कुन टोलीका खेलाडी कस्ता ?
युवा खेलाडी
इंग्ल्यान्डका फरवार्ड मार्काेस रास्फोड युरो २०१६ मा सहभागी टोलीमध्येका कान्छा खेलाडी हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्काेस अहिले १८ वर्षका भए । ३१ अक्टोबर १९९७ मा जन्मिएका मार्काेसले अघिल्लो महिना मात्र राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । डेब्यु खेलमै गोल गरेका मार्काेससामु युरो २०१६ मा रेकर्ड बनाउने मौका छ । युरो २०१६ का लागि पोर्चुगलको टोलीमा रहेका मिडफिल्डर रेनाटो सान्चेज पनि १८ वर्षका भए । उनी मार्काेसभन्दा दुई महिना जेठा छन् । टर्कीका फरवार्ड इर्मे मोर पनि युरो २०१६ को अर्का कान्छा खेलाडी हुन् । युरोकपमा सबैभन्दा कान्छा खेलाडीको रेकर्ड भने नेदरल्यान्डका जेट्रो विलेम्सको नाममा छ । युरो २०१२ मा उनको १८ वर्ष ७१ दिन उमेरका थिए । युरोकपमा गोल गर्ने कान्छा खेलाडी भने स्विटजरल्यान्डका जोहान भोन्लान्थेनको नाममा छ । उनले २००४ को युरोमा फ्रान्सविरुद्ध गोल गरेका थिए । त्यसवेला उनी १८ वर्ष १ सय ४१ दिनका थिए ।
युवा टोली
युरो २०१६ मा सबैभन्दा युवा टोली इंग्ल्यान्डको हो । इंग्लिस टोलीमा रहेका खेलाडीको औसत उमेर २५.३९ वर्ष छ । इंग्लिस टोलीमा ३ जना खेलाडी २१ वर्षभन्दा कम उमेरका छन् । युवा खेलाडीले भरिएको दोस्रो टोली हो, जर्मनी । जर्मनीको टोलीमा रहेका खेलाडीको औसत उमेर २५.४३ वर्ष छ । जर्मनीको टोलीमा पनि ३ जना खेलाडी २१ वर्षभन्दा कम उमेका छन् । ४ जना २१ वर्षभन्दा कम उमेरका खेलाडी भएको स्विजरल्यान्डको टोलीको औसत उमेर २५.५७ वर्ष छ ।
पाका खेलाडी
युरो २०१६ मा सबैभन्दा पाका खेलाडी हंगेरीका गोलकिपर गाबर किरली बन्दै छन् । ४० वर्ष कटिसकेका गाबर १९९८ यता हंगेरीको टोलीमा छन् । उनले राष्ट्रिय टोलीका लागि अहिलेसम्म १ सय ३ खेल खेलिसकेका छन् । युरो २०१६ का लागि राष्ट्रिय टोलीमा परेका अर्का पाका खेलाडी हुन्, आयरल्यान्डका गोलकिपर साए गिभन । उनी पनि ४० वर्ष पुगिसकेका छन् । हंगेरीका गोलकिपर गाबरभन्दा १९ दिन कान्छा गिभनले १९९६ देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । राष्ट्रिय टोलीबाट अहिलेसम्म १ सय ३३ खेल खेलिसकेका गिभन हाल प्रिमियर लिग क्लब स्टोक सिटीबाट खेलिरहेका छन् । युरो २०१६ मा खेल्न लागेका अर्का बूढा खेलाडी हुन्, इटालीका गोलकिपर बुफोन । बुफोनले १९९७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता बुफोनले राष्ट्रिय टोलीको जर्सीमा १ सय ५७ खेल खेलिसकेका छन् । युरोकप खेल्ने पाका खेलाडीको रेकर्ड जर्मनीका लोथार म्याथ्युजका नाममा छ । युरो २००० मा पोर्चुगलविरुद्ध खेल्दा म्याथ्युज ३९ वर्ष ९१ दिनका थिए ।
पाका टोली
युरो २०१६ मा बढी उमेरका खेलाडीले भरिएको टोली आयरल्यान्ड हो । आयरल्यान्डको टोलीमा रहेका खेलाडीको औसत उमेर २९.३९ छ । टोलीमा ११ खेलाडी ३० वर्ष उमेर कटेका छन् । जसमा ३ खेलाडीको उमेर ३५ वर्षभन्दा बढी छ । अर्काे पाका खेलाडीले भरिएको टोली रसिया हो । ९ खेलाडी ३० वर्षभन्दा बढी उमेरका रहेको रसियन टोलीको औसत उमेर २८.७० हो । चेक टोलीमा पनि ११ जना खेलाडी ३० वर्षभन्दा बढी उमेरका छन् । जसको औसत उमेर २८.७० वर्ष छ ।
अग्ला खेलाडी
युरो २०१६ का लागि राष्ट्रिय टोलीमा परेकामध्ये रोमानियाका गोलकिपर कोस्टेल पन्टिमिलियन सबैभन्दा अग्ला खेलाडी हुन् । उनको उचाइ २.०३ मिटर छ । सन् २००८ यता रोमानियाको राष्ट्रिय टोलीमा रहेका पन्टिमिलियनले २१ खेल खेलिसकेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीमा खासै मौका पाउन नसकेपछि उनले पछिल्ला दुई सिजन सन्डरल्यान्डबाट खेले । हाल भने उनी वाटफोर्डमा आबद्ध छन् । २.०१ मिटर उचाइ भएका इंग्ल्यान्डका गोलकिपर फ्रासर फोर्सटर दोस्रो अग्ला खेलाडी हुन् । तेस्रो अग्ला खेलाडी क्रोएसियाका गोलकिपर लाभ्रे कालिनिकको उचाइ पनि २.१ मिटर नै छ ।
होचा खेलाडी
इटालीका फरवार्ड लोरेन्जो इनसाइन युरो २०१६ का लागि राष्ट्रिय टोलीमा परेका सबैभन्दा होचा खेलाडी हुन् । लोरेन्द्रको उचाइ १.६३ मिटर छ । इटालीका लागि सन् २०१२ यता ९ खेल खेल्दा उनले २ गोल गरेका छन् । युरो २०१६ का अर्का होचा खेलाडी हुन्, उत्तरी आयरल्यान्डका जिमी वार्ड । मिडफिल्डर वार्डको उचाइ १.६५ मिटर छ । ३० वर्षीय वार्डले राष्ट्रिय टोलीबाट २० खेल खेल्दा २ गोल गरेका छन् । स्पेनका फरवार्ड पेड्रो रोद्रिगेज यो संस्करणको युरो खेल्न लागेका तेस्रा होचा खेलाडी हुन् । रोद्रिगेजको उचाइ १.६७ मिटर छ ।
No comments: