वैद्य कमरेडलाई खुला पत्र
प्रिय कमरेड !
नेपालको कम्युनिस्ट आन्दोलनमा फेरि तपाईंंमाथि केन्द्रित रहेर बहस सुरु भएको छ, सकारात्मक–नकारात्मक दुवै कोणबाट । कतिपयले तपाईंंलाई निष्ठा र आदर्शको राजनीति गर्ने नेता भन्दै छन्, त कतिपयले समयको गति पक्डिन नसक्ने ‘जड’ नेताका रूपमा पनि टिप्पणी गर्दै छन् । विभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरूको एकताका सन्दर्भमा तपाईंंले लिनुभएको बाटोले भने तपाईंंको नाकारात्मक कोणबाटै बढी चर्चा छ ।
अरूले जे–जसरी तपाईंंका बारेमा टिप्पणी गरे पनि मैले तपाईंंलाई नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको संरक्षण गर्ने नेताको रूपमा नै बुझ्दै आएको हुँ । जतिवेला नेपालको कम्युनिस्ट आन्दोलन धराशायी वा विसर्जनतिर जान खोजेको छ, त्यो वेला तपाईंंले दृढतापूर्वक क्रान्तिकारी धारको संरक्षण गर्दै आउनुभएको पनि हो ।
०४२–४३ सालमा मोहनविक्रम सिंहसँगको अन्तरसंघर्षमा तपाईंंले क्रान्तिकारी धारकै संरक्षण गर्नुभयो । त्यही क्रान्तिकारी धार पछि आएर एकता केन्द्रको रूपमा विकास भयो । तपाईंंले क्रान्तिकारी धारको संरक्षकत्व गरिदिएकै कारण त्यही धारमा टेकेर प्रचण्डले क्रान्तिलाई अगाडि बढाउन नेतृत्व गर्ने अवसर पाउनुभयो । कम्युनिस्ट आन्दोलनको लक्ष्य उद्देश्य पूरा गर्न तपाईंं अनिवार्य पूरक व्यक्तिका रूपमा उभिई नै रहनुभयो ।
तपाईंं अहिलेसम्म कम्युनिस्ट विचारलाई आफ्नो जीवन व्यवहारमा लागू गर्ने नेताको रूपमा स्थापित हुनुहुन्छ । अहिलेसम्म संशोधनवादसँग सम्झौता नगर्ने नेपालका कम्युनिस्ट नेताका रूपमा तपाईं चिनिनुभएको पनि छ । राष्ट्रियताको सवालमा कत्ति पनि नझुक्कने गुण तपाईंसँग छ ।
किरण कमरेड,
तपाईंका यी सकारात्मक पक्ष हुँदाहुँदै पनि थुप्रै नकारात्मक पक्ष देखापर्न थालेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन वा मालेमावाद विचारको संरक्षण गर्दागर्दै खासखास अवस्थामा कमीकमजोरीहरू देखिएका छन् । तपाईंं विकसित राजनीति र कूटनीति बुझ्न नसक्ने नेताका रूपमा चिनिनुभएको छ । तपाईंसँग संगठनात्मक कला पनि देखिएन । जोखिमसँग खेल्न हिचकिचाउनुभयो । कमरेड किरण † यसो भनिरहँदा तपाईंसँग राजनीतिक रूपमा अलग भएपछि लगाइएको आरोप भन्ने ठान्नुहोला ।
माओवादी आन्दोलनमा भएको टुटफुटमा तपाईंले क्रान्तिकारी धारकै प्रतिनिधित्व गर्नु त भयो, तर तपाईंले २१औँ शताब्दीको वस्तुगत परिस्थितिअनुसार कम्युनिस्ट आन्दोलनको विचारलाई स्थापित गर्न सक्नुपर्ने हो, त्यसमा तपाईं आफैँले पनि विकास गर्न सक्नुभएको छैन । एक्काइसौँै शताब्दीका अन्तरविरोधहरूलाई चिर्नसक्ने वा अन्तरविरोधहरूलाई समाधान गर्नसक्ने क्षमताको विकास तपाईंले गर्न सक्नुभएको छैन । तपाईंले मात्र होइन, अन्य कम्युनिस्ट नेताहरूले पनि २१औँ शताब्दीका अन्तरविरोधलाई सकारात्मक रूपमा अगाडि लैजानसक्ने र निष्कर्षमा लैजानसक्ने हैसियत देखाउन सकिरहनुभएको छैन ।
कमरेड प्रचण्ड, विप्लवहरूले राम्रो, नराम्रो जेजस्तो भए पनि एउटा दिशा पक्डिनुभएको छ, तर तपाईंले क्रान्तिकारी विचारको प्रतिनिधित्व गरिरहँदा पनि आफ्नो धारको दिशा पक्डिन सक्नुभएको छैन । आगामी दिशा पहिल्याउने र अगाडि बढ्ने हिम्मत तपाईंमा देखिएको छैन ।
कमरेड,
तपाईंकै शब्दलाई सापटी लिएर भन्ने हो भने प्रचण्ड संसद्वादमा छन्, विप्लव महत्त्वाकांक्षामा फसेका छन् । उनीहरू दुवैले माक्र्सवाद, लेनिनवाद र माओवादविनाको दिशा पक्डिरहेका छन् । तर, तपाईं मालेमावादको विचार पक्डिएको मान्छेले खोइ त हामीहरूलाई दिशा देखाउन सक्नुभएको ? तपाईं नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि साम्राज्यवादी अन्तरविरोधलाई चिर्दै जसरी अगाडि बढनुपर्ने थियो । समाजवादलाई स्थापित गर्दै जाने गरी राजनीतिक कार्यदिशाको विकास गर्दै अगाडि बढनुपर्ने हो ।
प्रचण्डसँग तपाईंको नेतृत्वमा माओवादी विभाजन भयो । त्यो विभाजन प्रचण्ड कमरेड कम्युनिस्ट विचारलाई विकास गर्ने भन्दै संशोधनवादसँग सम्झौता गर्न गएका कारण भएको थियो । प्रचण्ड कमरेडलगायत पार्टीको मूल नेतृत्व संसद्वादमा पतन हुने स्तरमा पुगेको देखेपछि तपाईंको नेतृत्वमा हामीले क्रान्तिकारी झन्डा उठाएका थियौँ ।
तर, हाम्रो त्यो विद्रोहले क्रान्तिकारी झन्डाको संरक्षण त भयो, तर त्यसको विकास गर्ने सवालमा नेतृत्वका हिसाबले तपाईंमा सधैँ समस्या देखिई नै रह्यो । तपाईंको नेतृत्वमा त्यसको विकास गर्न समस्या देखापरेपछि विप्लव कमरेड पनि अलग हुनुभयो । अहिले फेरि तपाईंको नेतृत्वमा रहेको पार्टीमा बादल कमरेडको नेतृत्वमा विभाजन देखापर्यो । यो विभाजन किन भयो ? तपाईंले कहिल्यै गम्भीर समीक्षा गर्नुभएको छ ?
तपाईंले पनि सही विचारलाई समातेर मात्रै पुग्दैन । तपाईंका संगठनात्मक समस्या, गतिशील राजनीतिसँग खेल्न नसक्ने प्रवृत्तिले पार्टीलाई गतिशील बनाउन सक्दैन । त्यसले त झन्पछि झन् कार्यकर्ताहरू विसर्जित हँुदै जाने, संगठन हराउँदै जाने खतरा देखापर्ने निश्चित छ । टुटफुटबाट कमजोर बनेको पार्टी र माओवादी आन्दोलनलाई जोगाउने संस्थागत जिम्मेवारी हिजो सँगै लडेका तपाईं, प्रचण्डदेखि बाबुरामसम्म सबैको हो । हामी कोही पनि यसबाट भाग्न सक्दैनौँ ।
एकपटक संशोधनवादसँग भए पनि सम्झौता गर्दै र अहिले प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै केही बृहत् तयारी गर्नुपर्ने आवश्यकता अहिले हामी माओवादीको हो । त्यसका लागि पनि हामीले एकपटक प्रचण्डलाई सहयोग गर्नुपर्छ । तपाईंले साथ छोडिदिँदा प्रचण्ड कमरेडले संशोधनवादलाई निरन्तरता दिने खतार पनि उत्तिकै छ । त्यसकारण पनि कमरेड किरण, प्रचण्डलाई तपाईं हामी सबै मिलेर एकपटक त्यो खतराबाट मुक्त गर्नुपर्छ । त्यसका लागि पनि हामीले अहिले माओवादी शक्तिहरूबीचको एकतामा जोड दिनुपरेको हो । यो तथ्यलाई तपाईंले पनि बुझनुभएको छ । मात्र बुझ पचाइरहनुभएको मात्र हो ।
तपाईंलाई लाग्ला, प्रचण्डलाई फेरि कसरी
विश्वास गर्ने ? हो, यहीँनेर तपाईंको कमजोरी देखिन पुगेको छ । क्रान्तिकारीहरूले त हरहमेसा जोखिम उठाउनै हिम्मत गर्नुपर्ने होइन र ? माओवादी आन्दोलन कमजोर बनेको र प्राप्त उपलब्धि पनि समाप्त पार्ने चलखेल भइरहेको वेला एकपटक प्रचण्डलाई विश्वास गर्ने जोखिम किन उठाउन सक्नुहुन्न ?
प्रचण्डलाई विश्वास गरिहाल्न गाह्रो छ भनेर तपाईं जुन तर्क अगाडि सार्नुहुन्छ, त्यसले पनि के देखाउँछ भने तपाईं जोखिमसँग खेल्न डराइरहनुभएको छ । जोखिमसँग खेल्न नचाहने हो भने जहाँ पनि विश्वासको संकट पैदा हुन्छ । तपाईंले त एकपटक प्रचण्डलाई संरक्षण गर्ने, दिशानिर्देश गर्ने र सच्याउने मौका एकपटक दिन सक्नुपर्दथ्यो । त्यसो गर्दा तपाईंले फेरि पनि विचारको संरक्षण गरेर अगाडि
बढ्न सक्नुहुन्थ्यो ।
कमरेड किरण,
कुनै जमानामा तपाईं आफैँले प्रचण्डलाई नेतृत्व गर्नसक्ने गुण र क्षमता छ भनेर भन्नुभएको होइन ? नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्छन् भनेर तपाईं आफैँले नेतृत्व दिनुभएको होइन र ? जतिवेलासम्म माओवादी आन्दोलन तपाईंको संरक्षणमा अगाडि बढ्यो, त्यत्तिवेलासम्म यसले गति लिएको थियो । जुनवेलादेखि संरक्षण गर्न छोड्नुभयो, यो विचलनको दिशामा अघि बढ्यो ।
यतिखेर तपाईंको दायित्व हुन आउँथ्यो– छिन्नभिन्न भएको माओवादी आन्दोलनलाई म फेरि संरक्षण गर्न तयार छु, मलाई विश्वास दिलाउनुहोस् । तपाईंंले फेरि पनि एकपटक हाँकेर जाऔँ भन्न सक्नुपर्दथ्यो । १० वर्ष जनयुद्धमा सहकार्य गरेका प्रचण्डलाई अन्तरहृदयका साथ कुरा गरेर अगाडि बढाउन सक्नुहुन्थ्यो । त्यसो गर्नुभएको भए तपाईंसँग कार्यकर्ता पनि हुन्थे, संगठनात्मक कार्यक्रम बन्थ्यो । यसमा तपाईं चुक्नुभएको छ ।
संगठन नै विसर्जन हुने गरी, सिद्धिने गरी हुने विचारको संरक्षणको के अर्थ कमरेड ? जनताविनाको विचार र संगठनको अर्थ हुँदैन । गतिविनाको विचार संगठनको पनि अर्थ हुँदैन । झन्डा फहराउन त सकिन्छ, तर झन्डा फहरिएको अर्थ
पनि लाग्नुपर्दछ ।
कमरेड किरण,
तपाईं नआउँदासम्म माओवादी पार्टी र आन्दोलन अपूरो नै हुन्छ । हामीलाई तपाईंको अभाव खट्की नै रहनेछ । माओवादी आन्दोलनलाई फेरि पनि संगठित गरेर अगाडि बढाउने हो, एक्काइसौँ शताब्दीको अन्तरविरोधलाई चिर्नका निम्ति तपाईंले दृढतापूर्वक समातेको मालेमावाद विचारको जग नै अनिवार्य छ । तपाईंको संरक्षण र क्रान्तिकारी बाटोविना अगाडि बढ्न खोजियो भने त्यसले न तपाईंलाई, न प्रचण्डलाई नै अगाडि बढ्न दिनेछ । यसर्थ पनि तपाईंहरू मिल्नुको विकल्प छैन ।
(थारू नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हुन्)
No comments: