जुनसुकै बेला शेयरबजार प्रवेश गर्दा हुन्छ?:--सेयर बजार घट्दै छ वा बढ्दै छ भन्ने विषयमा साधारण लगानीकर्ताले कसरी थाहा पाउने ?
नयाँ लगानीकर्ता अहिले सेयर बजारमा प्रवेश गर्नु उचित हो कि होइन ?
सेयर बजारमा प्रवेश गर्न कहिले उचित र कहिले अनुचित भन्ने हुँदैन । जुनसुकै बिन्दुबाट प्रवेश गर्दा पनि लगानीकर्ताले कमाउन वा गुमाउन सक्छन् । त्यसकारण कहिले बजार प्रवेश गर्ने भन्नुभन्दा बजारबाट कहिले निस्कने भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । बजारबाट कसरी लाभ लिन सकिन्छ र कति लाभ प्राप्त हुन्छ भन्ने महत्त्वपूर्ण हो । आफूलाई लाभ हुने अवस्थामा सेयर बेच्न सकिन्छ भने जुनसुकै वेला बजार प्रवेश गर्दा हुन्छ ।
तर, अहिले बजारको समष्टिगत सूचकांक अलि चुलिएको वेला छ । यस्तो वेला जोखिम अलि बढी हुन्छ । त्यो जोखिमलाई कसरी घटाउने भनेर विश्लेषण गर्न आवश्यक पर्छ । चनाखो भएर लगानी गर्ने हो भने अहिले बजार प्रवेश गर्नु उपयुक्त नै छ ।
अहिलेको अवस्थामा बजार प्रवेश गर्ने लगानीकर्ताले कुन–कुन कुरामा बढी ध्यान दिनुपर्छ ?
कम्पनीको प्रदर्शन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । लगानीकर्ताले हेर्नुपर्ने पनि त्यही हो । विगतका वर्षमा कति लाभांश दिएको छ भन्ने कुरामा ध्यान दिनुपर्छ । मासिक रूपमा केही रकम छुट्याएर लगानी गर्दै जाने हो भने त्यसले आफैँ पनि जोखिम घटाउँछ । यसो गर्दा वर्षभरि किनेको सेयरको लागत मूल्य औसत स्तरमा झर्ने हुँदा जोखिम घट्छ ।
नयाँ लगानीकर्ताले कस्ता कम्पनीका सेयर किन्नु उचित हुन्छ ?
जोखिम कम भएको, निश्चित लाभांश दिन सक्ने कम्पनीको सेयर किन्दा राम्रो हुन्छ । आधारभूत रूपमा बलियो वित्तीय स्वास्थ्य भएको कम्पनी छान्नुपर्छ । लामो समयदेखि नाफा बढाउँदै गएको र व्यावसायिक विस्तार पनि राम्रो भएको कम्पनी छानेर लगानी गर्दा जोखिम कम हुन्छ । आकर्षक प्रतिफल (लाभांश) दिइरहेका कम्पनी छान्नुपर्छ ।
अहिले बजारमा प्रवेश गर्ने लगानीकर्ताले कुन कम्पनीको सेयर किन्ने त ?
फलानो कम्पनी भन्न त सकिन्न । तर, लाभांश छिटो पाउने भएकाले अहिले बैंकको सेयर किन्दा राम्रो हुन्छ । तर, पुँजीगत लाभ बढी चाहिएको छ, जोखिम पनि बढी नै लिन्छु भन्ने हो भने अझै पनि बिमा कम्पनीको सेयर किन्दा ठीक होला । बिमाको सेयर तुलनात्मक रूपमा बढी उतार–चढावमा देखिएकाले यसमा लाभ र जोखिम दुवै उच्च छ । कुन सेयर किन्ने भन्ने कुरा लगानीकर्ताको आवश्यकता र जोखिम बहन गर्ने क्षमतामा भर पर्छ ।
लगानीकर्ताले अहिले कस्ता सेयर बेच्नु उचित हुन्छ ?
यसलाई पनि धेरै कुराले निर्धारण गर्छ । समसामयिक घटनाक्रम, नीतिगत परिवर्तनजस्ता कुराले सेयरको सम्भावित मूल्यलाई प्रभाव पार्छ । नीतिगत परिवर्तनका घटनालाई ध्यान दिनुपर्छ । समयको लाभ (टाइम बेनिफिट) पाउन अहिले अधिमूल्यन् (ओभर भ्यालू) भएका सेयर बेच्नु उचित हुन्छ । मेरो विचारमा अहिले बिमाको सेयर बेचेर दोस्रो चरणमा (केही महिनापछि) बिमाकै सेयर किन्दा फाइदा हुन्छ । तर, यही बीचमा बिमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने कुरा आएको छ । यसले बिमाको सेयर महँगिन पनि सक्छ । कम्पनीको पर्फरमेन्स र नीतिगत परिवर्तनलाई नजिकबाट नियालेर कारोबार गर्नुपर्छ ।
सेयर बजार घट्दै छ वा बढ्दै छ भन्ने विषयमा साधारण लगानीकर्ताले कसरी थाहा पाउने ?
यसका लागि समष्टिगत आर्थिक सूचकहरूको अध्ययन गर्ने, आर्थिक विषयका समाचार हेर्ने गर्नुपर्यो । हालै मात्र नयाँ बजेट आएको छ । बजेटले कुन क्षेत्रलाई कस्तो प्रभाव पार्छ ? त्यसले पनि सेयरको मूल्य प्रभावित हुन्छ । कम्पनीहरूको व्यावसायिक विस्तार र नाफामा कस्तो प्रभाव परेको छ भनेर नियाल्नुपर्छ । नियामक निकायले कुनै नयाँ कदम चाल्दा पनि सेयरको भाउमा प्रभाव पर्ने गर्छ । यस्ता सूचनामा पहुँच स्थापित गर्ने, सूचनाको सही विश्लेषण गर्ने हो भने मूल्यमा आउने फेरबदलको पूर्वानुमान गर्न सकिन्छ । अर्को कुरा व्यापार रकम र सेयरको माग तथा आपूर्तिको शृंखलालाई हेर्नुपर्छ । त्यसले पनि बजार कुन दिशामा गएको छ भन्ने आँकलन गर्न सघाउ पुग्छ ।
तपाईंको विचारमा बैंकमा बचत गर्नु ठीक हो कि सेयरमा लगानी गर्नु ठीक हो ?
लगानीकर्तामा भर पर्छ । प्रतिफलको हिसाबले हेर्ने हो भने सेयरमा लगानी गर्नु राम्रो हुन्छ । तर, यसमा जोखिम पनि त्यत्तिकै हुन्छ । प्रतिफल जति भए पनि सावाँ सुरक्षित गर्नुपर्छ भन्ने हो भने बैंकमा निक्षेप राख्दा नै उचित हुन्छ । लगानीकर्ताको आवश्यकता वा माग के हो भन्ने आधारमा लगानीको क्षेत्र छान्नुपर्छ ।
अहिलेको अवस्थामा जीवन बिमाको पोलिसी किन्दा बढी फाइदा होला कि सेयर किन्दा ?
जीवन बिमामा भन्दा सेयरमा नै बढी प्रतिफल हुन सक्छ । तर, बिमा गर्दा पोलिसी सक्रिय हुन्छ । यसले सम्भावित जोखिम हस्तान्तरण पनि हुने हुँदा अर्को फाइदा छ । ठूलो आम्दानी हुनेले बिमा गर्दा आयकर छुट पाउँछन् । त्यसबाट पनि लाभ हुन सक्छ । तर, बिमाको पोलिसीबाट सेयरमा जस्तो अल्पकालमा पुँजीगत लाभ पाउने सम्भावना कमजोर छ ।
सरकारी ऋणपत्रमा लगानी गर्नुचाहिँ कत्तिको फाइदाजनक छ ?
सरकारी ऋणपत्र झन् बढी आकर्षक हो । जोखिम नहुने, सावाँ सुरक्षित हुने, निश्चित ब्याज पनि सुरक्षित हुने र बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी ब्याज प्राप्त हुने भएकाले सुनिश्चित लाभ चाहनेका लागि ऋणपत्र निकै आकर्षक हो । त्योभन्दा पनि बढी नाफा चाहिने हो भनेचाहिँ जोखिम लिएर सेयरमै लगानी गर्नुपर्छ ।
थोरै रकम लगानी गर्न चाहने लगानीकर्तालाई कस्तो सल्लाह दिनुहुन्छ ?
सेयर बजारमा कारोबार रकम घटेको छ कि छैन भन्ने कुरा बढी महत्त्वपूर्ण हो । अहिले वित्तीय प्रणालीमा भएको उच्च तरलता (लगानीयोग्य रकम)ले बजारलाई स्थिर रूपमा बढाइरहेको छ । सरकारको बजेटले उच्च आर्थिक वृद्धिको लक्ष्य लिएको भने पुनर्निर्माणमा हुने खर्चले तरलता अझ बढ्न सक्छ । यस आधारमा हेर्ने हो भने बजार अझै उकालो लाग्न सक्छ । त्यसकारण लगानी गर्नु गलत होइन । तर, बजारमा आँखा चिम्लेर बस्ने अवस्थाचाहिँ छैन । बजारलाई सूक्ष्म निगरानीमा राखेर लगानी गर्नुपर्छ
Reviewed by a
on
1:52 AM
Rating:
No comments: