सडकमा संसद् बैठकको अध्यक्षता:-अध्यक्ष मनमोहन अधिकारीको निर्वाचनका क्रममा भएको निधनले पार्टीमा झन् प्रतिकूल अवस्था सिर्जना भएको थियो ।
०५४ सालमा एमालेको विभाजनले पीडा दिइरहेकै अवस्थामा ०५६ को आमनिर्वाचनमा सप्तरी–५ बाट म प्रतिनिधिसभामा उम्मेदवार बनेँ । त्यो निर्वाचनमा सम्मानजनक मत प्राप्त गरे पनि म पराजित भएँ । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको निर्वाचनका क्रममा भएको निधनले पार्टीमा झन् प्रतिकूल अवस्था सिर्जना भएको थियो । पराजित भए पनि सम्मानजनक मत पाएकाले मेरो मनोबल उच्च थियो । त्यसैले पराजयका बाबजुद दत्तचित्त भएर पार्टी काममा जुटिरहेको थिएँ । त्यही वेला एक्कासि पार्टीले मलाई राष्ट्रिय सभा सदस्यका लागि पूर्वाञ्चल निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने घोषणा गर्यो । भर्खरै प्रतिनिधिसभामा उम्मेदवार भएकाले त्यो मेरा लागि अप्रत्यासित मात्रै होइन, कल्पनाबाहिरको विषयजस्तो भएकाले म धेरै हर्षित भएँ ।
तिनताका जिविस सभापतिमा दिवाकर भण्डारीलाई उम्मेदवार बनाउँदा पार्टीका स्थानीय साथीहरूले मधेसी–पहाडीबीच विभेदको विषय उठाएका थिए । त्यसकारण पहाडबाट मलाई पनि कम मत आउने आशंका छ भन्ने चर्चा भए पनि मेरो हकमा त्यस्तो देखिएन । पहाडका जिल्लाबाट पनि मेरो पक्षमा भारी मत खस्यो । अन्तत: ०५८ साल असार १३ गते म धनकुटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएँ ।
०००
केही दिनपछि सिंहरदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा दलका नेता तथा पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालले बोलाउनुभयो । त्यहाँ उहाँसँग एकदेखि डेढ घन्टा कुराकानी भयो । त्यस क्रममा उहाँले मेरो पारिवारिक स्थिति, योग्यतालगायत धेरै विषयमा चासो राख्नुभयो । तपाईंले अर्को एउटा महत्त्वपूर्ण जिम्मेवारी पाउँदै हुनुहुन्छ पनि भन्नुभयो । तर, मैले उहाँले के भन्न खोज्नुभएको हो भन्ने तत्कालै बुझ्नै सकिनँ । ४/५ दिनपछि बेलुकाको समयमा राष्ट्रिय सभामा तत्कालीन विपक्षी दलका नेता कमरेड युवराज ज्ञवालीले तपाईंलाई राष्ट्रिय सभामा उपाध्यक्ष पदको उम्मेदवार बनाउने पार्टीले निर्णय गर्दै छ, कतै नभन्नुहोला भन्नुभयो ।
तर, भोलिपल्ट बिहानै बुधबार साप्ताहिकमा ‘रामप्रित पासवान उपाध्यक्ष बन्दै’ शीर्षकमा समाचार छापिएर आयो । त्यो देखेपछि म धेरै नै खुसी भएँ । त्यसपछि मैले तत्काल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहलाई भेटेर मतदान गर्न सहयोगको आग्रह गरेँ । जवाफमा उहाँले भन्नुभयो– अरे † एमाले ब्राह्मणोके पार्टी हैं, वो आपको उम्मेदवार नहीँ बनाएंगे, अगर बनादिया तो आपको मैं भोट दुंगा ।
प्रचार–प्रसारको क्रम सुरु भयो । त्यस वेला पार्टीका तर्फबाट राष्ट्रिय सभामा सुरेन्द्र पाण्डे सचेतक हुनुहुन्थ्यो । उहाँले पनि गजेन्द्रनारायणसँग सहयोग माग्न भन्नुभयो । म उम्मेदवार निश्चित भएपछिचाहिँ उहाँले हाँस्दै एमालेलाई त सहयोग गर्दिनँ, तर तपाईंलाई चाहिँ भोट दिन्छु भन्नुभयो । तर, जब निर्वाचनको मुखमा आएर सद्भावना पार्टीले मलाई होइन, नेपाली कांग्रेसका उम्मेदवार अशोक कोइरालालाई सहयोग गर्ने निर्णय गर्यो । त्यस्तो निर्णय आएपछि मैले गजेन्द्रनारायणलाई सोधेँ, ‘कांग्रेसलाई सहयोगको निर्णय गर्नुभयो, अब मलाई कसरी सहयोग गर्नुहुन्छ ?’ उहाँले पार्टीको निर्णय हो, मेरो होइन भन्नुभयो । गजेन्द्रनारायण आफ्नो वचनमा अडिनुभयो । निर्वाचनको सुरुमै उहाँले मेरो पक्षमा ‘हुन्छ’ भनेर मत जाहेर गर्नुभयो । ३१ मत पाएर म विजयी भएँ । कांग्रेस उम्मेदवार अशोक २६ मत पाएर
पराजित हुनुभयो ।
०००
विजयी भएपछि म धेरै खुसी भएँ । त्यो स्वाभाविक पनि थियो । अध्यक्षको अनुपस्थितिमा सभा चलाउन अध्यक्षता ग्रहण गर्ने कामको जिम्मेवारी मात्रै होला भन्ने मलाई लागेको थियो । उपाध्यक्ष भएपछि राज्यमन्त्रीसरहको सुविधा हुन्छ भन्ने विजयी भइसकेपछि पनि मलाई थाहा थिएन । निर्वाचनपछि शपथग्रहण भयो । मेरो विजयप्रति तत्कालीन अध्यक्ष डा. मोहम्मद मोहसिन धेरै खुसी हुनुभएको थियो । त्यसो त म विजयी हुनुअघि उहाँले मलाई भन्नुभएको थियो, अगर आपका ओर अशोकजीका मत बराबर हो गया तो मे अपना मत देकर आपको विजयी कराउंगा ।
शपथपछि मलाई उपाध्यक्षको कार्यकक्षमा लगियो । त्यतिवेला मलाई थाहा भयो कि उपाध्यक्षले राज्यमन्त्रीसरहको सुविधा पाउने रहेछ । तत्कालै गाड आइपुगे, गाडी चालक आए । मलाई भने अलि अप्ठ्यारोजस्तो अनुभूति भयो । म डेरामा बस्दै आएको मान्छे, गार्ड र दलबल लिएर कहाँ जाने होला ? भन्ने समस्या खडा भयो । त्यही वेला अंगरक्षक असइ रामचन्द्र यादवले हजुरले केही गर्नुपर्दैन, म निवास खोज्छु, त्यसपछि थप व्यवस्थित गरौँला भने । ढुक्क भएँ । राष्ट्रिय सभाका माननीय सदस्य उत्तम महतले पनि मेरो आशय बुझ्नुभएछ । मलाई सम्झाउँदै भन्नुभो, ‘हामी निवास खोज्छौँ, त्यतिन्जेल तपाईं आफ्नै डेरामा बस्नुस् । उहाँलाई मैले भनेँ, ‘म ग्रासरुटको सर्वसाधरणजस्तो मान्छे † मन्त्री क्वार्टरमा बस्न सक्दिनँ । मान्छेहरू भेट्न आउँछन्, भिडभाड आदिले गर्दा मलाई अप्ठ्यारो हुन्छ । त्यसकारण अन्तै डेरा लिएर बस्छु । म बाहिरै डेरामा बस्न थालेँ ।
उपाध्यक्ष नहुँदै मैले राष्ट्रिय सभामा भाग लिएर पहिलोपटक बोलिसकेको थिएँ । दलका नेता तथा महासचिव नेपालले मैले बोलेको ध्यान दिएर सुन्नुभयो । पछि उहाँले प्रतिक्रिया दिनुभयो, राम्रो बोल्नुहुँदोरहेछ । सायद त्यसबाट प्रभावित भएर पनि होला, मेरो नाम उपाध्यक्षका लागि
प्रस्तावित गर्नुभयो ।
०००
तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज, ०५९ मा निरंकुश कदम चालेपछि राष्ट्रिय सभा धेरै दिन चलेन । केही समयपछि मलाई एउटा आपत आइलाग्यो । पहिला आन्दोलनकारी शक्ति कांग्रेस, एमालेलगायत सात दलले आन्दोलन गरिरहेका थिए । राष्ट्रिय सभा मात्रै बाँकी थियो । त्यसकारण सडकमै भए पनि राष्ट्रिय सभाको बैठक गर्नुपर्छ भन्ने चर्चा चल्न थाल्यो ।
बिस्तारै आन्दोलन चर्कियो । एक दिन हामी निरंकुश राजतन्त्रविरुद्ध नारा–जुलुस गर्दै सबैभन्दा अघि राष्ट्रिय सभाका माननीय, त्यसपछि सात दलका नेता र पछिपछि जनता प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरबारको पश्चिम गेटअघि पुग्यौँ । गेट बन्द गरेर हामीलाई भित्र छिर्न दिइएन । त्यसपछि गेटअघि राष्ट्रिय सभाको पहिलो बैठक सम्पन्न भयो, मेरो अध्यक्षतामा । माननीय सदस्यलाई प्रहरीले गेटसम्म पुग्न दिएको थियो । नारा–जुलुस गरेका जनतालाई परै रोकेको थियो । पार्टीले अघि सारेको निरंकुश राजतन्त्रविरुद्धको माग र जनताका मागलाई बैठकले पूर्ण
समर्थन गर्यो ।
०००
यसरी निरंकुश राजतन्त्रविरोधी आन्दोलन तीव्र रूपमा अघि बढ्ने क्रममा फेरि अर्को बैठक आयोजना गर्ने दलबीच सहमति भयो । रत्नपार्कमा भव्यतापूर्वक सानदार ढंगले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त दोस्रो बैठक बस्यो । दलका नेताले बैठकको अध्यक्षताका लागि सभामुख तारानाथ रानाभाट र उपसभामुख चित्रलेखा यादवलाई आग्रह गर्नुभएको थियो । तर, उहाँहरूले मान्नुभएन । संवैधानिक अंगका मान्छेले त्यसरी सडकमा बैठक गर्नु हुँदैन भन्दै इन्कार गर्नुभयो । दलका नेताहरू मेरो कार्यकक्षमा आउनुभयो, उहाँहरूले दुवै सदनको संयुक्त बैठक बस्छ, अध्यक्षता तपाईंले गर्नुपर्छ भन्नुभयो । मैले सोचेँ, पार्टी आन्दोलनमा छ, जनता आन्दोलनमा छन्, म जनताकै प्रतिनिधि हुँ, त्यसैले त्यो जिम्मेवारी पूरा गर्छु । अध्यक्षता गर्न तयार छु भनेपछि नेताहरू पनि खुसी हुनुभयो । दिउँसो ११ बजे म रत्नपार्क पुगेँ । त्यहाँ कांग्रेस, एमाले, मधेसी दलका सबै नेताहरू, सभासद्हरू हुनुहुन्थ्यो । दुवै सदनको त्यो संयुक्त बैठकले भारी बहुमतका साथ निरंकुश राजतन्त्रविरुद्ध प्रस्ताव पारित भएको मैले घोषणा गरेँ । त्यो निकै ठूलो र ऐतिहासिक काम थियो भन्ने बरम्बार अनुभूति हुने गर्छ । त्यसले मेरो प्रतिष्ठा पनि
बढाएजस्तो लाग्छ ।
०००
आन्दोलन अघि बढ्ने क्रममा मैले राष्ट्रिय सभाको उपाध्यक्षको हैसियतमा पाउने गाडीलगायत सेवा–सुविधा पनि त्यागेँ । म पैदलै हिँड्थँे, आन्दोलनमा जान्थेँ । एकपटक आन्दोलनमा लाठीचार्ज भयो, अंगरक्षक मेरो साथमै थिए । सीधा अघि बढ्ने क्रममा टियर ग्यासले लाग्यो, म ढलेँ, बेहोस भएछु । त्यसपछि मलाई अंगरक्षकले बोकेर सुरक्षित ठाउँमा पुर्याएछन् ।
जनआन्दोलन चलिरहेकै थियो । एक दिन राजाका तत्कालीन सचिव पशुपतिभक्त महर्जनले फोन गरेर भन्नुभयो, ‘कांग्रेस पार्टी ठीक छैन, एमाले कांग्रेसको पछि लागेको छ । तर, तपाईंले चाहिँ राजालाई सहयोग गर्नुपर्छ । तपाईंलाई उपाध्यक्ष बनाउँदा दरबारले सहयोग गरेको थियो, राजबाट मनोनित सदस्यहरूले पनि तपाईंलाई मत दिएका थिए । राजाले तपाईंले राम्रो मानिबक्सन्छ, त्यसैले सहयोग गर्नुपर्यो, तपाईंलाई भेटाएरै कुरा गराउँछु । मैले सोचेँ, म आन्दोलनमा छु, त्यस्तो विशेष भेटमा जानु राम्रो हुँदैन । ‘राजाले पार्टी प्रणाली र प्रजातन्त्रलाई मान्नुहुन्छ भने भेट्छु, मान्नुहुन्न भने म त पार्टी राजनीतिबाट आएको र ‘पार्टी सिस्टम’मा चल्ने मान्छे हुँ’ भनेपछि उहाँ चुप लाग्नुभयो ।
०००
राजाले बनाएको सरकारमा राधाकृष्ण मैनाली मनोनित शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँको कार्यकक्षमा एउटा सिफारिसको कामले गएको थिएँ, भेट भयो । उहाँले भन्नुभयो, ‘एमाले राम्रो स्थितिमा छैन, कांग्रेसको पछि कुदिरहेको छ । तपाईं तयार हुनुहुन्छ भने राजालाई भेट्नुस्, रोजेको मन्त्रालय पाउनुहुन्छ, कांग्रेसको पछि लागेर एमाले बिग्रियो ।’ मैले उहाँलाई पनि त्यही जवाफ दिएँ, ‘राजा प्रजातान्त्रिक व्यवस्था र दलीय प्रणालीलाई मान्नुहुन्छ भने ठीक छ, यो स्थानमा पार्टीकै कारण आइपुगेको हुँ, त्यसकारण किन भेटिरहनु कमरेड ?’ यस्ता अनेक प्रयासका साथै प्रलोभन आउँदा पनि राष्ट्र, जनता, प्रजातन्त्रविरुद्ध जान मेरो नैतिकताले दिएन । राजाका मान्छेहरूले दिएका सबै प्रलोभन इन्कार गरेँ ।
No comments: