बीएमडब्ल्यू र टोयोटाको संयुक्त प्रयासमा अनौठो कार
आकर्षक डिजाइन र उत्कृष्ट कार्य क्षमताका लागि विश्वभर परिचित कम्पनी बीएमडब्ल्यूले हालै ‘एक्सपेरिमेण्टल’ बीएमडब्ल्यू आईएट सुपर कार सार्वजनिक गरेको छ । कार कम्पनीले हाइड्रोजनबाट चल्नेगरी विकास गरेको छ । बीएमडब्ल्यू समूहले फ्रान्सको आफ्नै टेष्टिङ ग्राउण्डमा यो कारको प्रदर्शन गरेको हो । भविष्यका आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको उक्त कारमा अनौठो लाग्ने अत्याधुनिक प्राविधिक विशेषता रहेको कम्पनीको दाबी छ ।
कारमा बीएमडब्ल्यू एमफोर इञ्जिनको प्रयोग गरिएको छ । हाइड्रोजनको आईएट प्रोटोटाइप पहिलोपटक सन् २०१२ मा निर्माण गरिएको थियो । बीएमडब्ल्यूले टोयोटासँग साझेदारी गर्दै आईएटको पहिलो परीक्षणसमेत गरेको थियो । आईएट प्लेटफर्ममा तयार गरिएको यो कारमा कार्बनफाइबर र अन्य लाइटवेट (हल्का वजन) मेटरियलको प्रयोग गरिएको छ । यो कार झट्ट हेर्दा टर्मिनेटर, म्याडम्याक्स र फ्युचर आर्मागेडन चलचित्रको सम्झना दिलाउँछ ।
टोयोटासँग सहकार्य
आईएट टेष्ट कारको मध्य भागमा ट्याङ्की राखिएको छ । यसको सहायताबाट करीब ३ सय माइल अर्थात् ४ सय ८० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । कारको इञ्जिनमा रहेको फ्युलसेलमा हाइड्रोजन इन्धनको आपूर्ति हुँदा कार सञ्चालनमा आउँछ । टोयोटासँगको साझेदारीमा विकास गरिएको यो इन्धनले २ सय ६८ बीएचपीसम्मको शक्ति दिने क्षमता राख्छ । कारले ६ सेकेण्डको अन्तरालमै शून्यबाट ६२ माइल प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति क्षमता १ सय २४ माइल प्रतिघण्टा अर्थात् २ सय किलोमिटर प्रतिघण्टा छ ।
व्यावहारिकता
दुई ठूला कार निर्माताको सहकार्यमा यसको निर्माण सन् २०१२ मै भएको थियो । त्यसैले, कारमा उपलब्ध प्रविधि ३ वर्ष पुरानो भइसकेको छ । बीएमडब्ल्यूका अनुसार कारको निर्माण लामो यात्रालाई विशेष ध्यानमा राखी गरिएको हो । तर, हाइड्रोजन आईएट कारभन्दा पहिले हाइड्रोजनबाटै सञ्चालित हुने फाइभ सिरिजको कार सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ । अत्यन्त प्रभावकारी हुने बताइएको यो कारमा टर्बो चार्जर्ड कम्बशन इञ्जिनका साथै प्लग हाइब्रिड ब्याट्रीको प्रयोग गरिन्छ । आकर्षक लूक्सको यो कारलाई कार्बन उत्सर्जनमुक्त राख्दै स्पोर्ट्स कारको रूपमा समेत प्रस्तुत गरिनु कत्तिको व्यावहारिक हुन्छ भन्नेमा अन्योल रहेको विशेषज्ञहरू बताउँछन् । (एजेन्सी)

बीएमडब्ल्यू र टोयोटाको संयुक्त प्रयासमा अनौठो कार
Reviewed by a
on
9:45 AM
Rating:
No comments: