बौद्धमा किनबेच हुन्छ पासपोर्ट:-भन्छन्– साथीले नेपाली नागरिकता र पासपोर्ट बनाइदिए
नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
कृष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए । १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो । अनुसन्धानको क्रममा उनको पासपोर्ट नक्कली भएको पुष्टि भएको विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश न्यौपानेले बताए ।
आमा भेट्न जान नेपाली पासपोर्टको प्रयोग
छेदुपको साथबाट तिब्बती शरणार्थीको परिचयपत्रसमेत बरामद भएको छ । ‘तिब्बतमा रहेकी आमालाई भेट्न जान आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएका छन्,’ न्यौपानेले भने, ‘उनले बौद्धमा सो पासपोर्ट किनेको अनुसन्धानमा देखिएको छ ।’ सोधपुछका क्रममा राम्रोसँग नेपाली बोल्न नसकेपछि अध्यागमन अधिकारीले शंका लागी छेदुपलाई नियन्त्रणमा लिएका थिए । भोजपुर, दोभाने स्थायी ठेगाना राखेर उनले नागरिक बनाएका थिए । सोही नागरिकताका आधारमा उनले पासपोर्ट लिएका थिए । उनको नागरिकताको आधिकारिकताको विषयमा अनुसन्धान भइरहेको निर्देशक न्यौपानेले बताए ।
गम्भीर अपराध, कमजोर सजाय
पक्राउ परेको १० दिनमै अध्यागमन विभागले उनको मुद्दा अदालतमा पेस गर्यो । मुद्दा दायर भएकै दिन काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्यो, तर सजाय भने ११ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना फैसला गर्यो । ११ दिन हिरासतमा बसेकाले सोहीअनुसार उनलाई त्यति दिनको कैद सजायको फैसला सुनाइयो । जब कि अध्यागमन ऐनअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।
अदालतको फैसलाले अपराधलाई प्रोत्साहन
जाली राहदानी सबैभन्दा गम्भीर किसिमको अपराध मानिन्छ । अझ विदेशीको हकमा सजायसमेत बढी हुने गर्दछ । तर, अभियुक्तले नै आफूले प्रयोग गरेको पासपोर्ट जाली भएको भनेर स्विकार्दा पनि अदालतले सामान्य मात्र सजायको फैसला गर्यो । प्राय: सबैजसो अध्यागमन अपराधमा अदालतले न्यूनतम मात्र सजायको फैसला सुनाउने गरेको छ । यसले अध्यागमनसम्बन्धी अपराधलाई प्रोत्साहन गरेको छ ।
नक्कली पासपोर्ट बनाइदिने व्यक्ति रहस्यमै ?
अदालतमा पाँच हजार रुपैयाँ धरौटी राखेर छुटेका छेन्दुप हाल अध्यागमन विभागकै हिरासतमा छन् । विभागका कर्मचारीले सकेसम्म छिटो उनलाई ‘डिपोर्ट’ गराउने प्रक्रिया थालेका छन्, तर कसले उनलाई नक्कली पासपोर्ट र नागरिकता बनाइदियो भन्ने विषयमा चासो दिएका छैनन् । कतिसम्म भने उनको नागरिकता सक्कली वा नक्कली भन्ने विषयमा समेत अनुसन्धान गरिएको छैन ।
विभागका निर्देशक न्यौपाने आफूहरूले अध्यागमनसम्बन्धी विषय मात्र हेर्ने भएको बताउँछन् । अन्य विषयमा सरकारी वकिलले हेर्ने उनले जानकारी दिए । नक्कली विवरण राखेर पासपोर्ट बनाउने ठूलै गिरोह पछिल्लो समय सक्रिय भइसकेको छ । यसअघि नेपाली नागरिकता तथा पासपोर्टसहित पक्राउ परेका तिब्बेतियनहरूले पनि बौद्धमा एक व्यक्तिलाई पैसा दिएर नेपाली कागजपत्र बनाइदिएको बताएका थिए । त्यस विषयमा पनि कुनै अनुसन्धान भएको छैन ।
बौद्धमा किनबेच हुन्छ पासपोर्ट
यसअघि पक्राउ परेका तिब्बेतियनहरूले समेत त्यसैगरी बौद्धमा आफूले पासपोर्ट किनेको बताउने गरेका थिए । तर, सो समूहमाथि अनुसन्धान नहुँदा नेपालीको नाममा तिब्बेतियनको फोटो राखेर नागरिकता बनाउने र त्यसैको आधारमा पासपोर्ट बनाउने धन्दा मौलाउँदै गएको छ । यस्ता घटनाको अनुसन्धानमा अध्यागमनले प्रहरीसँग पनि सहकार्य गर्दैन । यसअघि नेपाली पासपोर्ट लिएका विदेशी पक्राउ पर्दा, नक्कली भिसासहित मान्छेहरू पक्राउ पर्दा पनि त्यस्तो काम गर्ने गिरोहमाथि अनुसन्धान हुने गरेको छैन ।
कर्मचारीको मिलेमतोमा पासपोर्ट बन्छ
नेपाली पासपोर्टसहित तिब्बतीहरू पटक–पटक पक्राउ पर्दै आएका छन् । दुई वर्षअघि परराष्ट्रकै कर्मचारीको मिलेमतोमा तिब्बती महिला डेचेन याङताईले सीता तामाङको नाममा नेपाली पासपोर्ट बनाएकी थिइन् । उनी २६ जेठ ०७१ मा विमानस्थलमा पक्राउ परेकी थिइन् । राहदानी विभागका कर्मचारी जितेन्द्र दासको मिलेमतोमा उनले एमआरपी बनाएको खुलेको थियो । उक्त घटनायता दास फरार छन् । उनलाई पासपोर्ट बनाउन सहयोग गर्ने अन्य गिरोह पनि पक्राउ परेका छैनन् । प्राय: भारतमा बस्दै आएका तिब्बती शरणार्थीहरू र परिवारसँग छुट्टिएकाहरू नेपाली पासपोर्ट बनाएर चीन जाने गरेको अध्यागमन अधिकारीहरू बताउँछन् ।
भन्छन्– साथीले नेपाली नागरिकता र पासपोर्ट बनाइदिए
०८५७०९५६ नम्बरको उनको पासपोर्ट ४ मार्च २०१५ मा जारी भएको थियो । नाम फरक भए पनि नागरिकता र पासपोर्टमा उनकै फोटो छ । बयानका क्रममा एकजना साथीले आफूलाई नेपाली नागरिकता र पासपोर्ट बनाइदिएको बताएका छन् । उनीबाट तिब्बेतियन रिफ्युजी कमिटी अफिस बौद्धले दुई वर्षअघि जारी गरेको शरणार्थी परिचयपत्रसमेत बरामद भएको छ ।
Reviewed by a
on
11:40 PM
Rating:
No comments: