Top Ad unit 728 × 90

a
Ad Inside Post

ताल सिरानको सिमसार क्षेत्रमा धमाधम प्लटिङ..फेवाताल नै सुक्नसक्ने चेतावनी !

पोखरा : फेवाताल सिरानको सिमसारमा सुरु भएको प्लटिङले ताल नै जोखिममा पर्नसक्ने देखिएको छ। संरक्षणकर्मीहरूले तालको बाँच्ने आधार योसँग जोडिएको सिमसार क्षेत्र भएकाले उक्त प्लटिङले ताल नै मासिनसक्ने चेतावनी दिएका छन्।
संरक्षणकर्मी डा. तीर्थबहादुर श्रेष्ठले भने, 'तालको आयु सिमसारसँग जोडिने हुँदा सिमसार जोगाउनुपर्छ। सिमसार नरहे ताल पनि नरहन सक्छ।'
तालसँग जोडिएको सिमखेतलाई घडेरी बनाएर बेच्न ठिक्क पारिएको छ।
सर्वसाधारणका आँखामा ताल भनेको पानी भरिएको ठाउँ मात्रै हो। तर ताल बाँच्ने अर्थात् त्यसरी पानी अडिने आधार भनेको वरिपरिको दलदल अर्थात् सिमसार क्षेत्र हो भन्छन् विज्ञ।
फेवाताललाई रामसार सूचीमा दर्ता गरिसकिएको छ। त्यसैले यो विश्वकै सम्पदा बनेको छ। तर यो सम्पदा जोगाउनेभन्दा मास्ने काम धेरै भएको छ। त्यसैको पछिल्लो उदाहरण हो तालको सिमसार क्षेत्रमा सुरु भएको प्लटिङ। यसै पनि तालको पूर्वपट्टिबाट पोखरा सहरकै ढल लगेर मिसाउँदा दुर्गन्धित भएकै थियो।
पानीको मुख्य स्रोत हर्पन खोलामा बर्सेनि आउने बाढीले बगाएर ल्याउने माटोले पनि ताल पुरेकै थियो। त्यसमाथि यसको सिमसारलाई सुक्खा बनाएर तालमाथि अर्को आक्रमण गरिएको छ।
फेवातालको सिम क्षेत्रमा पछिल्लो समयमा जग्गा किनबेच बढेको पोखरा उपमहानगरपालिका २६ का सचिव रुद्रप्रसाद बास्ताकोटीले बताए। 'जग्गा सम्याउन, घरबाटो, चार किल्लाका लागि बढी सिफारिस लिन बढी आउने गरेका छन्', उनले भने।
प्लटिङ पोखरा उपमहानगरपालिकाबाट स्वीकृत नभएको अधिकारीहरू बताउँछन्। नगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले स्वीकृति नदिइएको सुनाए। 'प्लटिङ कसले गर्यो भन्ने नै थाहा छैन', प्लटिङ स्वीकृत वा अस्वीकृत गर्ने जिम्मेवारी पाएका उनले अन्नपूर्णसँग भने।
पोखरा उपमहानगरपालिका अन्तर्गतको फेवाताल संरक्षण समितिका प्रमुख इन्जिनियर महेन्द्र गोदारले प्लटिङका लागि सिफारिस माग्न आए पनि समितिले सिफारिस नदिएको बताए।
फेवातालको सिमसार क्षेत्र चंखपुरनजिकै पनि केही वर्षअघि सिम क्षेत्र पुरेर घडेरी बनाइएको थियो। त्यति बेला स्थानीयले जिल्ला विकास समितिमा उजुरी दिए पनि बेवास्ता गर्दा प्लटिङ गरी घडेरी बनिसकेको छ।
सिमसार क्षेत्रमै पर्ने सेदीमा ५ वर्षअघि होटेल वाटरफ्रन्ट बनाएर चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यले फेवामाथि धावा बोलिसकेका थिए। त्यति बेला विरोधमा उत्रिएका स्थानीय अहिले घडेरी प्लटिङ हुँदा भने मौन छन्।
शाक्यले तालको उत्तरपट्टि सेतीबगरनजिकै होटेल बनाएका हुन् भने अहिले तालको पश्चिम सिरान भकुन्डेमा १२ रोपनीमा प्लटिङ भएको छ। सिमसार क्षेत्रमा पानीको मात्रा हुने भएकाले त्यसमाथि माटो पुरेर घडेरी बनाइएको छ।
अहिले प्लटिङ भएको ठाउँ आफैंमा विवादित जमिन पनि हो। जानकारहरू यो पहिला तालकै जमिन भएको तर पुरिँदै जाँदा व्यक्तिले आफ्नो नाममा बनाएको बताउँछन्।फेवाताल अतिक्रमित जग्गा छानबिन उच्चस्तरीय समितिका संयोजक विश्वप्रकाश लामिछानेका अनुसार २०३१ सालमा बाँध फुटेपछि पानीले केही भाग छोडेको थियो।
०३३÷०३४ सालमा नापी हुँदा त्यसरी तालले छाडेको जमिन व्यक्तिले आफ्नो बनाएको लामिछानको दाबी छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ फागुन ४ मा बनाएको लामिछाने संयोजकत्वको समितिले त्यसरी तालबाट हड्पिएको जमिन सरकारी बनाउनुपर्ने सुझाएको पनि हो।
'तालको आयु सिमसारसँग जोडिने हुँदा सिमसार जोगाउनुपर्छ। सिमसार नरहे ताल पनि नरहन सक्छ।' -डा. तीर्थबहादुर श्रेष्ठ,संरक्षणकर्मी
२०६९ जेठ ३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाइएको प्रतिवेदन भट्टराई र त्यसपछिका सरकारले कार्यान्वयन गरेनन्। रद्दीको टोकरीमा मिल्काइदिए। 'छानबिन समितिले त्यतिबेला अध्ययन गरी २ हजार ९ सय ९२ रोपनी जग्गा बाँध फुटेपछि अतिक्रमण भएको प्रतिवेदन तयार गरी लालपुर्जा खारेज गर्न सिफारिस गरेको हो', लामिछाने भन्छन्।
तत्कालीन सरकारले अतिक्रमित जग्गा खारेजीका लागि अनुमोदन गरे पनि पर्यटन मन्त्रालयमा गएर रोकिँदा अहिलेसम्म खारेज नभएको लामिछानेको दाबी छ। अहिले प्लटिङ भएको जमिन त्यही क्षेत्रको हो। यसलाई सरकारीकरण गर्न समितिले सुझाएको थियो।
कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले फेवाताल संरक्षण गर्ने जिम्मा पोखरा उपमहानगरपालिकाको भएको बताए। स्थानीय बासिन्दा भने खुलेर प्लटिङको विरोधमा उत्रन सकेका छैनन्। जग्गा व्यवसायमा मौलाएको गुन्डागर्दीका कारण उनीहरू त्रसित छन्। तर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भने उनीहरूले उजुरी दिएका छन्।
फेवातालवरपरको डाँडा र सिमसार क्षेत्रमा जथाभाबी डोजर चलाउने र सिमसार क्षेत्र पुर्ने गरिँदा बर्सेनि तालको क्षेत्रफल घट्दै गएको छ। प्रतिवर्ष १ लाख ४२ हजार टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ।
यसैको परिणाम फेवाताल ५ वर्गकिलोमिटर क्षेत्रफलमा सीमित छ। उचित संरक्षणको अभावमा ४० देखि ५० वर्षको अवधिमा ताल ५० प्रतिशत पुरिएको अध्ययनले देखाएको छ।
समुद्र सतहदेखि ७ सय ९३ मिटर उचाइमा रहेको फेवाताल देखाएर यहाँको पर्यटन उद्योग चलेको छ। फेवातालबाट ३ सय ३० हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ। तालको पानीबाट बिजुलीसमेत निकालिएको छ।
यही तालकिनारमा पुस्तौंदेखि बस्तै आएको जलारी समुदायले माछा मारेर जीवन निर्वाह गर्दै आएको छ। फेवाबाटै बगेर आएको पानीले बनेको पातले छाँगो (डेभिस फल) ले पर्यटकलाई लोभ्याएको छ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको २०६४ सालमा प्रकाशित प्रतिवेदनअनुसार त्यतिबेला तालको गहिराइ १८ मिटर, लम्बाइ ४ किलोमिटर र चौडाइ सय मिटरदेखि २ किलोमिटर थियो। सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका अध्ययनमा क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपनीमा सीमित छ।
फेवाको सिमसार क्षेत्रमा हिउँदमा हजारौं चरा साइबेरियादेखि आउँछन्। सिमसार क्षेत्रमा प्लटिङ गरिँदा पर्यावरण र इको सिस्टममा ठूलो असर गर्ने संरक्षणकर्मी राजु आचार्यले बताए। तालको सिमसार क्षेत्रमा बस्ती बस्दा र सिम नासिँदै जाँदा पछिल्लो समयमा हजारौंको संख्यामा बसाइँसराइ गरेर आउने चराको आगमन कम हुँदै गएको चराविज्ञ हरि केसी बताउँछन्।

ताल सिरानको सिमसार क्षेत्रमा धमाधम प्लटिङ..फेवाताल नै सुक्नसक्ने चेतावनी ! Reviewed by a on 8:35 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.