चौबिस घण्टाभित्रै यसरी मारिए ५७ जना
काबुल, ३० जेठ- अफगानिस्तानमा एक दिनभरी सुरक्षाबल र आतङ्ककारीबीच भएको झडप र चालकरहित विमान आक्रमणमा ४६ भन्दा बढी आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा ११ अफगान सैनिकले समेत ज्यान गुमाएका छन् ।
अफगान गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ । अफगानिस्तानको कैयौँ स्थानमा गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा ४६ आतङ्ककारी मारिनुको साथै अन्य २४ घाइते भएका छन् ।
यस कारबाहीमा परी अन्य चार आतङ्ककारी पक्राउ परेका सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
मारिएका आतङककारीमा एक हक्कानी सञ्जालका सदस्य र १३ जना आइएसआवद्ध आतङ्ककारी रहेका पनि सो विज्ञप्तिमा प्रष्ट पारिएको छ । आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
चालकरहित विमान आक्रमणमा चार आइएस लडाकू मारिए
यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा शनिबार राति अमेरिकासँग आवद्ध चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा चार आइएससम्बद्ध आतङ्ककारी मारिएका छन् । प्रान्तीय सरकारले आइतबार सो समाचारको पुष्टि गरेको छ ।
आचिन जिल्लाको महमान्दो इलाकामा अन्तर्राष्ट्रियबलको एक समूहले गराएको यस ड्रोन आक्रमणमा ती चार आतङ्ककारी मारिएका प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा भएको एक सैनिक कारबाहीमा शनिबार पनि आइएसका कम्तीमा १३ जना लडाकू मारिएका थिए ।
पाकिस्तानको सीमा क्षेत्रमा रहेको अफगानिस्तानको आचिन जिल्ला गएको दुई महिनायता अफगान सुरक्षाबल र आइएस लडाकूबीच झडप जारी रहेको छ ।
पछिल्लो समयमा अफगानिस्तानमा पनि आइएसको प्रभाव फैलिन थालेकोले यसतर्फ सचेत हुन अमेरिकाले बेलाबेलामा भन्ने गरेको छ । रासस/सिन्ह्वा
kathmandutoday
No comments: