Top Ad unit 728 × 90

a
Ad Inside Post

एसएसपी, चार डिएसपी र २० इन्स्पेक्टरको राजीनामा

नेपाल प्रहरीमा सेवा अवधि रहँदै राजीनामा दिने लहर चलेको छ । सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन् । पछिल्लोपटक एसएसपी सुबोध घिमिरेले राजीनामा दिएका छन् । दुई वर्ष जागिर अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी वर्ष डिआइजीमा बढुवा हुने सम्भावना थियो । तर, उनले बीचमै राजीनामा दिए ।
उद्यपि, उनले असन्तुष्टिका कारण राजीनामा नदिएको बताएका छन् । ‘कलासम्बन्धी कामलाई समय दिन राजीनामा दिएको हुँ,’ एसएसपी घिमिरेले भने । दुई वर्षअघि काठमाडौं प्रहरी प्रमुखसमेत भएका उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । उनी चित्रकलाका सर्जकसमेत हुन् । चित्रकलासम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थामा सक्रिय भएपछि उनले जागिर छाडेका हुन् ।
तल्लो तहमा मात्र होइन प्रहरीमा उच्च तहमा पुग्ने सम्भावना बोकेका सिनियर अधिकृतले समेत जागिर छाड्न थालेका छन् । गत महिना मात्र ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए भने डिएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छाडे ।
नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पाँचजना प्रहरीले राजीनामा दिने गरेका छन् । ११ महिनाको अवधिमा एक हजार चार सय ११ जनाले राजीनामा दिएका छन् । जसमध्ये चार डिएसपी र २० इन्स्पेक्टर छन् ।
राजीनामा दिने डिएसपीमा थापासागै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन् । त्यस्तै, १११ प्रहरी नायब निरीक्षक (सइ) तथा तीन सय ४६ जना प्रहरी सहायक निरीक्षक (असइ)ले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राजीनामा दिनेमध्ये सबैभन्दा धेरै प्रहरी हवल्दार छन् । करिब ११ महिनामा ५२९ जनाले राजीनामा दिएका छन् । त्यसैगरी तीन सय ९९ जवान र ४४ कार्यालय सहयोगीले पनि बीचैमा जागिर छाडेका छन् ।
किन छाड्छन् जागिर ?
राजीनामा दिने धेरैजसो विदेश जाने गरेका छन् । कतिपयले राष्ट्रसंघमा आकर्षक अवसर पाएपछि जागिर छाड्दै आएका छन् । तल्लो तहका प्रहरीले पनि पूर्वप्रहरीको अनुभव हुने भएकाले विदेशमा राम्रो अवसर पाउँदा जागिर छाड्ने गरेका छन् । केहीले त पेन्सन अवधि नै नपुगी जागिर छाड्न थालेका छन् ।
समयमा बढुवा नहुने, कामको बोझअनुसार सेवा–सुविधाको अभाव र पूर्वप्रहरीलाई सेक्युरिटी पेसामा विदेशमा आकर्षक तलब हुने भएकाले राजीनामा बढेको हो । धेरैले पेन्सनको अवधि पुगेलगत्तै जागिर छाड्ने प्रचलन छ । प्रहरीको तलबबाट परिवारको खर्च धान्न नसकेपछि कतिपय छाडेर व्यापार–व्यवसायमा लाग्ने गरेका छन् ।
‘तल्लो तहका कतिपय प्रहरी पेन्सन पाकिसकेपछि जागिरमा घोत्लिरहन चाहँदैनन्,’ प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले भने, ‘घरमै बसेर आधा तलब आउँछ, अरू काम गर्दा थप कमाइ हुने भएकाले राजीनामा दिएको हुनसक्छ ।’ उनले यसलाई जागिरमा असन्तुष्टिका रूपमा हेर्न नमिल्ने बताए ।
‘प्रहरीले एकातिर राम्रो जनशक्ति पाउन कठिन छ, अर्काेतर्फ भर्ना भएका राम्रो प्रहरीलाई टिकाउन झनै चुनौतीपूर्ण छ,’ पूर्वएआइजी नवराज ढकालले भने, ‘पूरै अवधि संगठनमा टिकाउने किसिमको नीति बनाउनु जरुरी छ ।’ प्रहरीले पूरै अवधि जागिर खाने वातावरण बन्ने गरी पेन्सन योजना बनाउनु आवश्यक रहेको उनले बताए ।
६ महिनापछि इन्स्पेक्टर बढुवा
पदहरू रिक्त भएको करिब ६ महिनापछि ६५ जना सइको इन्स्पेक्टरमा बढुवा सिफारिस भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेतृत्वको बढुवा सिफारिस समितिले बुधबार वरिष्ठताका आधारमा इन्स्पेक्टर बढुवाको सिफारिस गरेको हो । गत मंसिरदेखि नै सइका करिब ५० पद रिक्त छन् । समयमा बढुवा हुन नसक्दा संगठनमा निराशा छाएको थियो । सइको बढुवा भएपछि तल्लो तहको बढुवाको जाम पनि खुलेको छ । सइमा करिब सय पद रिक्त छन् । बढुवामा हुने दबाब र चलखेलले बढुवा निर्णय सधैँ लम्बिने गरेको छ ।

एसएसपी, चार डिएसपी र २० इन्स्पेक्टरको राजीनामा Reviewed by a on 3:07 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.