पनामामाथि अर्जेन्टिनाको गोलवर्षा, मेसीको ह्याट्रिक
काठमाडौं: कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत शनिबार बिहान भएको खेलमा लियोनेल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले पनामालाई ५-० को फराकिलो अन्रतले पराजित गरेको छ।
समूह डी अन्तरगतको दोस्रो खेलमा पनामालाई हराउँदै अर्जेन्टिना प्रतियोगिताको अन्तिम आठमा पनि पुग्न सफल भएको छ।
कप्तान लियोनेल मेसीलाई पहिलो हाफ र दोस्रो हाफको १५ मिनेट बेन्चमा राखेको अर्जेन्टिनाले अग्रता भने डिफेन्डर निकोलश ओटामेन्डीको गोलमा लिएको थियो।
एन्जेल डी मारियाले दिएको फ्रि किक बललाई पनामाको पोस्ट नजिकैबाट हेड गर्दै ओटामेन्डीले खेलको सातौं मिनेटमा जाली चुमाएका थिए।
गोल गरेपनि प्रमुख स्ट्राइकर मेसीबिना खेलेको अर्जेन्टिनालाई पनामाले पनि निरन्तर दबाब दिइरह्यो। सुरुमै उतारिएका गोन्जाले हिगुइन र एन्जेल डी मारिया स्कोर गर्न असफल भएको अवस्थामा खेलको ६२ औं मिनेटमा मेसी मैदान छिरेपछि खेलमा आश्चर्यजनक परिणाम आयो।
अनिबल गुड्डीले ३२ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपनि पहिलो हाफ र दोस्रो हाफको केही समय पनामाले अर्जेन्टिनालाई खुलेर खेल्न दिएको थिएन।
तर, जब मेसी मैदान छिरे, अर्जेन्टिनाले गोलवर्षा शुरु गर्यो। मेसीले मैदान छिरेको पाँच मिनेटमै गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाइदिए। ६८ औं मिनेटमा पहिलो गोल गरेका उनले २५ मिनेटभित्र ह्याट्रिक पुरा गरे।
६८ औं मिनेटमा पहिलो गोल गरेका मेसी त्यतिमै रोकिनेवाला थिएनन्। उनले आफ्नो जादुयी कला देखाउँदै ७८ औं मिनेटमा फ्री किकबाट अर्को सुन्दर गोल थपे।
असम्भव लाग्ने कोणबाट मेसीले पनामाको पर्खाललाई चिर्दै फ्री किकबाट गोल गरेका थिए। फ्री किकबाट सुन्दर गोल गरेका मेसीले खेलको ८७ औं मिनेटमा डी बक्सभित्रबाट पनामा खेलाडीलाई भुक्याउँदै अर्को गोल थपे।
त्यसपछि मार्कोस रोजोको पासमा बेन्चबाटै आएका म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरोले ९० औं मिनेटमा गोल गर्दै ५–० को फराकिलो जित सुनिश्चित गरे।
पनामाविरुद्धको ह्याट्रिकसँगै मेसीले अर्जेन्टिनाका लागि गरेको गोल संख्या ५३ पुगेको छ। अब उनी सर्वाधिक ५६ गोल गरेका ग्याब्रियल बाटिस्टुटाको रेकर्ड भेट्टाउन तीन गोलले पछि छन्।
यो जितपछि अर्जेन्टिना समूह डीबाट ६ अंक बनाउँदै अन्तिम आठमा पुगेको छ। यही समूहमा चिली र पनामाले समान ३ अंकसहित अर्को चरणमा प्रवेश गर्ने सम्भावना जीवितै राखेका छन्।
उनीहरुले अर्को चरणको प्रवेशका लागि तेस्रो तथा अन्तिम खेलमा एकअर्काबीच प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। अर्जेन्टिाले समूह चरणको अन्तिम खेल आगामी बुधबार अंकबिहीन रहेको बोलिभियाविरुद्ध खेल्नेछ।
No comments: