धान आयात ह्वात्तै घट्यो!भारत सरकारले धानको निर्यातमा बन्देज
भारत सरकारले धानको निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि धानको आयात उल्लेखनीय रूपमा घटेको छ । चामलको आयातमा भने केही वृद्धि भएको पाइएको छ ।
विराटनगर भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा विराटनगर नाका हुँदै भारतबाट दुई अर्ब ४७ करोड ४६ लाख ८७ हजार मूल्यबराबरको ९ करोड ८५ लाख ९० हजार किलोग्राम धान आयात गरिएको थियो ।
उक्त धानबाट भन्सार कार्यालयले १२ करोड ५२ लाख २५ हजार राजस्व प्राप्त
गरेको थियो ।
तर, चालू आर्थिक वर्ष ०७२/७३ को वैशाख मसान्तसम्ममा विराटनगर नाका हुँदै भारतबाट १ करोड ६९ लाख ६१ हजार किलोग्राम धान आयात गरिएको छ । उक्त धानको मूल्य ४५ करोड ७ लाख रहेको र यसबाट २ करोड २८ लाख ५७ हजार राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
कस्तो छ धान आयातको अनुपात ?
अघिल्लो आर्थिक वर्ष ०७१/७२ को तथ्यांक हेर्दा विराटनगर नाकाबाट औसतमा प्रतिमहिना ८२ लाख किलोग्राम धान आयात गरिएको देखिन्छ । तर, यो वर्ष अघिल्लो वर्षको अनुपातमा अत्यन्त कम प्रतिमहिना १ करोड ६९ लाख ६१ हजार किलोग्राम मात्र आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा २ महिनामा गरिएको आयात चालू आर्थिक वर्षको १० महिनामा गरिएको छ ।
चामलको आयातमा वृद्धि
भारतबाट नेपालतर्फ आयात गरिने चामलको परिमाणमा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा विराटनगर नाका हुँदै भारतबाट ४ करोड ९६ लाख ५८ हजार किलोग्राम चामल आयात गरिएको छ । उक्त चामलको मूल्य १ अर्ब ८८ करोड ८८ लाख ३८ हजार रहेको र यसबाट १५ करोड ९ लाख राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विराटनगर नाकाबाट वैशाख मसान्तसम्ममा ४ करोड ५० लाख ५२ हजार किलोग्राम चामल आयात गरिएको छ । उक्त चामलको मूल्य १ अर्ब ८२ करोड ५४ लाख ९० हजार र यसबाट संकलित राजस्व १४ करोड ६७ लाख २२ हजार रहेको कार्यालयले जनाएको छ ।
किन घट्यो धानको आयात ?
मोरङ व्यापार संघका पूर्वअध्यक्ष एवं चामल उद्यमी अविनाश बोहराका अनुसार धानको आयात ह्वात्तै घट्नुको मुख्य कारण भारतले निर्यातमा लगाएको परिमाणात्मक बन्देज नै हो । भारतका व्यापारीले नेपालतर्फ धान निर्यात गर्नुपरेमा निर्यातको उचित कारण देखाएर त्यहाँको प्रशासनिक निकायसित स्वीकृति लिनुपर्ने हुन्छ ।
अर्का चामल उद्योगी राजु सिंगापुरीको कथन थियो, ‘अघिल्लो वर्ष आयात गरिएको धानको मौज्दात धेरै भएकाले आयातमा कमी देखिएको हो । अहिले पनि नेपालका उद्योगले गत वर्ष आयात गरेको धान नै प्रयोग गरिरहेका छन् ।’ यसबाहेक यस वर्ष नेपालमा उत्पादन बढेका कारणले पनि धानको पैठारीमा ह्रास आएको हो ।
भुटानी शरणार्थी अर्को कारण
उद्योगी सिंगापुरीका अनुसार नेपालमा रहेका करिब ८० हजारको संख्यामा भुटानी शरणार्थी विदेश गएका कारण पनि पूर्वाञ्चलको धान र चामलको खपतमा ह्रास आएको छ ।
‘कुनै वेला १ लाखभन्दा बढी भुटानी थिए, वार्षिक १ करोड २५ लाख किलोग्रामभन्दा बढी चामल खपत हुन्थ्यो,’ सिंगापुरीले भने, ‘अब २०/२२ हजारको संख्यामा मात्रै शरणार्थी छन् ।’
बढ्यो विकृति
भारत सरकारले धानको निर्यातमा परिमाणात्मक बन्देज लगाएसँगै चामलको कारोबारमा विकृति देखापर्न थालेको छ । व्यवसायीले भारतबाट बोराका बोरा चामल पैठारी गरेर नेपालमा आफूले दर्ता गरेको ब्रान्डमा रिप्याकिङ गरी बिक्री गर्न थालेका छन् । यसलाई बन्द गर्न सरकारी भूमिका आवश्यक रहेको पूर्वअध्यक्ष बोहराले बताए । खुला सिमानाका कारण चामलको अवैध पैठारी पनि त्यत्तिकै भइरहेको छ ।
उत्पादन पनि घटिरहेछ
कृषि विकास मन्त्रालयले आगामी २ वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य राखे पनि उत्पादनमा निरन्तर गिरावट आइरहेको छ । चालू आर्थिक वर्ष २०७२/७३ मा धान उत्पादन १०.२ प्रतिशतले घट्ने अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ । उत्पादन घटेर ४२ लाख ८८ हजार टन उत्पादन हुने अनुमान छ । गत वर्ष पनि ५ प्रतिशतले उत्पादन घटेर ४७ लाख ८८ हजार टन उत्पादन भएको थियो । त्यसअघि आव ०७०/७१ मा हालसम्मकै सबैभन्दा बढी ५० लाख ४७ हजार टन उत्पादन भएको थियो । बर्सेनि उत्पादन घट्दै जाँदा चामल आयात भने बढेको छ । चालू आवको ९ महिनामा १६ अर्ब १८ करोड ५० लाख ४ हजार ३ सय ८७ रुपैयाँको चामल आयात भएको थियो । सरकारले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिएपनि त्यसअनुसार कुनै कार्यक्रम नगर्दा उत्पादन घट्ने र आयात पनि बढ्ने भइरहेको छ ।
Reviewed by a
on
2:42 AM
Rating:
No comments: