले पनि काम गर्न खोजे जस्तो छ । पूर्वप्रम मनमोहन अधिकारीबाट शुरु भएको यो गलत प्रवृत्ति प्रायः सबैजसो प्रधानमन्त्रीका हकमा लागू भएको छ । अर्को कुरा नेपालको राजनीति ओली, देउवा र प्रचण्डको हातमा छैन जस्तो छ । हिजोसम्म दिल्लीको एकाधिकार थियो । अस्ति रातिबाट चीनतिर पुगेजस्तो छ । हेरौं चिनी काकाले कसलाई, कसरी रातो झण्डा देखाइरहन सफल हुन्छन ।
जे होस, ओलीको जाने पालो आएजस्तो भएको थियो । तर, ओलीले त्यो खड्गो काटे । उनको नामै खड्गप्रसाद शर्मा ओली । हुन त कतिपयलाई त आठ बाह्र पनि परेको थियो । तर, ओलीलाई नौमा खड्गो परेको थियो, कट्यो । ओलीले देखेका थुप्रै अधुरा सपना अब उनले नै पूरा गर्न पाउने भए । अरुले मानून् नमानून्, ओलीका विरोधीले उनलाई चिनून् वा नचिनून्, नेपाली जनताले उनलाई एक ‘जोक सम्राट’ प्रधानमन्त्रीका रुपमा अझै केही समय आफूसँग पाउने छन् र पछिसम्म पनि सम्झिरहने छन् ।
 
खड्गप्रसादले खड्गो काटे Reviewed by a on 7:22 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.