बूढीगण्डकी आयोजना बनाउन कुनै अबरोध गर्दैनौं : स्थानीय
आरुघाट (गोरखा)- बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्र गोरखा र धादिङका स्थानीयले सो आयोजना निर्माण गर्न आफूहरु आतुर रहेको बताएका छन्। सोमबार आरुघाटमा आयोजित कृषि तथा जलस्रोत समिति र प्रभावित क्षेत्रका स्थानीयबीचको अन्तर्क्रिया कार्यक्रममा स्थानीयले आयोजनाले अन्योलमा राखेको भन्दै तत्काल काम अघि बढाएमा स्थानीयले कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाए।
स्थानीय रजमदिन मियाँले बूढीगण्डकी आयोजना क्षेत्रका स्थानीय बास उठ्न तयार रहेको बताउँदै भने 'देशकै लागि मुहार बदलिन्छ भने हामी यो ठाउँ छाड्न तयार छौं, तर तत्काल बनाउनुपर्योो।' प्रभावित क्षेत्रका स्थानीयलाई जिविकोपार्जन के हुने? विस्थापित भएपछिको अवस्था कस्तो हुने भन्नेमा अन्योलमा नराखी काम अघि बढाउन स्थानीयले जलस्रोत समिति र धादिङ, गोरखाका संासदलाई अनुनय समेत गरे। समितिका सभापति गगन थापा सहित अन्य पदाधिकारी र दुई जिल्लाका सांसद गरी २५ जनाको उपस्थिति रहेको अन्तर्क्रिया कार्यक्रममा सरोकार समिति अध्यक्ष हरेराम ढकालले तत्काल आयोजना निर्माणमा सहयोग गर्न दुवै जिल्लाका २७ गाविसका स्थानीय तयार रहेको बताए। 'अब जसरी पनि आयोजना बनाउनुपर्छ, विकास निर्माणका काम रोक्नु हुँदैन,' उनले भने, 'जग्गा रोक्का गर्ने, अनि अब नबनाउनेतिर लाग्नुभयो भने हामी जे गर्न पनि तयार हुन्छौं।'
प्रभावित क्षेत्रका स्थानीयले संसदीय समितिलाई पुनःस्थापना तत्काल गर्न, मुआब्जा वितरणको मापदण्ड तयार गर्न, तत्काल वितरणको व्यवस्था गर्न, भूकम्पपीडितलाई दुई लाख अनुदान दिन, विस्थापितको हकमा नयाँ व्यवस्था गर्न, ऐलानी जग्गाको नापजाँच गर्न समेत माग गरेका छन्। पीडितले कृषि तथा जलस्रोत समितिका सभापति थापालाई मागपत्र बुझाउँदै आगामी वर्षभित्र मुआब्जाको व्यवस्था गर्न समितिले पहल गरिदिनुपर्ने मागसमेत राखे। आयोजनाको कामले गति लिन नसक्दा स्थानीय अन्योलमा रहनुपरेको गुनासो प्रभावितको छ। धादिङका संासद राजेन्द्र पाण्डेले आयोजना निर्माणसँगै स्थानीयको खुसीसमेत हेरिनुपर्ने धारणा राखे। संासद चिनकाजी श्रेष्ठले सरकारले जनतालाई विश्वासमा लिएर अघि बढ्दा आयोजना निर्माणको काम अघि बढ्ने र जनताले नै सम्पन्न गर्न सहयोग गर्नेमा आशावादी हुन अनुरोध गरे।
स्थानीयको गुनासो सुनेपछि समिति सभापति थापाले स्थानीयको सहयोग रहेका बेला आयोजना बनाउन सरकारले दृढता देखाएन र चाहिने जति बजेट बिनियोजन गरेर काम अघि बढाएन भने सधैं एकै अवस्था रहन नसक्ने बताए। उनले स्थानीयलाई भने, 'आयोजना हाम्रो लगानीले नै बन्नेछ, तपाईंहरु ढुक्क हुनुहोस्।' मुआब्जा वितरण, पुनर्स्थापनाका विषयलाई भने योजनाबद्ध रुपमा अघि बढाउनुपर्ने उनले बताए। राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण गर्दा बहुउद्देश्यीय रुपमा अघि बढाउन सके घाटा नहुने उनले तर्क गरे। आयोजना कुन मोडालिटीबाट बनाउने भन्नेमा पनि आयोजनाले टुंगो लगाउनु आवश्यक रहेको तर्क उनको थियो। नेपालभित्रै प्रहरी, सेना, टेलिकम जस्ता निकायमा लगानी गर्ने पैसा रहेकाले सरकारले आँट गरेमा आयोजना निर्माण गर्न पैसा अभाव नहुने उनले बताए। 'बैंकमा पैसा थुप्रिएको छ, लगानीको खोजी गर्नुपर्ने बेला आएको छ, हामीलाई योजना चाहिएको हो, पैसा जुटाउन गाहो छैन।'
Reviewed by a
on
7:16 PM
Rating:
No comments: