स्वास्थ्यचौकीका कर्मचारीले असुरक्षित भएको भन्दै कार्यालय छाडेर हिँडेपछि खोप कार्यक्रम प्रभावित
ताप्लेजुङ: ताप्लेजुङको इखावुस्थित स्वास्थ्यचौकीका कर्मचारीले असुरक्षित भएको भन्दै कार्यालय छाडेर हिँडेपछि सो क्षेत्रमा मङ्गलबारदेखि सञ्चालन हुने जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान कार्यक्रम प्रभावित हुने भएको छ।
गत जेठ ८ गते स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नियुक्ति गर्नेलगायतका विषयमा स्थानीयवासी र स्वास्थ्यकर्मीबीच विवाद भएको र सोही दिन राति कार्यालयमा तोडफोड भएपछि असुरक्षित भएको भन्दै त्यहाँका कर्मचारी सदरमुकाम फुङ्लिङमा आएपछि खोप कार्यक्रम नै प्रभावित हुने भएको हो।
विवाद र तोडफोडको खबर पाएको प्रहरीले सुरक्षा दिन्छौं भन्दाभन्दै पनि त्यहाँका कर्मचारीले कार्यालय छाडेर निस्किएको प्रहरीको भनाइ छ।
ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीका अनुसार तोडफोडमा संलग्नको खोजीकार्य भइरहेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा सम्पन्न भएको उक्त खोप अभियान मङ्गलबारदेखि क्षेत्र नम्बर २ मा सञ्चालन गर्ने कार्ययोजना छ। रासस
Reviewed by a
on
7:53 PM
Rating:
No comments: