Top Ad unit 728 × 90

a
Ad Inside Post

‘रेल आउँछ भन्छन्, भका गाडी गुड्दैनन्’

 

राष्ट्रपति निवासछेउ हुँदै महाराजगन्जतिर तरतरी पसिना काढेर हिँडनेको हुलमा बालकुमारी राई पनि थिइन् । वर्षदिन पनि नपुगेकी छोरीको घाँटीमा घाउ आएपछि उनी आमा विष्णुमाया राईसँगै छोरी जचाउन कान्ति बाल अस्पताल हिँडेकी थिइन् ।
सुन्धारामा डेरा गरी बस्ने बालकुमारीले सडकमा निस्केपछि पो थाह पाइन्, मान्छे बोक्ने गाडी त चलेकै रहेनछ । सुन्धाराबाट कान्ति बाल अस्पताल आइपुग्दा उनलाई ठयाक्कै २ घण्टा लाग्यो । सुनाइन्, ‘खुट्टा दुखेर फतक्क भाछ । कुन असत्तीले बन्द गरेछ ।’

ट्राफिक नियम उल्लंघनमा जरिवाना शुल्क बढाएको विरोधमा सार्वजनिक यातायात व्यवसायीले गरेको चक्काजामका कारण दु:ख पाउने सर्वसाधारणमा बालकुमारी मात्रै थिइनन् । तर, बिरामी बोकेर अस्पताल धाउने अधिकांशका दु:ख अरूका भन्दा फरक मात्रै थिएनन्, मनै कुँडिने खालको थियो ।
विष्णुमायालाई कसले र किन बन्द गरेको हो भन्ने पत्तो थिएन । उनले भनिन्, ‘जसले गरे पनि यो गतिलो काम हैन । ठूला–ठूला मान्छेलाई केही गर्ने हैनन् । दु:ख दिने हाम्लाई मात्रै हो ।’
ओखलढुंगा गाम्नाङटारका लक्ष्मण थापा स्वयम्भूबाट हिँडेरै टिचिङ अस्पताल आउँदा पसिनाले लछप्पै भिजेका थिए । महिनादिनअघि छोरा प्रेमबहादुरले हात भाँचेयता उनी निरन्तरको उपचारका निम्ति काठमाडौं बसिरहेका छन् ।
लक्ष्मणले सुनाए, ‘डाक्टरले आजकै दिन टाइम देका थे । कस्तो बन्दको साइत परेछ ।’ विष्णुलाई जस्तै उनलाई पनि सडकमा सार्वजनिक गाडी किन नगुडेका हुन् र त्यसका पछाडि के कारण छ भन्ने थाह थिएन ।
‘कारण जे भए पनि बन्द गर्नेहरू ठीक मतिका होइनन्,’ उनले सुनाए, ‘आफ्ना गाडी हुनेहरू सरर कुदयाछन् । हामी जस्तालाई ११ नम्बरकै भर ।’ यति भनेर उनले आफ्ना खुट्टातिर संकेत गरे ।
चक्काजामका कारण अस्पताल पुग्नै पर्ने विपन्न वर्गका नागरिक सबैभन्दा धेरै सास्ती खेपिरहेका देखिन्थे । निजी सवारी नभएका र महँगो शुल्क तिरेर एम्बुलेन्स रिजर्भ गर्न नसक्नेको दु:ख बयान गरी साध्य थिएन । ओखरपौवा ३ का पूर्णबहादुर विक आफन्त पर्ने सुगर रोगीका बिरामी विनीता विकलाई चेकजाँच गर्न टिचिङ अस्पताल आएका थिए ।
एकाबिहानै गाउँबाट हिँडेका उनी अस्पताल आइपुग्दा मध्यदिन भइसकेको थियो । उनले कान्तिपुरसँग दु:ख सुनाए, ‘बल्लतल्ल अनेक याचना गरेर माछापोखरीसम्म आइयो । त्यहाँबाट अस्पतालसम्म आउन झन्डै २ घण्टा हिँडनु पर्‍यो ।’
शारीरिक रूपले कमजोर विनीता लामो हिँडाइले फतक्कै गलेकी थिइन् । पूर्णले भने, ‘समयमै अस्पताल आउन सक्या भे छिटो चेकजाँच हुन्थ्यो । ढिलो हुँदा नभ्याइएला भन्ने पीर ।’
पूर्णले सरकारले रेल ल्याउँछ भन्ने प्रसंग पनि सुनेका रहेछन् । तर, भएका गाडीसमेत नगुडाई बस्दा सरकारमा बसेकाहरू चुप लागेको देखेर उनी छक्क परेछन् । पूर्णले आफ्नो दोधार सुनाए, ‘क्या हो । क्या हो । रेल आउँछ भन्छन् । भका गाडी गुडदैनन् ।’
रुकुम थारमारेका थमन बुढाको रिस झनै चर्को थियो । बुढेसकालमा खुट्टाका नसा चुँडिएलान् झैं गरी लखर–लखर हिँडनु परेकामा उनी निकै रिसाइरहेका थिए । ‘अब म रिसाएर सरकार ढल्दैन । ठूलाबडा भाको भे रिसाको पनि काम लाग्थो,’ उनले व्यङय गरेर सुनाए, ‘यो काठमाडौं नि भन्नु मात्रै । सरकार बस्ने ठाममा पनि जनताले पाको दु:ख देख्दैन ।’
सुन्धाराको लजमा बस्दै आएका उनलाई उपचार सकेपछि कसरी फर्केर जाने होला भन्ने पिरलो थियो । थमनले सुनाए, ‘यो बूढालाई दु:ख दिनेको कहिल्यै भलो नहोस् ।’
‘रेल आउँछ भन्छन्, भका गाडी गुड्दैनन्’ Reviewed by a on 8:21 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.